३ आश्विन २०८१, बिहिबार | September 20, 2024

इशाई र इस्लाम ‘मिसिनरी’ को तारोमा पृथ्वीनारायण शाह


January 12, 2024
4.4k
Shares

डा. दीपेश केसीः नेपालमै बसेर शासनसत्ताको मह चाट्नेसम्मले पनि पृथ्वीनारायण शाहले नेपाल एकीकरण हुन्नथियो भन्ने कुतर्क मात्र गर्दैनन् सत्तोसराप गर्छन् । वास्तवमा पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण मात्र गरेका थिएनन् हिन्दुत्वको विचारधारालाई नेपालभित्र र बाहिरसम्म फैलाउन सफल भएका थिए । कुनैपनि राजनीतिक कदम चाल्न विचारधारा अनिवार्य हुन्छ । पृथ्वीनारायण शाह हिन्दुत्व विचारधाराका थिए । गोरखपुरस्थित गोरखनाथ मठका मठाधीशका प्रीय चेला थिए । उनको एकीकरण अभियानका मुख्य रणनीतिकार नाथ समुदायका गुरु भगवन्तनाथ नै थिए ।

भारतवर्षमा इस्लाम र पछि इशाईहरुले आधिपत्य जमाएका थिए । इस्लाम अतिक्रमणकारीबाट थिलथिलो पारिएका भारतका कतिपय राज्यहरु पछि इशाईहरुको आक्रमणमा परे । इशाई अंग्रेजहरुले उपनिवेश बनाए । हिन्दुहरुको राज्य नै बाँकी नहुने भयो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर हिन्दुराष्ट्रको अस्तित्व जोगाए ।
विश्वमा सबै हिन्दुराष्ट्र पराधीन भए । कसैको अस्तित्व रहेन राष्ट्रका रुपमा । तर, पृथ्वीनारायण शाहले सुरवीर र बौद्धिक क्षमताका माध्यमले नेपाल एकीकरण गरे । उनले इशाई पादरीहरुको नेपालबाट हिन्दु धर्म सिध्याउने र उपनिवेशको आधार तयार गर्ने योजना विफल पारिदिए । पादरीहरु लखेटिए ।

नेपाललाई कसैको पराधीन हुन नदिन पृथ्वीनारायण शाहले एकीकरण गरेका थिए । पृथ्वीनारायण शाहले इस्लाम आक्रमणकारीलाई नेपाल प्रवेश गर्न खोज्दा धुलो चटाएका थिए । भारतमा आक्रमण गरेर आधिपत्य जमाउन सफल भएको इशाईहरुलाई पनि नेपाल छिर्न रोकेका थिए । अंग्रेजहरु नेपाल छिर्न खोज्दा पराजित भई दक्षिणको समथर भूभागमै रोकिए ।

गोरखपुरमा अवस्थित गोरखनाथ मठका गुरुका उत्कृष्ट चेला थिए पृथ्वीनारायण शाह । विद्धान र सुरवीर भएकाले पनि उनलाई हिन्दु धर्मगुरुहरुको साथ थियो ।
विश्वभर हिन्दुराज्यहरु इस्लाम र इशाई आक्रमणकारीहरुबाट पराजित हुँदा पृथ्वीनारायण शाहले नेपाललाई उपनिवेश हुनबाट जोगाएका थिए । यसकारण पनि नेपाल पवित्र हिन्दुराज्यका रुपमा पुजियो । पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दुस्तान भनेका छन् । यसको अर्थ नेपालनै हिन्दुहरुको पवित्र भूमि हो र यो हिन्दुभूमिलाई कसैले हडप्न नसकेको भन्ने पनि हो ।

पृथ्वीनारायण शाह इशाई र इस्लाम अतिवादीको तारोमा त्यतिबेला पनि परे । अहिले पनि उनलाई इशाई र इस्लामहरुले दुश्मन नै सम्झन्छन् । यसको मुख्य कारण नेपालमा सांस्कृतिक अतिक्रमण गर्न पृथ्वीनारायण शाहले रोकेनन् मात्र हुन नदिने बलियो जग समेत तयार गरेर गए । उनको नाम पनि सुन्न चाहँदैनन् त्यस्ता अतिवादीहरु ।

पृथ्वीनारायण शाहले हिन्दुत्वको विचारधारा समातेर नेपाल एकीकरण नगरेको भए नेपाल उपनिवेश त हुन्थ्यो नै यहाँको संस्कृति नै लोप बनाउन सफल हुन्थे ।

इस्लाम आक्रमणकारीले अफगानिस्तान र त्यसवरपरका कतिपय देशहरुमा सांस्कृतिक र धार्मिक अतिक्रमण गरेका थिए । इशाईहरुले त उत्तर र दक्षिण अमेरिकामा करोडौंको हत्या गरी सांस्कृतिक अतिक्रमण समेत गरेका थिए । एशियाका कतिपय देशमा पनि सांस्कृतिक अतिक्रमण गरे । उपनिवेश खडा गरे । त्यो नेपालमा हुन पाएन पृथ्वीनारायण शाहको कारण ।

प्रतिक्रिया