२३ भाद्र २०८१, आइतबार | September 8, 2024

एनसेल कर छली सफल बनाउने डिजाइनमा भएको थियो मुख्यसचिवमा बैकुण्ठ अर्यालको नियुक्ति


December 4, 2023
74.9k
Shares

आलोक गौतम । इतिहासकै ठूलो भ्रष्टाचार हो एनसेल कर छली । यो प्रकरण सफल पार्नकै लागि बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाइएको तथ्य फेला पारेको छ । अर्याल दुई वर्ष सञ्चार सचिव हुँदा टेलिकम माफियालाई लाभ हुने गरी सहयोगी बनेकैले मुख्यसचिवको मार्ग प्रशस्त गरे ।

अर्याल सञ्चार सचिव हुँदा दूरसञ्चारसम्बन्धी खरिदका करोडौंका भ्रष्टाचारहरु मातहतका निकायबाट भएका छन् । यसको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धानले गरिरहेको छ । अर्यालसँग अख्त्यिारले बयान समेत लिइसकेको छ ।

बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउनकै लागि शंकरदास बैरागीलाई राजीनामा दिन लगाइएको थियो । उनले राजीनामा नदिएको भए अर्याल सचिवबाट नै सेवानिवृत्त हुन्थे । तर, प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाको साझा स्वार्थमा अर्यालको भाग्योदय भयो ।

टेलिकम क्षेत्रबारे गहिरो जानकार राख्ने अर्याल सहसचिवका रुपमा प्रधानमन्त्री कार्यालयमा रहँदा पनि यसै क्षेत्रबारे अनुभव हासिल गर्न सफल भएका थिए । सञ्चार सचिव बनेपछि भने उनीसँग टेलिकम माफियाहरु जोडिन पुगे । उनको कार्यकालमा नेपाल टेलिकममा पनि ठूला खरिद प्रकरणहरु भएका थिए ।

अर्थ मन्त्रालयमा पनि लामो समय बसेका अर्याललाई मुख्यसचिव बनाएर एनसेलको कर छलीलाई सफल बनाउन ठूलै शक्ति लागेको खुल्दै गएको छ । एनसेलले सिधै ५० अर्बभन्दा बढी लाभकर छल्न सफल हुनुका साथै विदेशमा धनराशी पठाउन सफल भएको छ । यसलाई सफल बनाउनकै लागि एनसेल र त्योसँग जोडिएको गिरोहले मुख्यसचिवमा अर्याललाई ल्याउन भूमिका खेलेको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार एनसेल विक्रीवापत् दशौं अर्बको कर छली गर्ने, विदेशमा रकम पुर्याउने देखि कमिशन पनि उतै व्यवस्थापन गर्ने योजना पहिल्यै बुनिएको थियो । यसलाई चार्तुयतापूर्वक सफल बनाउन सहयोगी भूमिका खेल्ने पात्रको खोजी टेलिकम माफियाले गरे । उनीहरुले नै प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवालाई कन्भिन्स गरी मुख्यसचिवमा अर्यालको नियुक्ति सफल पारेका छन् ।

एनसेल प्रकरणमा कारबाही नबढाउने रणनीतिक सरकारी निकायबाट देखिइसकेको छ । अर्थ मन्त्रालय देखि सञ्चार मन्त्रालय मातहतका निकाय यस मामलामा सक्रिय देखिएका छैनन् । राज्यको बागडोर माफियाको इशारामा चल्ने गरी यो गतिविधि भएको खुल्दै गएको छ ।

एनसेलले सन् २०१६ मा पनि स्वीडेन र नर्वेको कम्पनी टेलियासोनेराबाट शेयर बेचाएको थियो । उक्त शेयर एक खर्ब ४४ करोड रुपैयाँमा आजियाटाले खरिद गरेको थियो । यो डिल त्यतिबेला बेलायतको रेनल्डुस होल्डिङ कम्पनीमार्फते भएको थियो । उक्त कम्पनी टेक्सको हेभन अर्थात् कर छलीको स्वर्ग भनी चिनिने सेन्टर किट्स एन्ड नेभिसमा दर्ता भएको थियो । यो विक्रीको लाभकरबारे टेलियासोनेराले सोध्दा आन्तरिक राजश्व विभागले जवाफ समयमा दिएको थिएन । नेपालको नर्वेसँग द्विपक्षीय दोहोरा कर नपर्ने सम्झौता नभएकाले कर तिर्नुपर्ने विषय उठ्यो ।

विगतको अनुभवलाई देखेरै एनसेलको नेपालमा २० प्रतिशत शेयर रहेको सतिशलाल आचार्य परिवारले बेलायतमा कम्पनी खोलेर कर छल्न चलखेल गरेका थिए ।

शतिशलालकी पत्नी भवानीसिंह श्रेष्ठको नाममा कम्पनी छ । उनै भवानी सिंहको विदेशमा गैरकानूनी धन रहेको पत्ता लागिसकेको छ । विदेशमा गैरकानूनी धन राख्ने र नेता देखि भ्रष्ट कर्मचारीलाई घूस दिएर काम गर्न खप्पिस शतिशलालको परिवार देशमा सत्ता ढाल्ने र बनाउने सम्मको हैसियत राख्ने भइसकेको छ । मुख्यसचिव, सचिव देखि महत्वपूर्ण निकायमा आफूअनुकूलको कर्मचारी राख्न उनीहरु सक्रिय हुने गरेका छन् । यो गतिविधिमा केही व्यक्तिहरु सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया