३ आश्विन २०८१, बिहिबार | September 20, 2024

माफियाले भ्रष्ट नेता र कर्मचारीलाई घूस विदेशमै दिन थाले


December 12, 2023
3.8k
Shares

आलोक गौतम, २६ मंसिर । दरबार हत्याकाण्डपछि राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पत्तिको खोजबिन हुँदै गयो । उनको विदेशमा समेत सम्पत्ति रहेको विषय आएपछि खोज्दै जाँदा केही रकम भेटियो । जुन नेपाल ट्रष्टका नाममा ल्याइयो । २०२१ सालमा वीरेन्द्रकै पिता महेन्द्र शाहले विदेशमा गैरकानूनी रकम लान नपाइने गरी ऐन बनाउन लगाएका थिए । तर, यसको उल्लंघन उनकै छोरा र परिवारका सदस्यले गरे ।

वीरेन्द्रको सम्पत्ति मालदिभ्स र दुबई र पश्चिमा देशमा समेत रहेको र त्यो नेपालको एकजना व्यापारीले हात पारेको विषय खुल्दै गएको छ । पञ्चायतकालमा पञ्च र राजपरिवारका सदस्यले विदेशमा गैरकानूनी लगानी गर्ने र लुकाउने गर्दथे । त्यस्तो सम्पत्ति नेपाली रुपैयाँ करोडमा हुन्थ्यो ।

देशमा गणतन्त्र आएको छ । तर, शासनसत्तामा रहनेहरु देशमा लगानी भित्राउने त कहाँ हो कहाँ आफै गैरकानूनी रकम विदेशमा लुकाउने प्रतिष्पर्धामा छन् । मुख्य दलका नेता र तिनको परिवारका सदस्यकै रकम विदेशी बैंक र कम्पनीका रुपमा राखिएको विषय खुल्दै गएको छ । उनीहरुले लुकाएको रकम अरबौंमा हुन थालेको छ ।

ज्ञानेन्द्र शाह शक्तिमा रहँदा राजबहादुर सिंहले विदेशमा रकम पुर्याउने गतिविधि गर्दथे । उनी अझै पनि यस्ता कारोबारमा जोडिएका छन् तर त्यति सक्रिय हुन सकेका छैनन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पत्नी राधिका शाक्यको विदेशमा रकम रहेको खुलासा फ्रान्सेली पत्रकारले गरिसकेका छन् । फ्रान्सका पूर्वराष्ट्रपति फ्रान्सवा मितेरासँग नजिक रहेर काम गरिसकेका ज्याकार्डले ग्लोबल वाच एनेलेसिसमा राधिका शाक्यको स्वीस बैंकमा रकम रहेको र ओली परिवारको कम्बोडियाको टेलिकममा शेयर रहेको सनसनीपूर्ण खुलासा गरे । कम्बोडियामा ओलीको सम्पत्ति व्यवस्थापन दिवंगत व्यवसायी आङछिरिङ शेर्पाले गर्ने गरेको उल्लेख गरिएको छ उक्त खोजी समाचारमा ।

प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पनि विदेशमा सम्पत्ति रहेको विषय चर्चामा आएको छ । उनको केही वर्ष अघि स्वीजरल्यान्डको भ्रमण रहस्यमयी बनेको थियो । प्रचण्डले व्यवसायी अजय सुमार्गी र केही लोप्रोफाइलमा रहने व्यवसायीलाई परिचालन गरेर विदेशमा रकम लुकाइरहेको बुझिएको छ । एनसेल प्रकरणमा ती व्यवसायीहरु प्रत्यक्ष अप्रत्यक्ष जोडिएका छन् । प्रचण्डकी छोरी गंगा दाहालकी छोरी विदेशमा छिन् । उनको भड्किलो जीवनशैली चासोमा परेको छ । उनले त्यस्तो भड्किलो जीवनशैली बिताउने रकम कहाँबाट ल्याइन् भन्ने प्रश्नहरु उठ्न थालेको छ ।

प्रचण्डले एनसेल प्रकरणमा संलग्नताको आरोपको खण्डन गरेपनि उनको जो जो व्यवसायीसँग हिमचिम देखिएको छ ती विदेशमा रकम लुकाउन सक्रिय रहँदै आएका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा घूसको रकम व्यवस्थापनमा सक्रिय रहेको खुलासा सांसद अमरेश सिंहले गरेका छन् । उनी सिंगापुर पुगेको र होटलमा डिल गरेको विषय खुलाएपनि देउवा परिवार मौन छ । देउवा पत्नी आरजुको विदेश दौडधूप यस्तै रकम व्यवस्थापनका लागि हुने गरेको चर्चा छ ।

काँग्रेसका एकजना नेताका भाईको त विदेशमा घूसको लेनदेन मिलाउने स्टेशन नै रहेको बुझिएको छ । व्यवसायी दिपक भट्ट पनि घूस लेनदेन मिलाउन विदेशमा स्टेशन खोलेर बसेका छन् । भट्टले कतिपय राजनीतिक नियुक्तिमा विचौलिया बनेर विदेशमै घूस लेनदेन मिलाउँदै आएका छन् ।

पछिल्लो समय सेनाका केही भ्रष्ट जर्नेलहरुको घूसको लेनदेन पनि विदेशमै हुनेगरेको खुलेको छ । विशेषगरी फाष्ट ट्रयाकको घूस मिलाउने एकजना मेजरको नाम सार्वजनिक भएपछि तरंग नै आयो । ती मेजर नै विदेशमा भ्रष्ट सैनिक अधिकारीहरुको रकम लेनदेन मिलाउन सक्रिय हुने गरेका छन् । विदेशमा रकम लुकाउने पूर्व सैनिक अधिकृतहरुको विदेश आवतजावत् देखि तिनका परिवारको भड्किलो जीवनशैली अनुसन्धानको विषय बनिसकेको छ ।

न्यायालयमा हुने भ्रष्टाचारका घटना छर्लंग हुनथालेका छन् । त्यस्ता घूसको लेनदेन पनि विदेशमा हुन थालेको छ । पछिल्लो समय भएका न्यायाधीश नियुक्तिको डिल पनि विदेशमै भएको खुलासा नेपाल पेनले गरिसकेको छ ।

देशभित्र पर्याप्त आर्थिक जोहो गरिसकेपनि नेता, पूर्व तथा बहालवाला कर्मचारी, पूर्व तथा बहावलावा न्यायाधीश देखि पूर्वन्यायाधीशहरुका छोराछोरीको विदेश बसाईँ भड्किलो हुने गरेको छ । कतिपयले सन्तानलाई विदेश पठाएर उतै रकम व्यवस्थापन गरेको तथ्यहरु भेटिएको छ । देशभित्र बाबुआमा भ्रष्टाचार गरी कमाउने र विदेशमा धन पुर्याएर सुखसयलसँग राख्ने सपनामा देशमा ब्रम्हलुट मच्चाउनेहरु हावी भइरहेका छन् ।

भ्रष्ट नेता, कर्मचारी, न्यायाधीशहरुको कमजोरीको फाइदा उठाउँदै माफियाहरुले मुलुकमा अनियमितताको आतंक मच्चाइरहेका छन् । देशलाई टाट पल्टाउने र सन्तान दरसन्तानलाई विदेशमा पुग्ने गरी जम्मा गरिदिने गतिविधि छताछुल्ल हुन थालेको छ ।

प्रतिक्रिया