२३ भाद्र २०८१, आइतबार | September 8, 2024

भारतको सहयोगमा बनेको महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयको भवनको उद्घाटन


October 11, 2023
0
Shares

काठमाडौं, २४ असोज । भारतको सहयोगमा निर्माण भएको बालुवाटारस्थित श्री महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयको भवनको उद्घाटन भएको छ । बुधबार भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन् ।

नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको १ करोड ९२ लाख रुपैयाँ आर्थिक सहयोगमा भवनको निर्माण भएको हो । उद्घाटन समारोहमा राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारले उपलब्ध गराएको उक्त अनुदान रकम तीन तल्ले विद्यालय भवनको निर्माण र आवश्यक फर्निचर व्यवस्थापनमा खर्च गरिएको जनाइएको छ ।

उद्घाटन समारोहमा बोल्दै दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै दुई देशबीचको यो साझेदारीले पछिल्ला वर्षहरुमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताए । उनले नेपाल सरकारले तय गरेका प्राथमिकता अनुरुप र दुवै देशका जनताको हितका निमित्त दुई देशबीचको विकास साझेदारीलाई अझ मजबुत बनाउन भारत सरकार सधैं प्रतिबद्ध रहेको बताए ।

महेन्द्र राष्ट्रिय विद्यालयको स्थापना जागरुक शिक्षकहरुको संयुक्त प्रयासमा सन् १९५६ मा खुला मैदानमा प्राथमिक विद्यालयको रुपमा भएको थियो । नेपाल सरकारले सन् १९७३ मा यस विद्यालयलाई प्राथमिक विद्यालयको रुपमा मान्यता दिएको थियो । सन् १९९५ मा निम्न माध्यमिक तहमा स्तरोन्नत भएको यो विद्यालय सन् २००० मा माध्यमिक तहमा र पछि गएर उच्च मध्यमिक तहमा स्तरोन्नत भएको हो । यस विद्यालयमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ५० प्रतिशत छात्रा छन् । स्थापनाकालदेखि नै यो विद्यालयले स्थानीय स्तरमा गुणस्तरीय शिक्षाको सन्दर्भमा उल्लेखनीय सफलता हासिल गर्दैआएको छ ।

सन् २००३ यता भारतले नेपालमा विभिन्न क्षेत्रमा ५४६ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेकोमा ४८३ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये काठमाडौंका ४० गरी बागमती प्रदेशमा १०५ वटा रहेका छन् ।

भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा विद्यालयलाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुलबस उपहार स्वरुप प्रदान गरिसकेको छ । भारतले हालसम्म काठमाडौंमा ६९ वटा एम्बुलेन्स र ५२ वटा स्कुलबस उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया