८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

मुगुमा एकै परिवारको चारजनाको हत्या गर्नेको पहिचान, प्रहरीले चाँडै सार्वजनिक गर्ने


October 31, 2023
0
Shares

काठमाडौं, १४ कात्तिक । मुगुमा एकै परिवारका चारजनाको हत्या गर्नेहरुको पहिचान भएको छ । प्रहरीको विश्वस्त स्रोतका अनुसार हत्या गर्नेहरुको पहिचान भई अनुसन्धान चलिरहेको छ ।

घटनाको थप अनुसन्धान बाँकी भएकाले दोषीबारे प्रहरीले अझै सार्वजनिक जानकारी नदिने बुझिएको छ । घटनाको कारण र थप शकास्पद व्यक्तिहरु समेत पक्राउ गरेपछि प्रहरीले सबै विवरण सार्वजनिक गर्ने भएको छ ।

घटनामा चिनेजानकै व्यक्तिहरु संलग्न रहेको बुझिएको छ । उनीहरुले योजनावद्ध तरिकाले विभत्स हत्या गरेका थिए ।

चारैजनाको घाँटी रेटी हत्या भएको खुलेको छ । उनीहरुको विभत्स हत्या हुँदा पनि वरिपरिकाले जानकारी नपाउनुलाई नै आधार मानेर प्रहरीले अनुसन्धान बढाएको हो । हत्या हुँदा गुहार माग्ने र चिच्याउने हुन्छ । तर, नजिकका छिमेकी कसरी बेखबर भए ? यो प्रश्न तेर्सिएको छ ।

मुगुको छायानाथ रारा नगरपालिका वडा नं ६ को मन्दु गाउँको दिपक बोहोराको घरमा घटना भएको हो । ८ कात्तिकको राति हत्या गरी ताल्चा लगाएको अवस्थामा शव फेला परेको हो । तर, १० कात्तिकको विहान मात्र प्रहरीमा खबर पुगेको थियो ।

हत्या गरिएकाहरुमा २६ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहोरा, १ वर्षका छोरा रहर बोहोरा र ७ वर्षकी छोरी अप्सरा बोहोरा छन् ।

कात्तिक ७ गते श्रीदेवी एउटै वडामा रहेको कोटिल्ला गाउँको माइतीघरमा टीका लगाउन गएकी थिइन् । ८ गते फर्किएकी उनी नदेखिएपछि छिमेकीले चासो राखेका थिए । माइती गएको धेरै दिन भएको ठानेर सोध्दा ८ गते नै फर्किइसकेको जानकारी पाएपछि घरमा हेर्दा शव भेटिएको थियो ।

प्रतिक्रिया