६ मंसिर २०८१, बिहिबार | November 22, 2024

आन्टी, आइ डन्ट अन्डरस्टान्ड !


December 29, 2023
1.5k
Shares

दुर्गा ढकाल । ४ बर्षको उमेरमा नै काठमांडु छोडेर विदेश गएकी प्रियालाई न्यूरोडको बारे त्यती सम्झना छैन भनेर मैले पनि आज न्यूरोड,ठमेल सबै तिर घुमाई दिने बिचार गरेकी थिएँ । न्यूरोड, ठमेल भरी क्रिश्मसको रमाइलो छ, डिपार्टमेन्टल स्टोर, शपिंग मल जता सुकै क्रिसमस ट्री झिलमिल बनाइ सजाई रहेका देखिन्छन,बिदेशी पर्यटक र स्थानियहरुको भिडभाड देखिन्छ। हुन त दशैं तिहार भर्खर सकिएको छ तर पनि चाडपर्व भने पछि नेपालीहरु उत्साहित नै देखिन्छन, जहाँ र जहिले पनि, सहरको रमाइलो माहोल हेर्दा त्यस्तै अनुमान् लगाउन सकिन्छ। सडकमा रहेका सबै प्रकारका पसलको चर्चा गर्दै हामी क्रमश बिशाल बजार तर्फ अगाडी बढ्यौ ।

हामी एकछिन अगाडी मात्र न्यूरोड आएका थियौ। आउनु भन्दा अगाडी जब प्रिया ट्याक्सी खोज्दै मूल सडकमा निस्किन्छिन, ट्याक्सी ड्राइभरले उनलाई बिदेशी ठानेर व्हेर आर यू गोइङ्ग, हाउ मच डु यू पे भनेर बार्गेनिङ्ग गर्न थाले। प्रिया पनि नेपाली नबुझे झैँ गरि हाउ मच फर न्यूरोड भन्दै ट्याक्सी छान्न थालिन कसैले हजार, आठसय, नौसय भनेर बार्गेनिंग गरिरहेका थिए अन्त्यमा एउटाले ट्यक्सी ड्राइभरले सातसय भनेको थियो। प्रिया केही नभनी त्यही ट्याक्सी चढीन र हामी संगै न्युरोड गयौ ।

गाडी चडीसके पछि ट्यक्सी ड्राइभर व्हेर आर यु कमिंग फ्रम यु लाइक नेपाल भनि रहेको थियो। ऊनले मुन्टो मात्र हल्लाउदै एस, एस भनिन र हामी न्युरोड गेट मै ओर्लियौ। मान्छे भिडभाड र असाध्य गर्मी ले गर्दा अनुहार रातो पिरो भएको थियो र शरीर भरि खलखल पसिना आएको थियो। प्रिया केहि चिसो खाने की असाध्य गर्मी भयो मैले भने, प्रियाले पनि टाउको हल्लाउदै सहमती जनाइन, हामीले एकछिन देब्रे कुना पट्टी रहेको बेकरी क्याफे मा बस्ने सोच बनायौं । प्रियाले आइस क्रीम खाने विचार गरिन मैले कोल्ड ड्रिंक अर्डर गरे।

सानै उमेरमा विदेश गए पनि ऊनी राम्ररी नेपाली बोल्न र बुझ्न सक्छिन, आफ्नो देश नेपाल हो भनेर गर्ब गर्छिन। साथीहरु संग नेपाल का हिमाल र बुद्दको बारेमा कुरा गर्छिन रे। कति जनाले बुद्द त नेपाल को होइन नी भन्दा बुद्द इज बर्न इन नेपाल भनेर भनेको कुरा मलाई सुनाएकी थिइन्। हेर्दा परि झैँ लाग्ने सुन्दरी प्रिया मृदुल भाषी र अत्यन्त कोमल हृदय कि छिन। हामी एकैछिन बसेपछि वेटर ले आइसक्रिम र कोल्ड ड्रिंक ल्याएर राखी दिन्छन।

