६ आश्विन २०८१, आइतबार | September 23, 2024

‘दक्षिण एसियाकै महानायक पृथ्वीनारायण शाह’


January 12, 2024
5.8k
Shares

काठमाडौं,२७ पुस । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले पृथ्वीनारायण शाह दक्षिण एसियाकै महानायक भएको दाबी गरेका छन् । नेपाल एकिकरणका पिताका रुपले चिनिने शाहको आज ३०२औं जन्म जयन्ती हो ।

सोही अवसरमा रायमाझीले एक टेलिभिजन कार्यक्रममा पत्रकारसँग कुरा गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले भने,“तत्कालिन परिस्थितिलाई हेर्दा पृथ्वीनारायण शाहलाई विश्वकै, दक्षिण एसियाकै महानायकका रुपमा बुझ्नपर्छ ।”

लेखक समेत रहेका रायमाझीले सो समयमा साना–साना गणराज्य भएको र ती राज्यभित्र आर्थिक समस्या भएको बेला पनि पृथ्वीनारायण शाहले साम्राज्यवादी शक्तिबाट नेपाललाई जोगाउन सकेको बताए । “त्यतिबेला पनि स–साना गणराज्यहरु थिए, आर्थिक बोझले गर्दा ती राज्यहरुमा अन्तकलह बढ्दै गइरहेको थियो । त्यसबेला विश्वभरी नै एउटा उदयमान साम्राज्यवादी शक्तिले आँखा गाड्दै गइरहेको थियो ।”–उनले भने ।

अहिले भन्दा त्यतिबेला परिस्थिति भयावह भएको उनको भनाइ छ । रायमाझीले भने,“त्यस्तो कठिन परिस्थितिमा पृथ्वीनारायण शाहको दुरदर्शी नेतृत्वमा नेपाल एकिकरणको अभियान अगाडी बढ्यो ।” टुक्रा–टुक्रा भएको नेपाललाई एक ढिक्का बनाउने शाहको जन्म जयन्ती प्रत्येक नेपालीको लागि गौरवको दिन भएको उनको भनाइ छ ।

पृथ्वीनारायण शाहलाई सम्झने बित्तिकै राष्ट्रिय एकताको विषय पनि जोडिने भन्दै .रायमाझीले भने,“विश्वमा नै उदयमान शक्तिहरुलाई चुनौती दिंदै नेपाललाई स्वतन्त्र राख्न सक्नु उहाँको महान काम हो । ब्रिटिसको साम्राज्यतालाई कहिले पनि छाया पर्न दिइएन र नेपालको चन्द्र सुर्य अंकित झण्डा सधै फरफराई रह्यो, स्वाधिन भएर नेपालीहरु सार्वभौम सत्ता सम्पन्न भएर बाँच्न पाए, त्यो दिन पृथ्वी नारायण शाह जस्ता अमर राजा र सँगसँगै आन्दोलनमा होमिएका बहादुरहरुलाई सम्झिदा आज पृथ्वी जयन्ती साच्चिकै गौरवको दिन हो जस्तो लाग्छ ।”

प्रतिक्रिया