६ आश्विन २०८१, आइतबार | September 22, 2024

प्रचण्डको एक वर्षे कार्यकालः कहाँ कहाँ चुके


December 26, 2023
581
Shares

काठमाडौं, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक सत्तामा पुगेका हुन् । तेस्रोपटक प्रधानमन्त्री भएका उनले एक वर्ष पूरा गरेका छन् । यसअघि दुवैपटक उनी एक वर्षभन्दा कम समय प्रधानमन्त्री बनेका थिए ।

सत्तारुढ गठबन्धनबीचको भद्र सहमति अनुसार अबको एक वर्ष प्रचण्ड प्रधानमन्त्री हुनेछन् । उनले यो पटकको प्रधानमन्त्रीकाललाई विशेषकालका रुपमा लिएको बताइसकेका छन् ।

प्रचण्डले प्रधानमन्त्री भएपछि ललिता निवास प्रकरण, भुटानी शरणार्थी प्रकरणलगायत ठूला अपराध र भ्रष्टाचारको फाइल खोल्न लगाए । तर, यो प्रकरणको पनि सेफल्यान्डिङकै बाटो अपनाइयो ।

सुनकाण्डको विषय पनि आयो । सुन तस्करको गिरोह नै समातिए । राजनीतिक क्षेत्रमै ठूलो तरंग आयो यो घटनाले ।

प्रचण्डको प्रधानमन्त्रीकालमा एनसेल कर छली प्रकरण भयो । प्रधानमन्त्री प्रचण्ड मात्र नभई मुख्य दलका शीर्ष नेता नै मुछिए यो घटनामा । यसलाई सामसुम पार्ने प्रयास चलिरहेको छ ।

देशमा मूल्यवृद्धि आकाशियो । कालोबजारी र माफिया हावी भए । सरकार निरिह जस्तै भयो ।

सरकारी ठगी प्रकरण देखि लघुवित्त ऋण प्रकरणका अलावा मिटरब्याजीको विषय जोडतोडले उठ्यो । देशमा आर्थिक संकट निकै बढ्यो । बजारमा लगानीको वातावरण नै रहेन । लगानीकर्ताहरु निरुत्साहित भए ।

बैंकको ब्याज आकाशियो । जसका कारण पुराना लगानीकर्ताहरु धेरै डुबे । नयाँ लगानीकर्ताहरु उत्साही देखिएनन् । समग्रमा देशको अर्थतन्त्र नकारात्मक गतिमै रह्यो ।
सर्वसाधारणलाई राहत दिन प्रचण्ड सरकार चुक्यो । ठूला उद्दोग व्यवासायीकै हितमा केन्द्रित भयो । साना उद्दोग धमाधम बन्द भए ।

युवाहरु विचलित भई विदेशको बाटो समाए । इतिहासमै सबैभन्दा बढी युवा विदेशिए ।

कलेज र विश्वविद्यालय विद्यार्थी विहिन हुँदै गए । शिक्षा क्षेत्रमा ठूलो संकट आयो । तर, यसको समाधान गर्न सरकार चुक्यो ।

प्रतिक्रिया