केहि बेर पछि एकहुल मानिसहरु आएर हाम्रो नजिकै रहेको खाली ठाउँमा आएर बस्छन। उनीहरु भर्खरै कतै भेला वा कन्फरेन्स सकेर आएका जस्तो देखिन्थे। ‘आज त माननीयले मज्जाले दिनु भयो’ एउटा ले भन्दै थियो। विदेश गयौं भनेर ठालु पल्टिएका थिए माननीयले भित्तामा नै पुर्याई दिनु भयो। प्रिया पनि चनाखो भएर उनीहरु को कुरा सुनी रहेकी छिन। कोही भन्दै थिए हो त तिनीहरु बिहानै चिप्रा आँखा लिएर काम गर्न जान्छन, नेपाल को बारेमा केही थाहा छैन, फेरी बिहानै नेता बनेर अर्ति दिदै फ़ेसबुक मा पोस्ट्याउछन् आज माननीयले मैले चाहे जस्तै जवाफ दिनु भयो। तिनीहरु सबै बिदेशी त हुन् नी नेपाल छोडेर हिडे पछि, नेपालको माया भए त नेपाल मै बस्नु नी। चर्को चर्को स्वरमा एकजना सांसदले भनेको कुरालाई खुशीले बखान गरी रहेका थिए। प्रियाले आफ्नो आईसक्रिम खाइसकिन र मैले मेरो कोल ड्रिंक पनि।

हामी अब बसन्तपुर दरबार जाने विचार गरी अगाडी बढ्यौ। आहा कति सुन्दर प्रिया भनी रहेकी छिन्। काठमान्डू त निकै सुन्दर रहेछ है आन्टी। यस्तो पुराना कुरा, ऐतिहासिक कुरा हरु कहीं पनि हेर्न पाइदैन, मलाई त मेरो देश यति सुन्दर छ भन्ने थाहा नै थिएँन उनी भन्दै थिइन्। केही अगाडीसम्म यहाँ जता सुकै फोहोर नै फोहोर को दुर्गन्ध भएको बेला आएकी भए के भन्थिन होली, म एकछिन गम्भीर भएर सोच्न थालें। धन्न अहिले एक जना काम गर्ने खालका मेयर आए छन् काठमान्डूमा र उनैले गर्दा काठमान्डू अलिक सफा जस्तो देखिन थालेको छ, अरु त सबै गफ गर्ने मात्र त हुन्।

दिनको करिब ४ बज्न लागि सकेको छ, आकाशमा कालो बादल मडारिदै आएको छ, पानी पर्ने हो कि जस्तो देखिन्छ। कति छिटो परिवर्तन हुन्छ मान्छेको जीवन यात्रा जस्तै छ मौसमको यात्रा पनि, अनुमान गर्नै नसकी बदली रहने। जे भए पनि आज प्रियाले न्यूरोड, असन, ईन्द्रचोक, जमल, रानी पोखरी, बसन्त दर्बार स्क्यायर , हनुमान ढोका, ठमेल सबै तिर घुम्ने मौका पाइन्।

आकाश गड्यांग गुडुंग गरेर गर्जन लाग्यो, हामी हतार हतार गरेर फेरी ट्याक्सी खोजेर आफ्नै बासस्थान तर्फ फर्कियौ। ट्याक्सीमा प्रिया ले मलाई केही भन्न खोजी रहेकी थिइन् मैले घर मै पुगेर कुरा गर्ने संकेत गरे। घर पुग्न साथ् प्रिया भन्न थालिन आन्टी अगि बेकरी क्याफेमा बसेका मान्छेले गरेको कुरा हजुरले सुन्नु भयो, मलाई त कस्तो रीस उठी रहेको थियो तिनीहरुको कुरा सुनेर।
विदेश मा बस्ने सबै नेपाली, नेपाल भनेर मरिहत्ते गर्छन, नेपालमा भुइचालो गयो भने, बाढी पैरो गयो भने, कसैलाई केही रोग लाग्यो भने, कुनै गरिब, असहाय को उद्दार गर्नु पर्यो भने, कुनै स्कूल, अस्पतालमा सहयोग गर्नु पर्यो भने आफुले खाएको एक एक गाँस कटाएर सबै मिलेर सहयोग गर्न पैसा उठाएर पठाउछन् । यहाँ नेपाल मा कसै लाइ केही भयो भने उता नेपाली को पेट पोल्छ, रातभरी नसुती कसरी सहयोग गर्ने, कसरी उद्दार गर्ने भनेर त्यहि बिषयमा छलफल गर्छन् अनि यहाँका सांसद, मन्त्री, यहाँका मान्छे हरु चै विदेश मा बस्ने नेपाली लाइ किन बिदेशी भनेर घ्रिडा गर्छन मैले त यो बुझ्न नै सकिन आन्टी। हजुर लाइ थाह छ अस्ति म जर्मनी गएको बेला एउटा रेस्टुरेन्ट मा डिनरको लागी भनेर बसेकी थिए व्हेर आर यु कमिंग फ्रम भन्यो वेटरले मैले आएम कमिंग फ्रम न्युयोर्क भनेकी व्हेर आर यू वोरिजिनाल्ली फ्रम भन्यो मैले नेपाल भने अनि यहाँ चै विदेश मा बस्ने नेपाली लाइ बिदेशी किन भन्ने होला आन्टी, आइ डन्ट अन्डरस्टानड ?

खै यो कुरा म पनि बुझ्दिन। नेपाली के कारणले विदेसिएका हुन् उनीहरुलार्इ थाहा छ त। अहिले पनि लाखौको संख्याँ बर्सेनी विदेसी रहेका छन्। देशमा रोजगारी भएको भए, देशमा कुनै युद्ध नभएको भए, शान्तीले छोरा छोरीलाई बिद्यालय पठाउने परिश्थिति भएको भए,महंगाईको नियन्त्रण भएको भए, सहजताका साथ जीवन गुजार्ने परिस्थिति भएको भएको विदेश जान्थ्यो होला र ? अर्काको देशमा गएर दोश्रो दर्जाको नागरिक भएर बस्ने रहर कसलाई हुन्छ ? अस्ति सम्म बच्चा हरु स्कूल जान पाउदैनथे। दिनै पिच्छेको चक्का, जाम, हड्ताल , बन्दले शान्तीसंग बाच्ने परिस्थिति नै थिएन। एकजना मेरी साथी अहिले ऑस्ट्रेलिया मा गएर बसेकी छ। यहाँ कस्तो राम्रो जागिर थ्यो सेन्ट मेरिज मा पढेकी अंग्रेजी मा स्नातकोत्तर गरेर एम फिल गर्दा गर्दै हेर न सधैं हड्ताल मात्र हुन्छ छोराहरुको पढाई बिग्रने भयो यहाँ बस्ने परिस्थिति नै छैन भनेर अस्ट्रेलिया गई। ऊ सबै कुरा यहाँ राम्रो हुँदा हुँदै रहर ले हैन बाध्यताले गर्दा हिडेकी,सधैं बन्द हड्ताल र चक्का जामले गर्दा।

उफ् धन्न आन्टी हजुर सहनशिल हुनुहुँदो रहेछ हजुर कहिँ नगई बस्नु भएको छ। जे गरे पनि नेपालीलाई सुख छैन, विदेशमा हामीलाई देशको नाक जोगाउदै ठिक्क छ फेरि यता आयो विदेशी भनी दिन्छन के गर्ने र ?
त्यस्तै हो यस्तै छ यहाँको चलन बिस्तारी समयले सबैलाई बुझाउदै जाने छ भनेर पर्खिनु बाहेक हामीसंग अरु के नै उपाय होला र ?  लेखक ढकाल युकेमा बसोबास गर्दै आउनुभएको छ ।

 

प्रतिक्रिया