१० श्रावण २०८१, बिहिबार | July 25, 2024

शक्तिराष्ट्रका युद्ध अस्त्र बन्दै सामाजिक सञ्जाल, नेपालको सुरक्षामा यसकारण पार्दैछन् खतरा


November 14, 2023
0
Shares

डा. दीपेश केसी: सँसारमा जुनसुकै युद्धमा पनि मिडिया सबैभन्दा ठूलो हतियारका रुपमा प्रयोग हुनेगर्छ । प्रोपोगान्डा त सबैभन्दा खतरनाक हतियार हो । दोस्रो विश्वयुद्धमा हिटलरका प्रोपोगान्डामन्त्री थिए गोयबल्स । भ्रम र घृणा फैलाउन गोयबल्सले मिडियालाई अधिकतम दुरुपयोग गरेर जर्मनीलाई युद्धमा प्रभावशाली बनाउन सके । तर, त्यो लामो समय टिकेन । जर्मनी युद्धमा पराजित भयो । हिटलर र गोयबल्स दुवै मारिए ।

विश्वमा भएका दुईवटा विश्वयुद्ध हुन् या अहिलेसम्म भएका कुनैपनि युद्ध नै किन नहुन् हरेक प्रकारका मिडिया या सूचनाका माध्यमहरु अधिकतम दुरुपयोग गरिए । कुनैपनि देशले अर्को देशमाथि प्रभाव जमाउन पनि मिडियाको अधिकतम दुरुपयोग गरेका छन् ।

२०औं शताब्दीमा प्रभावशाली पत्रपत्रिका, रेडियो र टेलिभिजनलाई बलिया देशहरुले प्रभाव जमाउने अस्त्रका रुपमा दुरुपयोग गरे । यो गतिविधि अझै चलिरहेको छ । जुन देश शक्तिशाली छ उस्को कुनै न कुनै पत्रपत्रिका, रेडियो, टेलिभिजन, समाचार एजेन्सीहरु प्रभावशाली छन् । यथार्थ यो पनि हो कि ती देशले त्यस्ता मिडियालाई आफ्नो प्रभाव जमाउने या शक्ति बढाउने अस्त्रका रुपमा प्रयोग गरेका छन् ।

जब युद्ध चल्छ तब स्वतन्त्र र निष्पक्ष भनिएका कतिपय देशका मिडियाहरु पूर्वाग्रही हुन थाल्छन् । महत्वपूर्ण चुनावका बेलामा त्यस्ता मिडिया कुनै एक पक्षमा लाग्छन् । अमेरिकाको सीएनएन आतंकवादविरुद्धको लडाईंका नाममा पूर्वाग्रही तरिकाले प्रस्तुत भएकै हो । त्यहाँको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विरुद्ध प्रस्तुत भयो र जो वाइडेनको पक्षमा देखियो । अमेरिकाकै फक्स न्युज ट्रम्पको पक्षमा देखियो । युक्रेन युद्धमा सीएनएन र बीबीसीका समाचार रुसविरुद्ध लक्षित छन् ।

फ्रान्सका समाचार एजेन्सी र मिडियाहरु अफ्रिकामा आफ्नो दबदबा कायमै राख्ने गरी समाचार सम्प्रेषण या प्रसारण गर्छन् । उसका लागि ती मिडिया बलिया अस्त्र पनि हुन् । जुन एटम बम भन्दा कम छैनन् ।

युक्रेन युद्धमा रुसको तास र आरटी टीभी एकपक्षीय देखिन्छ । पश्चिमा जगतविरुद्ध भ्रम फैलाइरहेको देखिन्छ । उसले पनि युद्धमा बलियो हतियारका रुपमा मिडियाको दुरुपयोग गरेको देखिन्छ ।
कतारबाट चल्ने अल जजिराले उक्त देशलाई निकै बलियो बनाइरहेको छ । अल जजिरा टेलिभिजन खाडी मुलुकहरुमा मात्र नभई मुस्लिम बाहुल्य देश र अफ्रिकासम्म प्रभावशाली बनिरहेको छ । यो अल जजिराको मात्र नभई कतारको पनि प्रभाव हो । विश्वकप फुटबल २०२२ लाई कतारबाट खोस्न साउदी अरबले गरेको प्रयासलाई विफल बनाउने गतिविधिमा अल जजिरा निकै प्रभावशाली अस्त्र बन्यो ।

