२३ भाद्र २०८१, आइतबार | September 8, 2024

‘धर्मान्तरणको धन्दा’ चलाउने हाइप्रोफाइलको भण्डाफोर


October 16, 2023
498
Shares

लाल बहादुर चौधरी: “जब मिसनरीहरू आइपुगे, अफ्रिकीहरूसँग भूमि थियो र मिसनरीहरूसँग बाइबल थियो। तिनीहरूले हाम्रा आँखा बन्द गरेर प्रार्थना गर्ने तरिका सिकाए। जब हामीले आँखा खोल्यौं, तिनीहरूसँग जमिन थियो र हामीसँग बाइबल थियो।”

-जोमो केन्याटा

यो चर्चित उद्धरण केन्याका पूर्व राष्ट्रपति जोमो केन्याटाको हो l उद्धरणमा भन्न खोजेको कुरा स्पष्ट छ l यो एउटा प्रतिनिधि प्रसंग मात्र हो l धर्मान्तरणको चपेटामा परेर कङ्गाल भएका, आफ्नो सर्वस्व गुमाएका कैयन राष्ट्रहरू छन् विश्व मानचित्रमा l धर्मान्तरणले निश्चित जाति, समुदाय वा समाजको धर्म, संस्कार, संस्कृति, पहिचान, राष्ट्र र राष्ट्रियता मात्र हराउने होइन, उनीहरूको सर्वस्व नै हराउँछ l अफ्रिकी इतिहास पल्टाएर हेर्ने हो भने कसरी त्यहाँका मूलवासीहरूलाई इसाई र इस्लाममा धर्मान्तरण गराइयो, कसरी तिनीहरूले आफ्नो मौलिक धर्म, संस्कृति र पहिचान गुमाउनुका साथै आफ्नो सर्वस्व नै गुमाउन पुगे भन्ने कुरा प्रष्ट हुन्छ l

“धर्मान्तरणको धन्दा” मोहन श्रेष्ठ ‘स्पात’ को एक अनुसन्धानमुलक पुस्तक हो l यस पुस्तकमार्फत लेखक तथा अनुसन्धानकर्ताले धर्मान्तरण जस्तो संवेदनशील विषयमा आफ्नो अनुसन्धानको खोज, विमर्श तथा निष्कर्ष प्रस्तुत गर्ने प्रयास गरेका छन् l लेखकले यस पुस्तकमा धर्मान्तरणका विभिन्न आयामहरूलाई पस्केका छन्; धर्मान्तरणका कारण विश्व, राष्ट्रिय तथा स्थानीय परिप्रेक्ष्यमा पर्न गएका असरहरूका बारेमा तथ्य तथा प्रमाण सहित व्याख्या तथा विश्लेषण गरेका छन्; यद्यपि, उनको अनुसन्धान नेपालको सन्दर्भमा धर्मान्तरण एक धन्दा, अर्थात् व्यापारको रूपमा चलिरहेको एक गम्भीर तथा संवेदनशील विषयमा केन्द्रित रहेको छ l साथै, यो धर्मान्तरणको धन्दा स्थानीयदेखि राष्ट्रिय स्तरसम्म कसरी भइरहेको छ, यो धन्दा गर्नु पछाडिको अन्तर्य के हो, यसले नेपाली जनसमुदायमा के-कस्तो असर पारिरहेको छ, र धर्मान्तरण कार्य तीब्र गतिमा बढ्नुमा के कस्तो विषयले प्रभाव पारिरहेको छ भन्ने बारे पनि लेखकले यस पुस्तकमा मन्थन गरेका छन् l

स्वाभाविक रूपमा, धन्दा (व्यापार) मा लेनदेन हुन्छ l धन्दा गर्नु पछाडिको उद्देश्य आर्थिक वा अन्य प्रकारको लाभ हुन्छ l नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेपछि धर्म परिवर्तनको कार्य झन् तीब्र गतिमा बढेको देखिन्छ l इसाई मिसनरीहरू प्रत्यक्ष-अप्रत्यक्ष रूपमा यस कार्यमा अहोरात्र खटिरहेका छन् l नेपालका दूर-दराजमा बस्ने, आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पछि परेका समुदायहरूलाई विभिन्न प्रलोभन देखाएर सजिलै आफ्नो मायाजालमा पारिरहेका छन् l परिणाम स्वरूपम, तीब्र धर्मान्तरणको गतिविधिले नेपालको जनसांख्यिकीलाई नै असर गरेको छ l यो कुरा नेपालको पछिल्लो जनगणनाको प्रतिवेदनबाट प्रष्ट हुन्छ, जस बारे लेखकले यस पुस्तकमा सुक्षरूपमा अध्ययन तथा विश्लेषण गरेका छन् l

