१२ श्रावण २०८१, शनिबार | July 27, 2024

राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवासमा पनि निषेधाज्ञा जारी


November 22, 2023
0
Shares

काठमाडौं,६ मंसिर । राष्ट्रपति कार्यालय शितलनिवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि काठमाडौँ जिल्ला प्रशासनले निशेधाज्ञा जारी गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) अनुसार, सो निषेधित क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउन, अनशन सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने जारी निषेधाज्ञामा उल्लेख छ ।

शितलनिवासमा पूर्वतर्फ पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुशी निस्किने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेटसम्म र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म र बालुवाटारमा पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म निषेधित क्षेत्र तोकिएको छ ।

यसैबीच ललितपुर जिल्ला प्रशासन कार्यालयले यूएन हाउस र मन्त्री निवास आसपासमा प्रदर्शन, घेराउ, सभा र भेलालगायतका गतिविधि गर्न रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जारी गरेको आदेशमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै ललितपुरको वडा नम्बर ३ को केही भागमा विरोधका कार्यक्रम गर्न निषेध गरिएको उल्लेख छ ।

आदेशमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ३ पुल्चोक स्थित यु.एन. हाउस र मन्त्रि निवास पुल्चोकको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी पूर्व तर्फ इनारमोड जाने मूलवाटो, पश्चिम राष्ट्रिय किताबखाना ( उत्तर तर्फ आन्तरिक राजस्व कार्यालय तथा यु.एन. हाउस र दक्षिण तर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लाभित्र भित्र आगामी ६ महिना सम्मका लागि निषेध गरेको उल्लेख छ । बिहीबार युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले आयोजना गरेको छुट्टाछुट्टै शक्ति प्रदर्शनको कार्यक्रमको पूर्वसन्ध्यामा २ जिल्लाका प्रसासनहरुले यो निर्णय गरेका हुन् ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया