३ आश्विन २०८१, बिहिबार | September 19, 2024

दुईवर्षदेखि भारतको गोर्खाभर्तीमा नेपाली युवा रोकिएपछि…


January 17, 2024
581
Shares

काठमाडौं, ३ माघ । नेपाली युवाका लागि रोजगारीको आकर्षक क्षेत्रमध्ये एक हो भारतीय सैनिकमा गोर्खाभती । गोर्खा सैनिकमा ३० हजार जति नेपाली रहेका छन् । भूतपूर्व गोर्खा सैनिक र तिनका परिवार समेत झण्डै यत्तिकै संख्यामा छन् ।

झण्डै एक लाख भारतीय गोर्खा सैनिकमा सेवा गर्ने र गरेकाहरु तलब र पेन्सन प्राप्त गरिरहेका छन् । नेपालका सन्दर्भमा उनीहरुले पाउने तलब र पेन्सन निकै आकर्षक मानिन्छ ।

तर, दुईवर्षयता गोर्खाभर्तीमा नेपाली सैनिक जान पाएका छैनन् । भारतले अग्निपथ योजना ल्याएपछि नेपाल सरकारले अनुमति नदिंदा नेपाली युवाको भर्ना खुलाएको छैन भारत सरकारले । नेपालमा यसबारे विरोध भएपछि दलहरुबीच सहमति खोज्ने प्रयास नचलेको होइन । तर, सहमति निस्कन सकेको छैन । जसका कारण भारतको गोर्खा सैनिकमा भर्ती हुने उद्देश्य राखेका युवाहरु निराश भएका छन् । कतिपय खाडी मुलुक या अन्यत्र लागेका छन् । कतिपय युक्रेन युद्धलगायत खतरनाक ठाउँहरुमा पुगेका छन् ।

अग्पिथ योजना भारतमा पनि लागू छ जुन गोर्खा भर्तीमा मात्र लागू भएको होइन । भारतमा विरोधको स्वर सुनिएपनि सामसुम भइसकेको छ । यो योजना अनुसार ४ वर्षका लागि भर्ना हुन्छन् युवा । तर, त्यसमध्ये २५ प्रतिशतमात्र स्थायी हुने र बाँकीले एकमुष्ट १० लाख ४० हजार भारतीय रुपैयाँ पाएर अवकाश पाउनेछन् । उनीहरुले समाजको अन्य क्षेत्रमा काम गर्ने अवसर खोज्नुपर्ने हुन्छ ।

नेपाली युवा भर्ना हुने गोर्खाभर्तीमा अग्निपथ लागू हुन नहुने तर्कहरु आए । तर, भारतले त्यो सबैमा लागू हुने अडान राख्यो । उसले नेपाल सरकारलाई निर्णय लिन छाड्यो । उसले यस मामलामा कुनै निर्णय लिन दबाब पनि दिएको छैन ।

भारत र नेपालका उच्च अधिकारीहरुबीचको वार्तामा भारतले अग्निपथ मान्न नेपाललाई भनेको पनि सुनिएको छैन । कूटनीतिक माध्यमले नेपाललाई नै निर्णय लिन छाडेको छ । दुई वर्ष हुँदा पनि नेपाली युवाका लागि गोर्खाभर्ती खुलाउने गरी सरकारले कुनै सहमति नदिएपछि प्रचण्ड नेतृत्वको सरकार भने अग्निपथ योजनामा सहमति जनाउने पक्षमा देखिने भएको छ ।

प्रधानमन्त्री प्रचण्डले यसबारे शीर्ष नेताहरुसँग कुरा पनि राखेको बुझिएको छ । गोर्खाभर्ती बन्द नै हुने र युवाका लागि अवसर खेर जाने विषयमा पनि छलफल चलेको विश्वस्त स्रोतले बताएको छ । नेपालमा गोर्खा भर्तीले वार्षिक दशौं अर्बको रेमिट्यान्स भित्राउने गरेको छ । नेपालको रक्षा बजेटभन्दा बढी गोर्खा सैनिकको तलब र पेन्सनवापत् नेपाल भित्रने गरेको छ ।

अग्पिथल योजना अस्वीकार गर्दा गोर्खा सैनिकमा भारतीय मूलका नेपालीले मौका पाउँदै गएका छन् । पछिल्लो तथ्यांक अनुसार कुल गोर्खा सैनिकमध्ये झण्डै आधा भारतीय मूलका नेपाली जोडिइसकेका छन् । यो क्रम बढ्दो रहेको देखिन्छ ।

प्रतिक्रिया