३१ भाद्र २०८१, सोमबार | September 17, 2024

एनसेल कर छली छोप्ने षड्यन्त्र


December 6, 2023
996
Shares

काठमाडौं, २० मंसिर । एनसेलको कर छली प्रकरणमा षड्यन्त्रमूलक गतिविधि गरेर घटनालाई सामसुम पार्न खोजिएको छ । कर छलीमा शक्तिशाली नेता, कर्मचारी देखि व्यवसायीहरु नै मिलेको खुल्दै गएपछि घटनालाई सामसुम पार्न माफिया शैली अपनाइएको छ ।

झण्डै ३ खर्बको कम्पनीको ८० प्रतिशत शेयर साँढे ६ अर्बमा विक्री भएकोमा विवाद छताछुल्ल भएपछि केही बढी देखाएर झुक्याउने कसरतहरु भएका हुन् । यो प्रकरणमा ५० अर्बभन्दा बढीको कर छली तथ्यहरु उजागर भइसकेका छन् । यो विषयमा नेताहरु बल्ल बोल्न थालेका छन् त्यो पनि सानो स्वरले । लोकलाजले उनीहरु बोलेको खुलिसकेको छ ।

अर्थ मन्त्रालयले त एनसेलको विक्रीबारे सरकारलाई जानकारी नै नभएको बताएको छ । उसले छानबिनका लागि तदारुकता देखाएजस्तो गरेपनि घटनालाई छोप्ने गरी गतिविधि गरेको छ । एनसेल कर छली सफल बनाउनकै लागि सत्ता र कर्मचारीतन्त्रसम्म आफू अनुकूलको व्यक्तिहरुलाई माफियाले स्थापित गरेको खुलेको छ ।

टेलिकम माफियाको योजनामा ३ खर्बको कम्पनीको ८० प्रतिशत शेयर साँढे ६ अर्बमा विक्री गरेर कर छली भएको तथ्य नेपाल पेनले खुलासा गरेको थियो । १५ मंसिरमा शेयर विक्री हुँदा प्रधानमन्त्री प्रचण्ड देशबाहिर थिए । तर, यो प्रकरणमा कुनै पनि मुख्य दलका शीर्ष नेताहरुले मुख खोलेका थिएनन् । सोमबार बल्ल प्रधानमन्त्री प्रचण्ड बोले र उनले शेयर खरिदको छानबिन गर्न निर्देशन दिइएको मात्र भने ।

एनसेलले कर छली गरेको यो पहिलो घटना होइन । विगतमा पनि उसले यसरी नै शेयर खरिद विक्रीमा कर छलेको थियो । यो विषय अदालतमा अझै विचाराधीन छ
कर छल्नकै लागि कौडीको भाउमा एनसेलको शेयर मलेशियन कम्पनीले विक्री गरेको उल्लेख छ । उक्त कम्पनीले बेलायतमा दुई महिना अघि १ डलरमा स्थापना गरेको कम्पनीलाई बेचेको छ । एनसेलको २० प्रतिशत शेयर रहेको शतिशलाल आचार्य परिवारकै उक्त कम्पनी रहेको खुलेको छ ।

यति ठूलो कर छली प्रकरण गरी राष्ट्रघात गरिएको घटनाबारे प्रधानमन्त्री प्रचण्डले जाँचबुझ मात्र गरिने बताएका छन् । तर, उनीमाथि एनसेलले कर छलीको आँट कसरी गर्यो भन्ने प्रश्न उठेको छ ।

राज्यको महत्वपूर्ण निकायका व्यक्तिहरुको ग्रिन सिग्नल विना एनसेलले कर छल्ने योजना बुन्न सम्भव छैन । अर्कोतर्फ, प्रधानमन्त्री प्रचण्ड स्वयंमाथि यो प्रकरणमा गम्भीर आरोप लागेको छ । सांसद अमरेश सिंहले त प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महतका अलावा जिम्मेवार कर्मचारीहरु कर छली प्रकरणमा संलग्न रहेको अभिव्यक्ति दिएका छन् । उनले १० अर्बमा देश नै बेच्ने स्थितिमा नेताहरु पुगिसकेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया