३ आश्विन २०८१, बिहिबार | September 19, 2024

नागरिकताकाण्डले जर्नेल अशोक सिग्देलको पद धरापमा


December 5, 2023
3.6k
Shares

काठमाडौं, १९ मंसिर । नेपाली सेनामा नागरिकता र शैक्षिक प्रमाणपत्र प्रकरणले सेनापति बन्ने लाइनमा रहेका जर्नेलहरु धमाधम संकटमा परिरहेका छन् । दुई तारे जर्नेल ताराध्वज पाण्डेले त राजीनामा नै दिनुपरेको छ । उनको दुईथरी जन्ममिति भेटिएपछि रथी बढुवाको सिफारिश मात्र रोकिएन राजीनामा दिनुपर्ने वाध्यता आइलाग्यो ।

पाण्डे पछि वरियतामा रहेका अशोक सिग्देलको जँगी अड्डाले बढुवा सिफारिश गरेको छ । तर, उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमा दुईथरी जन्ममिति भेटिएको छ । शैक्षिक प्रमाणपत्रमा १९ चैत्र २०२१ र नागरिकतामा १९ माघ २०२३ राखिएको छ । उनले उमेर घटाएर सेनामा प्रवेश गरेको खुलेको छ ।

रुपन्देही जिल्ला प्रशासन कार्यालयबाट ९ असोज २०४० मा नागरिकताको प्रमाणपत्र लिएका सिग्देलको उमेर १९ वर्ष र ढड्डामा २०२१ साल भेटिएको छ । उनले किर्ते गरी जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिएको खुलेको छ । ८ जेठ २०५८ मा उनले जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिएर उमेर सच्याएका छन् ।

सिग्देलको नागरिकतका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी परेकोमा छानबिन गर्न पत्र रक्षा मन्त्रालयमा पुगेको छ । जसका कारण उनको बढुवा फाइल बढ्ने सम्भावना कमजोर भएको छ ।

सिग्देलको बढुवा भइहाले पनि नागरिकता छानबिन हुने र राजीनामा दिन वाध्य हुने अवस्था बनेको छ । सेनाभित्र पाण्डेको नागरिकता विवाद उचाल्न पनि सिग्देलले भूमिका खेलेको चर्चा चलिरहेको छ ।

प्रतिक्रिया