पछिल्लो समय चीन र भारतका मिडिया पनि प्रभावशाली बन्दै गएका छन् । भारतले चलचित्रमार्फत् पनि आफ्नो प्रभाव विश्वभर बढाउँदै लगेको छ । चीनले विभिन्न मिडियामार्फत् आफ्नो प्रभाव बढाइरहेको छ । जसमध्ये टिकटक पनि एक हो ।

२१ औं शताब्दी सामाजिक सञ्जाल प्रभावशाली मिडिया बनेको छ । कुनैपनि सूचना व्यक्तिले क्षणभरमै विश्वभर फैलाउन सक्ने गरी मिडियाको विकास भएको छ अहिले । यसका सकारात्मक पक्ष पनि छन् । तर, यो सूचना फैलाउने गति बढाउने र मिडियाको विकास गर्ने उद्देश्यले मात्र आएको होइन । निकै गहिरो अध्ययन अनुसन्धानपछि विकास भएका यस्ता मिडियाहरु राजनीतिक एवं आर्थिक उद्देश्यले पनि निर्माण गरिएका छन् ।

अहिले विश्वमा प्रभावशाली सामाजिक सञ्जालमध्ये फेसबुक, ट्वीटर, टीकटक, ह्वाट्सएप, ह्वाट्सएपलगायत छन् । रोचक त यो छ कि यी सामाजिक सञ्जाल विश्वकै धनी र शक्तिशाली देशहरुमा निर्माण भई सञ्चालित छन् । यीनका मालिकहरु विश्वकै धनाढ्यमध्ये छन् । फेसबुकका मालिक मार्क जुकनवर्ग र ट्वीटरका मालिक इलोन मस्क विश्वकै धनी बन्ने प्रतिष्पर्धा चलिरहेको छ । टिकटकका मालिक झाङ इमिङको सम्पत्ति २०२१ को तुलनामा २०२२ मा दोब्बरले वृद्धि भएको थियो । चीनका दोस्रो र विश्वका २६औं धनाढ्य हुन उनी ।

अहिले विश्वमा फेसबुक, टिकटक, ट्वीटर जस्ता सामाजिक सञ्जालको दबदबा छ । उनीहरुले ठूलो धनराशी आर्जन गरिरहेका छन् । यति मात्र होइन यस्ता सामाजिक सञ्जाल आफ्नो देशलाई शक्तिशाली बनाउने अस्त्र बनिरहेका छन् । कतिपयको व्यक्तिगत सूचना समेत ती देशले हात पारिसकेका छन् ।

कुनैपनि देशका हुने राजनीतिक गतिविधि या भनौं चुनावमा समेत अमेरिका र चीनबाट चल्ने सामाजिक सञ्जालको भूमिका हुन थालेको छ । यतिसम्मकी चुनावमा कस्लाई जिताउने या हराउने सम्मको भूमिका त्यस्ता सामाजिक सञ्जालको हुन थालेको छ । उनीहरुसँग कुनैपनि देशमा सुरक्षा चुनौती दिने क्षमता बनिसकेको छ । योजनावद्ध रुपमा समाजिक सञ्जालमा घृणा फैलाउने र द्वन्द्व बढाउने सामाग्री पोष्ट गरी फैलाउने र राजनीतिक उथलपुथल ल्याउने गतिविधि समेत भए । यसलाई रोक्न बलिया देश नै असफल रहे । भारतको मणिपुरमा घृणा र जातीय हिंसा फैलाउने विवादास्पद भिडियो सामाग्री सामाजिक सञ्जालमार्फत् फैलिएपछि जनधनको ठूलो क्षति भयो । भारत जस्तो शक्तिशाली देशको वशमा समेत रहेन सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्ने अस्त्र ।

अहिले नेपालमा केही व्यक्तिहरु सामाजिक सञ्जालको दुरुपयोग मार्फत् शक्ति आर्जनको सपना देखिरहेका छन् । उनीहरु काम केही नगर्ने हल्ला र भ्रम सृजना गरी भ्रष्ट नेताप्रतिको वितृष्णामा बनेको धमिलो पानीमा माछा मार्ने प्रयास गरिरहेका छन् । उनीहरु आफ्नो व्यक्तिगत लाभ र हानीको हिसाबकिताब गरी राष्ट्रले सामाजिक सञ्जालमार्फत् भोगिरहेको क्षतिमा बेवास्ता गरिरहेका छन् । देशले ठूलो आर्थिक नोक्शानी व्यहोरेको छ सामाजिक सञ्जालको कारण । देशको रकम विदेशिएको छ । स्थानीय पत्रपत्रिका, टेलिभिजन, रेडियो जस्ता सञ्चारमाध्यम विज्ञान नपाएर बन्द हुँदा हजारौंको रोजगारी गुमिरहेको छ ।

सामाजिक सञ्जालको दुरुपयोगबाट देशमा ठूलै हिंसा भड्काउने चलखेल भइरहेको छ । ठूलै अस्त्रका रुपमा योजनावद्ध रुपमा बनाइएका रणनीतिसँग जुध्न सरकारसँग सामथ्र्य देखिएन । यतिसम्मकी सीमामा काँडेतार लगाउनुपर्छ भन्नेहरु सामाजिक सञ्जालमार्फत् भित्रिएका संगठित अपराध देखि आतंकवादसम्मका गतिविधि छिरिरहेकोबारे आँखा चिम्लिएका छन् । अहिलेको सँसारमा अपराध र आतंकवाद भित्रिन राजनीतिक सीमा भौतिक रुपमा नाघ्नु पर्दैन । तर, यसप्रति राज्य जति छिटो चनाखो हुनुपर्छ भए ।

जब नेताहरु आफ्नो अन्तरङ्ग भिडियो र तस्बिरहरु सामाजिक सञ्जालमा आउन थाल्यो तबमात्र जागे । उनीहरु व्यक्तिगत लाभ र हानीमै केन्द्रित छन् राष्ट्रका लागि होइन भन्ने यसले पनि प्रमाणित गरेको छ । सामाजिक सञ्जाल बुझ्न अहिले पक्ष प्रतिपक्षमा रहेका नेताहरुलाई उनीहरुको जीवनकालले पनि पुग्दैन नै । तैपनि, उनीहरु आफ्नो भ्रष्टाचार, अनैतिक गतिविधि बाहिर आउने डरले भएपनि सचेत भएका छन् । सामाजिक सञ्जालको दुरुपयोगले राष्ट्रको सुरक्षामा खतरा परिसकेकोबारे मनन गर्न ढिलो गरिसकेका छन् ।

यति भन्दैमा सामाजिक सञ्जाललाई चल्नै नदिने क्षमता राज्यसँग नहोला । कानून र मानवअधिकारका विषय पनि आउलान् । तर, के सामाजिक सञ्जाललाई नियमन गर्ने खर्च र क्षमता राज्यसँग छ ? यो गम्भीर प्रश्न बनेको छ । यसको नियमनमा दशौं अर्ब खर्च हुन्छ नै । अर्कोतर्फ, प्रविधिको छिटो छिटो विकासले नियमनका प्रविधि पनि परिवर्तन गरिरहनुपर्ने हुन्छ । यसकारण नेपालमा फेसबुक, ट्वीटर र टिकटक जस्ता सामाजिक सञ्जालले कि त राज्यको जिम्मेवार निकायसँग समन्वय गरेर यही कार्यालय खोलेर सञ्चालन गर्नुपर्छ । कि त नेपालमा त्यस्ता सञ्जाल बन्द नै गर्नुपर्छ । अर्को विकल्प भनेको नेपालभित्रैबाट सामाजिक सञ्जालको विकास हुन जरुरी भइसकेको छ । एटम बमभन्दा खतरनाक रुपमा विकास भइरहेका सामाजिक सञ्जाललाई यतिकै छाडिदिए देशमा ठूलो खतरा निम्तन सक्छ । यसलाई हल्का रुपमा लिनुहुँदैन ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया