२३ भाद्र २०८१, आइतबार | September 8, 2024

कांग्रेस नेता मधुसुदन अधिकारीको दाइले अतिक्रमण गरेको जग्गामा महानगरको डोजर लागेन


January 28, 2024
1.2k
Shares

काठमाडौं, १४ माघ। नेपाली कांग्रेस काठमाडौं १० का नेता मधुसुदन अधिकारीका दाइले अतिक्रमण गरेको सार्वजनिक जग्गामा काठमाडौं महानगरपालिकाको डोजर नलागेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयसँगैको सरकारी जग्गा हडप्ने अधिकारीको कम्पाउण्डवालमा महानगरको डोजर नलागेपछि वडाका जनप्रतिनिधिहरुको भूमिकामाथि प्रश्न उठेको छ ।

शुक्रबार काठमाडौं महानगरपालिकाका नगर प्रहरीसहितको टोलीले वडा कार्यालयसँगै अतिक्रमणमा परेको जग्गामा डोजर लगायो । तर, कांग्रेस नेता मधुसुदन अधिकारीको दाइले हडपेको सरकारी जग्गामा भने त्यो डोजर लागेन । यसले वडाका जनप्रतिनिधिको भूमिकामाथि गम्भीर प्रश्न खडा भएको हो ।

मधुसुदन नेपाली कांग्रेस वडा नम्बर १० को इकाई सचिव हुन् । उक्त इकाइको सभापति काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसी आफै छन् । त्यसैले उनीहरुको मिलेमतोमा अधिकारीको दाइले हडपेको सरकारी जग्गामा डोजर नचलेको आरोप लागेको हो ।

सबैको जग्गामा डोजर चल्दा अधिकारीले भने जोगाउन सफल भएका छन् । त्यस्तै वाणगंगा समाजले हडपेको सरकारी भवन पनि त्यसै छाडिएको छ । उक्त समाजको सचिव पनि कांग्रेस नेता अधिकारी नै हुन् । काठमाडौं महानगरपालिका वडा नम्बर १० का जनप्रतिनिधिले राजनीतिक प्रतिशोध र पक्षपातका आधारमा काम गर्दै आएका छन् भन्ने यो घटनाले पुष्टि गरेको छ । आफ्नालाई जोगाउने र अर्कालाई ठोक्ने नितिले महानगरेकै बदनाम भएको चर्चा चल्न थालेको हो ।

प्रतिक्रिया