६ आश्विन २०८१, आइतबार | September 22, 2024

प्रचण्ड, देउवा र ओलीको सत्ता स्वार्थमा मिलन र बिछोड


January 4, 2024
581
Shares

समाचार विश्लेषण । प्रमुख दलका शीर्ष नेताहरुबीच मिलन र बिछोडको आधार सत्ता स्वार्थ देखिन्छ । सिद्धान्त नमिल्ने नेपाली काँग्रेस नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरिरहेको छ । यसको आधार नै सत्ता स्वार्थ हो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै कम्युनिस्ट भएपनि सिद्धान्तमा केही भिन्नता छ । तर, नेताहरु सत्ता स्वार्थमा मिल्ने र बिछोडिने गर्दै आएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मिलनबिन्दुका रुपमा नेकपा बनाए । तर, सत्ता चलाउने आलोपालोमा धोकाधडीपछि गठबन्धन नै टुट्यो ।

२०७९ को चुनावमा ओली र प्रचण्डबीच बिछोड भयो । प्रचण्ड काँग्रेस सभापति शेरबहादुर देउवासँग हात मिलाउन पुगे । तर, चुनावलगत्तै सत्ताको दाउपेचमा प्रचण्ड देउवालाई छाडी ओलीसँग मिल्न पुगे ।

बालकोटको बार्दलीमा भएको सहमति तीन महिना पनि टिकेन । प्रचण्ड फेरि देउवासँग मिले । अहिले फेरि ओली प्रचण्डसँग नजिकिइरहेका छन् । राष्ट्रिय सभा सदस्यको भागवण्डामा ओलीलाई पनि केही सिट दिने तयारीमा प्रचण्ड छन् ।

सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति देखि उच्च अदालतमा नियुक्तिमा समेत भित्री भागवण्डा नेताहरुले गरेको खुल्दै गएको छ । एनसेल प्रकरणको अरबौंको कर छलीमा पनि नेताहरुबीच भित्री सहमति खुलिसकेको छ । प्रचण्डले त संसदीय समितिमा नै घुमाएर यसको खुलासा गरिदिए । त्यसपछि मुख्य दलका नेताहरु चुप लागेका छन् ।

सत्ता स्वार्थ र आर्थिक लाभमा शीर्ष नेताबीच सहमति बन्ने गरेको छ । मिलन र बिछोड सत्ता स्वार्थमा हुने गरेको छ ।

प्रतिक्रिया