१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एनसेल ‘माफिया’ ले २०७९ को चुनाव प्रभावित पारेका थिए, कुन नेताले कति रकम पाए


December 7, 2023
1.4k
Shares

काठमाडौं, २१ मंसिर । ३ खर्बको चलखेल भएको एनसेल प्रकरण लामो गृहकार्य भएपछि सफल बनाइएको खुलेको छ । यो प्रकरणबाट राज्यलाई दशौं अर्ब करबाट र खरबौं रकम विदेश रकम पलायन गरेर नोक्शान बनाउने खेलमा गिरोह नै लागेको खुलेको हो ।

गिरोहले एनसेल प्रकरण गराउन २०७९ सालको चुनावी परिणाम नै प्रभावित पार्न खेलेको तथ्यहरु पत्ता लागेको छ । चुनावी परिणाममा अहिलेका शीर्ष भनिएका नेताहरुकै पकड बलियो बनाउने गरी एनसेल माफियाले माइक्रोम्यानेज गरेका थिए । उनीहरुले त्यही अनुरुप मुख्य नेता देखि तिनका उम्मेदवारहरुलाई चुनाव खर्च बाँडेका थिए ।
एनसेल माफियासँग कुन नेता, कर्मचारी र न्यायपालिकासँग जोडिएका व्यक्तिहरुलाई कति रकम दिएको विवरण समेत सुरक्षित रहेको बुझिएको छ । यसकारण पनि शीर्ष नेता, कर्मचारी एनसेललाई कारबाही गर्नेतर्फ कदम चालिरहेका छैनन् । उनीहरुले संलग्न व्यक्तिहरुबारे पनि कुनै ठोस कदम चालेर कारबाही बढाउन चाहेका छैनन् ।

एनसेल र टेलिकमसँग जोडिएका माफियाहरुबारे स्वतन्त्र सांसद अमरेश सिंहले सनसनीपूर्ण खुलासा गरेका छन् । यसका मुख्य नाइकेहरुमा नेपालभित्र उपेन्द्र महतो, शतिशलाल आचार्य, निरञ्जनगोविन्द श्रेष्ठ, अजय सुमार्गी र नेपालबाहिर किर्गिस्तानमा रहेका रोमियो भन्ने व्यक्ति रहेको खुलेको छ । रोमियोभन्दा माथि पनि केही व्यक्तिहरु रहेको बुझिएको छ ।

चुनावमा अरबौंको चन्दा एनसेल माफियाले मुख्य नेताहरुलाई दिएका थिए । प्रधानमन्त्रीमा प्रचण्डलाई नै ल्याउने सफलता पनि माफियाले पाएका थिए । उनीहरुले मुख्यसचिवमा बैकुण्ठ अर्याललाई ल्याएर माहोल तयार गरेका थिए । अर्याल एनसेल प्रकरणमा भित्री रुपमा सहयोगी भूमिका निभाइरहेका छन् ।

सांसद अमरेश सिंहले त एनसेल माफियाले प्रचण्ड, शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, रवि लामिछानेलगायतले ठूलो रकम बुझेको सनसनीपूर्ण खुलासा गरेका छन् । यो रकम विदेशमै कारोबार भएको उनको दाबी छ ।

नेताहरुको विदेश दौडाहा एनसेल माफियालाई भेट्न र कमिशनको रकम व्यवस्थापन गर्न नै भएको विषयलाई बल पुग्ने गरी गतिविधि भइरहेका छन् । केही महिना अघि ओली कम्बोडिया पुगेका थिए । कम्बोडियामा ओलीको लगानी टेलिकममा रहेको विषय फ्रान्सका खोज पत्रकार ज्याकार्डले तीन वर्ष पहिले नै खुलासा गरिसकेका छन् ।

प्रधानमन्त्री प्रचण्ड जलवायु सम्मेलनका लागि भन्दै दुबई पुगे । उनीनिकट व्यापारीको मलेशिया, बेलायत र दुबई बाक्लो आवतजावत चलिरहेको छ । रोचक त यो छ कि एनसेलसँग जोडिएका महतो परिवारका सदस्य वीरेन्द्र महतोलाई वनमन्त्री बनाएर प्रचण्डले साथमै लाने गरेका छन् । उनी मन्त्री बन्नुलाई एनसेल प्रकरणसँग जोडेर हेरिएको छ ।

माधव नेपाल र उनीनिकट व्यक्तिको विदेश ओहोरदोहोर खुबै चल्यो । देउवा पत्नी आरजु राणा हङकङ, दुबई जस्ता देशहरु धेरै नै ओहोरदोहोर गरिन् पछिल्लो समय । रवि लामिछाने त स्वयं मलेशिया र दुबई दौड गरिरहेका छन् ।

एनसेलले अरबौंको कर छली सामसुम पार्न केही नाम चलेका मिडिया मालिकलाई पनि खरिद गर्न खोजेको खबर प्राप्त भएको छ । तर, यो प्रकरणमा अन्तर्राष्ट्रिय माफिया नै संलग्न भएको र नेपालको सत्तामा त्यस्ता माफियाले साँचो लिएर बसेको तथ्यहरु उजागर हुँदै गएका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया