३ आश्विन २०८१, बिहिबार | September 19, 2024

ओली भर्सेस प्रसाईँ


November 23, 2023
249
Shares

समाचार विश्लेषण । देशमा अराजकता यति बढेको छ कि जस्ले उग्र बोली र व्यवहार देखायो उसैको हाई हाई हुन्छ । अतिवाद, हिंसा र दंगाफसादलाई मलजल दिने गतिविधि बढ्दै गएको छ । यस्तो हुनुमा राजनीतिक नेतृत्वमा रहेकाहरुको गलत प्रवृत्ति नै मुख्य कारण हो । उनीहरुले नै विषवृक्ष रोपे र अहिले विष धमाधम फल्न थाल्यो । विष फैलिएर देशभर खतरनाक अवस्था आइलागेको छ ।

कुनैबेला माओवादीसँग जोडिएर एमाले हुँदै उग्र राजावादी बनेका दुर्गा प्रसाईँ चासोमा छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती मात्र दिएका छैनन् आक्रामक गतिविधि देखाइरहेका छन् । ओलीको भण्डाफोर गर्दै सबैभन्दा बढी एमालेलाई क्षति पु¥याइरहेका छन् । उनको तारोमा शेरबहादुर देउवा र प्रचण्ड समेत छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको साथ पाएका प्रसाईँले मुख्य दलका नेतालाई त हल्लाएकै छन् राजनीतिक व्यवस्थालाई नै चुनौती दिइरहेका छन् । उनी एक्लै देखिएपनि पछाडि राजावादीहरुको ठूलो जमात समर्थनमा उत्रिएको छ ।

प्रसाईँले विगतमा प्रचण्डलाई खुबै साथ दिए । प्रचण्ड जस्तो नेता कोही छैनन् भन्दै हिंडे । त्यसपछि उनी केपी शर्मा ओलीको पछाडि लागे । ओली नै सबथोक हुन् जसरी बोले । ओलीको दल नेकपा एमालेमा केन्द्रीय सदस्य बने प्रसाईँ । तर, अहिले उनी पूर्वराजा ज्ञानेन्द्रसँग जोडिएर गणतन्त्रवादीविरुद्ध आक्रामक बनेका छन् । उनले आज बिहिबार राजधानीमा शक्तिप्रदर्शन गर्दैछन् । यो प्रदर्शन खतरनाक हुने देखेर सरकारले सुरक्षामा कडाई गरेको छ । घर घरमा चोक चोकमा मंसिर ७ मा के हुन्छ ? चासो बढेका ेछ । दुर्गा प्रसाईँले कति मान्छे र कस्ता मान्छे उतार्नेछन् भन्ने चासो उत्तिकै छ । तर, उनलाई कमजोर आँकलन गर्ने पक्षमा न त सरकार छ न त दलका नेताहरु नै ।

माइतीघरमा पूर्वनिर्धारित कार्यक्रमलाई प्रसाईँले बल्खुमा सारेका छन् । माइतीघर मण्डला बानेश्वर क्षेत्रलाई समेत सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । ललितपुरको पुल्चोकलगायतका क्षेत्र पनि निषेधित क्षेत्र बनाइएको छ । २०६२ सालताका यस्तो निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि अहिले मात्र यति ठूलो घेरालाई निषेधित क्षेत्र घोषित गरिएको छ । यसले पनि संकेत राम्रो छैन भन्ने देखाउँछ । दुर्गा प्रसाईँ र उनका पक्षधरहरु बलियो बन्दै गएको र यसका पछाडि ठूलै शक्तिको हात रहेको हल्ला पनि चलिरहेको छ ।

दुगाई प्रसाईँको शक्ति बढ्दै गएपछि सबैभन्दा त्रसित नेकपा एमाले बनेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएपछि युवा संघका कार्यकर्ता प्रसाईँविरुद्ध केन्द्रित भएका छन् । महेश बस्नेत ओलीको निर्देशनमा प्रसाईँलाई रोक्न लागिपरेका छन् । एमाले कार्यकर्ता राजधानीमा आएका प्रसाईँका कार्यकर्तालाई राति राति पुगेर लखेट्न उद्धत छन् । यसले एमालेको झन् अलोकप्रीय बनेको छ । एमाले एउटा व्यक्तिबाट यति धेरै तर्सनुमा उसका अध्यक्ष ओलीको भण्डाफोर हुनु पनि हो । ओलीले विदेशमा रकम राखेको विषय देखि विगतमा गलत गतिविधिलाई उठान गरिदिए । यसले एमाले जनजनमा बदनाम हुन पुगेको छ । नयाँ पीढीमाझ एमालेको क्रेज घट्दो छ ।

आज दुर्गा प्रसाईँ र एमाले मध्ये कस्को ठूलो जमात देखिन्छ त्यो पनि चासो बनेको छ । एउटा पार्टीको भन्दा एउटा व्यक्तिले डाकेको कार्यक्रममा बढी मानिस जम्मा भएमा जाने सन्देश उत्तिकै गम्भीर खालेको छ । पार्टी र तिनका नेता कतिसम्म बदनाम भइसके भन्ने यसले पनि देखाउने नै छ । जे होस् यो मुख्य दलका नेताको राजनीतिक भविष्यका लागि शुभ संकेत होइन । लामो समय राजनीतिमा रजगज गरेर पनि नयाँ नेतृत्व विकासमा भन्दा आफै हालीमुहाली हुन खोज्दा बदनाम भएका छन् नेताहरु । अरबौंको घोटालाकाण्डमा मुछिएका छन् । सत्ता र घूसमा पनि मिलिभगत गरेको छताछुल्ल भएको छ । घूसको लेनदेन विदेशमा गर्न थालेका छन् नेताहरु । उनीहरु बाहिर बाहिर लडेजस्तो गर्ने र भित्र भित्र पदको र पैसाको भागवण्डा गर्दै आएका छन् । यो तथ्य बुझेर जनता आक्रोशित छन् नेताहरु ।

जनअक्रोश बढ्नुमा देशमा बढ्दो बेरोजगारी, युवापलायत, उद्योगव्यवसाय धराशाही हुने देखि जनताको लगानी असुरक्षित हुनु पनि हो । सहकारीमाथि योजनावद्ध प्रहार भएका छन् । साना व्यवसायी मारमा परेका छन् । केही व्यक्तिहरुको हातमा ठूलो धनराशी पुगेको छ र उनीहरु त्यो धनराशी विदेशमा पु¥याइरहेका छन् । तर, सरकारको नेतृत्व गर्ने नेता देखि भ्रष्ट कर्मचारी त्यसका हिस्सेदार भएका छन् । अति हुँदै अत्याचार बढेपछि जनताले दुर्गा प्रसाईँ जस्ता विवादास्पद व्यक्तिलाई नै ठिक ठान्ने अवस्था बनेको छ । योभन्दा बिडम्बना अरु के हुनसक्छ । यो अवस्था आउनु भनेकै नेताहरुको असफलता हो । देश अराजकता, दंगाफसाद र हिंसातर्फ जाने खतरा उत्तिकै छ । आज हरिबोधनी एकादशीको दिन पारेर जुन गतिविधि काठमाडौंमा हुन लागेको छ त्यसले संकेत राम्रो गरेको छैन ।-खोजतलास साप्ताहिकबाट

प्रतिक्रिया