सामान्यतया, धर्मान्तरण भनेको नेपालको सन्दर्भमा हिन्दू, बौद्ध वा आफ्नो स्वधर्मबाट इसाईमा परिवर्तन हुनु भन्ने आम-बुझाइ रहेको छ l यद्यपि, यो एकतर्फी सत्य हो l नेपालमा हिन्दू, बौद्ध वा आफ्नो स्वधर्मबाट इसाई लगायत इस्लाममा परिवर्तन हुने वा मुस्लिम हुने संख्या बढ्दो र भयावह छ l नेपालमा मुस्लिमको जनसंख्या बढ्नुको कारण उनीहरूमा अनियन्त्रित जन्म दर मात्र होइन, धर्मान्तरण पनि हो l लोभ-लालच, डर-त्रास, लभ-जिहाद, वैदेशिक रोजगारी आदि कारक तत्व देखिएका छन् जसको कारण नेपालीहरू आफ्नो स्वधर्मबाट इस्लाममा परिवर्तन भइरहेका छन् l साथै, नेपाल-भारतको खुला सिमानाका कारण हजारौहजारको संख्यामा मुस्लिमहरू नेपाल प्रवेश गरिरहेका छन् l यसमा भारतीय, बंगलादेशी, पाकिस्तानी, रोहिंगिया लगायतका मुस्लिम जनसंख्या पर्दछन् l नेपालको सीमा क्षेत्रबाट कति घुषपैठ भएको छ, नेपाल सरकारसँग कुनै ठोस जानकारी (डाटा) छैन l पछिल्लो समय, भारतसँगको नेपालको सीमा क्षेत्रमा मस्जिद तथा मदरसाहरूको संख्या पनि अस्वाभाविक रूपमा वृद्धि भएको छ l ती मस्जिद तथा मदरसाहरूभित्र भइरहेका गैरकानुनी गतिविधि बारे सम्बन्धित निकाय अनभिज्ञ छ, वा राजनीतिक कारणले गर्दा यस मामिलामा कुनै चासो दिँदैन l तर त्यहाँका स्थानीयहरूलाई विस्तारै सकस हुँदै गइरहेको छ l यो एक गम्भीर समस्या हो l यो राष्ट्रिय सुरक्षामै खतराको घन्टी हो l लेखकले यस विषयमा पनि तथ्य तथा प्रमाण सहित गहन विश्लेषण गरेका छन् l

कुनै पनि व्यक्तिले आफ्नो इच्छा अनुसार कुनै पनि धर्म मान्न पाउनु उसको मौलिक अधिकार हो l नेपालको संविधानले पनि नागरिकको यो अधिकारलाई “धार्मिक स्वतन्त्रता” को रूपमा सुनिश्चित गरेको छ l यद्यपि, कुनै पनि व्यक्तिको धर्म प्रलोभन देखाएर, दबाव दिएर, बलपूर्वक, वा उसको कमजोरीको फायदा उठाएर परिवर्तन गर्ने प्रयास गरिन्छ भने, त्यो कार्य गैर-कानुनी हो, एक जघन्य अपराध हो l यस्तो कार्य निन्दनीय र दण्डनीय हुन्छ l तैपनि धर्म-परिवर्तनका गतिविधि दिन प्रतिदिन बढ्दै गइरहेका छन् l प्रशासन तथा सम्बन्धित निकाय यस मामिलाबाट बेखर छन्, वा विविध कारणवश कुनै कदम चाल्नुपर्ने आवश्यकता ठान्दैनन् l यदि यस्तै अवस्था रहेमा यो मामिला थप गम्भीर हुनजाने कुराको संकेत गर्छ यस पुस्तकले l

