२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

हिन्दु धर्म राप्रपाको राजनीतिक अस्त्रमात्र


January 29, 2024
1.4k
Shares

समाचार विश्लेषण । जुन बेला अयोध्याको राम मन्दिरमा प्राण प्रतिष्ठा चलिरहेको थियो त्यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु पूर्वराजा ज्ञानेन्द्र शाह पनि समारोहमा बोलाइन्छन् कि बोलाइन्नन् भन्नेमा केन्द्रित थिए । दुनियाँभरका सच्चा हिन्दूहरुले उक्त घटनालाई उत्सवका रुपमा मनाइरहँदा नेपालमा हिन्दुराष्ट्रको मुद्या बोकेको दल राप्रपाले कुनै खुशियाली मनाएन ।

राप्रपाले राजसंस्था फर्काउन मात्र हिन्दुराष्ट्रको मुद्या उठाइरहेको आरोपलाई बल पुग्ने घटनाहरु पछिल्लो समय विकास भइरहेको छ । विश्वसमा सबैभन्दा बढी हिन्दु धर्मालम्बी रहेको भारतप्रति पनि राप्रपाको धारणा सकारात्मक देखिदैन । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले त नेपालमा सिक्किमिकरणको विषय उठाएर घुमाउरो तरिकाले भारतबाट खतरा रहेको अभिव्यक्ति दिएका थिए ।

भारतमा हिन्दुत्वको मुद्या बोकेर लामो संघर्षपछि सत्तामा आएको भारतीय जनता पार्टीसँग राप्रपाको मित्रवत् सम्बन्ध नहुनु रोचक पक्ष हो । भाजपाले हिन्दुत्वको मुद्या बोकेर चुनाव मात्र जितेको छैन मोदीको दुई कार्यकालमा भारतलाई विश्वको दशौं धनी देशबाट पाचौं स्थानमा उकालेको छ । हिन्दुत्व विश्वकै सशक्त मुद्याका रुपमा स्थापित गरिदियो भाजपाले । तर, यही मुद्याप्रति राप्रपा अनुदार छ । उसले हिन्दुराष्ट्र भनेको छ तर हिन्दुत्व भनेको छैन । हिन्दुत्वप्रति उसको नकारात्मक धारणा देखिन्छ । यसलाई भारतको एउटा पार्टीको मात्र मुद्या ठान्ने गरेको छ ।

राप्रपाले हिन्दुत्वको मुद्या नेपालमा सशक्त बन्दै जाँदा कतै यसलाई अवरोध त गर्न खोजेको होइन ? उसले हिन्दुत्वको मुद्यामा राजसंस्थालाई घुसाइहाल्छ । हिन्दुत्व भित्र राजसंस्था हुनसक्ने तर राजसंस्था भित्र हिन्दुत्व हुन नसक्ने यथार्थलाई उसले ध्यान दिइरहेको छैन । यसकारण पनि हिन्दुराष्ट्रको मुद्या राप्रपाको राजनीतिक अस्त्र मात्र हो भन्ने आधारलाई बल पुग्दछ ।

विश्वमा कम्युनिस्ट सिद्धान्त बोकेका दलहरु कम्युनिस्ट शासन भएका देशसँग नजिकको सम्बन्ध राख्छन् । जस्तो नेपालका कम्युनिस्ट पार्टीको चीनसँग सुमधुर सम्बन्ध छ । कतिपयको उत्तर कोरियासँग पनि सुमधुर सम्बन्ध छ । तर, हिन्दु धर्मलाई महत्व दिइरहेको राप्रपाले यही मुद्याबाट सत्तामा रहेको भारतको भाजपासँग सम्बन्ध बनाउन सक्रियता देखाइरहेको छैन । यो आफैमा विरोधाभाषपूर्ण देखिन्छ ।

राप्रपाका कतिपय नेताहरुमा भारतको सत्तारुढ दलसँग सम्बन्ध प्रगाढ बनाउनुपर्ने जोडबल पनि छ । तर, राप्रपा नेतृत्व राष्ट्रवादको विषय उठाएर त्यसतर्फ जोड दिइरहेको छैन । बरु उसले पूर्वराजाकै साथ खोजिहेको छ । दुर्गा प्रसाईँ या अन्य कसैले पूर्वराजाको साथ नपाउन् भन्नेमा केन्द्रित छ । राप्रपा यही रणनीति हिन्दुत्वको मुद्याभित्र राजसंस्थाको मुद्या प्रवेश गराएर समग्रमा नेपाललाई हिन्दुराष्ट्र बन्न नदिने अभिप्राय लुकेको त होइन ?

प्रतिक्रिया