१९ आश्विन २०८१, शनिबार | October 5, 2024

सिटौला जितसँग सत्ता गठबन्धनमा कम्पन, शेखरले ओलीलाई तिरे गुन


January 25, 2024
2.3k
Shares

काठमाडौं, ११ माघ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभाको कोशी प्रदेशबाट निर्वाचित हुने सफलता हासिल गरेका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार सिटौला जितेपनि कोशीमा गठबन्धनका माओवादी उम्मेदवार चम्पा कार्की पराजित भइन् । त्यहाँ एमालेकी रुकमणि कोइराला जितेकी छिन् ।

काँग्रेस जित्ने र माओवादी हार्ने हुँदा गठबन्धनमा कम्पन आएको छ । कोशी प्रदेशमा माओवादी नेताहरु आक्रोशित भइसकेका छन् । यसले सत्ता गठबन्धनमा ठूलो असर पर्ने देखिइसकेको छ ।

सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी ल्याइएको हो । उनी यसअघिको दुईवटा प्रतिनिधि सभाको चुनावमा झापाबाट पराजित भएका थिए ।

१९ सिटको लागि देशको सातवटै प्रदेशमा भएको निर्वाचनमा कोशीबाहेक अन्यमा गठबन्धनले क्लिन स्विप गरेको छ ।

कोशीमा काँग्रेसका सिटौला जित्दा एमालेबाट महिलातर्फको सिटमा रुकमणि कोइरालाले जितेकी हुन् । त्यहाँ काँग्रेसको डा. शेखर कोइराला पक्षधर स्थानीय तह र प्रदेश सांसदहरुले फ्लोर क्रस गरेको बुझिएको छ । विगतमा शेखर पक्षधर केदार कार्कीलाई कोशीको मुख्यमन्त्री बनाउन एमालेले अध्यक्ष केपी शर्मा ओलीको ठाडो निर्देशन आएपछि साथ मिलेको थियो । त्यसको गुन शेखर पक्षधरले अहिले एमाले अध्यक्ष ओलीलाई तिरेको छ । यो घटनालाई अर्थपूर्ण मानिएको छ ।

मधेश प्रदेशमा काँग्रेसका आनन्द ढुंगाना र जसपाकी पूजा चौधरी विजयी भए । लुम्बिनीमा काँग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादीका झक्कु सुवेदी, बागमती प्रदेशमा काँग्रेसका विष्णुकुमारी पुडासैनी र जीतजंग बस्नेत, माओवादीका श्रीकृष्ण अधिकारी र नेकपा एसका घनश्याम रिजाल विजयी भए । गण्डकीमा काँग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ र माओवादीकी मनरुपा शर्मा विजयी भए । कर्णालीमा काँग्रेसका कृष्णबहादुर रोकाया, नेकपा एसकी सावित्री मल्ल र माओवादीका विष्णुबहादुर विश्वकर्मा विजयी भए । सुदूरपश्चिममा काँग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट र माओवादीकी रेणु चन्द विजयी भए ।

चुनावी परिणामसँगै राष्ट्रिय सभामा फागुनबाट माओवादी सबैभन्दा ठूलो दल हुने भएको छ । काँग्रेस दोस्रो ठूलो दल बन्नेछ ।

प्रतिक्रिया