यस पुस्तकले धर्मान्तरणको कार्यमा नेपालका कथित “हाइ-प्रोफाइल” व्यक्तिहरूको संलग्नता रहेको कुरा पनि भण्डाफोर गर्छ l उसो त विश्वमा एक मात्र “हिन्दू राष्ट्र” को पहिचान रहेको नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्नु पछाडि ठूलो षड्यन्त्र रहेको सर्वविदितै छ l सोही धर्मनिरपेक्षको आडमा मिसनरीहरूले सेवा कार्यको आवरणमा नेपाली जनतामाझ गएर धर्मान्तरणको गतिविधि तीब्र गतिमा अगाडि बढाइरहेका छन् l वर्षैपिच्छे विभिन्न एनजीओ/आइएनजीओको नाममा विदेशबाट ठूलो धनरासी नेपालमा भित्रिरहेको छ l तर यी धनरासी विशुद्ध र निःस्वार्थ रूपमा नेपाल र नेपाली जनताका विकासको लागि उपयोग हुनुको सट्टा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धर्मान्तरणको गतिविधिलाई मलजल गर्नका लागि प्रयोग हुने कुरा प्रष्ट हुन्छ यस पुस्तकको तथ्यपरक विवरण तथा विश्लेषणबाट l

“धर्म परिवर्तनका कारण, पारिवारिक बेमेल, सामाजिक बेमेल हुँदै राष्ट्रिय स्तरमा नै बेमेलको वातावरण निर्माण भइरहेको छ l” बढ्दो धर्मान्तरणको गतिविधिले मुस्लिम आतंकवाद (Islamic Terrorism) लाई प्रश्रय दिएको र इसाई विस्तारवाद (Christian expansionism) लाई बढावा दिएको देख्न सकिन्छ l नेपालको ग्रामिण भेग, दूर-दराज, विकासका मूलधारबाट वन्चित क्षेत्र वा सीमा क्षेत्रमा गएर राम्ररी अध्ययन वा अवलोकन गर्दा यी कुराहरू प्रष्ट देख्न सकिन्छ l नेपाल र आम-नेपालीका लागि यी दुई तत्व भावी समयमा विकराल समस्याको रूपमा स्थापित हुने देखिन्छ, जुन कुरा अनुसन्धानकर्ताको खोजमा पनि प्रष्ट्याइएको छ l

यस्ता कैयन महत्वपूर्ण तथा संवेदनशील विषयवस्तु लेखकले उक्त पुस्तकमा उठान गरेका छन्, जसको गाम्भीर्यताले पाठकलाई स्तब्ध र सोचमग्न बनाउन सक्छ l

पुस्तकको विषय गम्भीर प्रकृति रहे पनि, यसको विषयवस्तु, तथ्यपरक जानकारी, तर्कसंगत विश्लेषण आदिले पाठकलाई बाँधेर राख्न, र सो विषयहरूमा चिन्तन गर्न बाध्य बनाउँछ l यति भन्दै गर्दा, पुस्तकमा केही पनि कमीकमजोरी छैन भन्ने होइन l केही प्रसङ्ग अप्रासंगिक रूपमा दोहोरिनु, सामान्य भाषागत त्रुटी हुनु जस्ता केही कमीकमजोरी पनि रहेका छन् l उचित सम्पादनले यस्ता त्रुटीबाट बच्न सकिन्थ्यो होला l तैपनि विषय-वस्तुको गाम्भीर्यता र यसको ओजले यी साना कमीकमजोरीहरू छायामा पर्छन् l

समग्रमा भन्नु पर्दा, यस पुस्तकले नेपालमा भइरहेको बढ्दो धर्मान्तरणको धन्दाको चिरफार गर्ने प्रयास गरेको छ l यो पुस्तक यस विषयमा रुची राख्ने, अनुसन्धान गर्न चाहने, नीति-निर्माता लागत यस विषयसँग सरोकार राख्ने सबैका लागि रुचिकर र उपयोगी हुनसक्छ; एक महत्वपूर्ण दस्तावेजको रूपमा स्थापित हुन सक्छ l

प्रतिक्रिया