३ आश्विन २०८१, बिहिबार | September 19, 2024

हिन्दु हुनुमा गर्व गर्ने सुनक र प्रधानमन्त्री बन्न धर्म बेच्ने नेपालका सनकहरु


September 11, 2023
0
Shares

डा. दीपेश केसीः ‘म हिन्दु हुनुमा गर्व गर्छु,’ बेलायतको प्रधानमन्त्री हुनु अघि र पछिसम्म ऋषि सुनक यो वाक्यबाट अविचलित रहे । आफ्नो धर्म संस्कृतिप्रति गर्व गर्ने उनै ऋषि सुनक नेपालीहरुको सामाजिक सञ्जालमा छाइरहेका छन् । भारतको नयाँ दिल्लीस्थित अक्षरधाम मन्दिरमा आइतबार विहानै दर्शनका लागि पुगेका दृश्यहरु लोकप्रीय भएका छन् । त्यहाँ उनी पत्नी अक्षता मूर्तीका साथ पुगेका थिए । मन्दिरमा लम्पसार परेर ढोगेको, छाता आफै बोकेर पत्नीलाई सँगै लगेको, भगवानका अगाडि भक्तिभावमा लिन भएको दृश्य हेर्नलायक छ । यो दृश्यले सबैभन्दा बढी नेपालमा सनातन धर्म संस्कृतिमाथि प्रहार गर्ने र आफ्नो हिन्दु पहिचान लुकाएर हिंड्ने राजनीतिक दलका नेताको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ ।

झण्डै ८२ प्रतिशत हिन्दु, झण्डै ९ प्रतिशत बौद्ध अनि ३ प्रतिशत किराँतसहित ९३ प्रतिशत सनातन हिन्दु धर्मालम्बी भएको देशमा नेताहरुले आफ्नो धार्मिक पहिचान नै लुकाएर हिंडे । यतिसम्मकी उनीहरु आफूलाई नास्तिक देखाउने प्रतिष्पर्धा नै चलाए । चुनावमा कुनै पनि मुख्य राजनीतिक दलका उम्मेदवारले आफू हिन्दु हुँ भन्न पनि चाहेनन् । आफ्नै पहिचान लुकाएर उनीहरु बाह्य शक्तिलाई खुशी पार्न चाहिरहेको थिए । मन्दिर र गुम्बाप्रति अपमानका गतिविधिहरु गरिरहे नेताहरुले । आफ्नो धर्म, संस्कृतिलाई बदनाम गराउने गतिविधिका सहयोगी बने ।

देशमा धर्मनीरपेक्ष लाद्न अहिलेका मुख्य दलका नेताहरुले भूमिका खेलेको घाम जत्तिकै छर्लंग छ । वर्तमान प्रधानमन्त्री प्रचण्ड, प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, डा। बाबुराम भट्टराई धर्मनीरपेक्ष संविधानमा राख्ने भूमिका निभाउनेमा पर्छन् । गिरिजाप्रसाद कोइराला, सुभाष नेम्वाङहरुको भूमिका पनि रह्यो । देशमा हिन्दु राष्ट्र र राजसंस्थालाई कायमै राख्नुपर्छ भन्ने कृष्णप्रसाद भट्टराई जस्ता सन्त नेताले रुँदै काँग्रेस छाड्नुपरेको इतिहास साक्षी छ । देश र जनताले नचाहेको धर्मनीरपेक्षतालाई लाद्ने गतिविधि आन्तरिक डिजाइन भने थिएन । यो बाह्य शक्तिको ग्रान्डडिजाइन थियो । त्यसमा नेताहरु सहयोगी भए । धर्ममाथि आक्रमण गर्नु आफू र देशमाथि नै आक्रमण हो भन्ने बुझेनन् । उनीहरु सत्ता केन्द्रित भएर अरुको एजेन्डा बोकेर देश बर्बाद बनाउने अस्वस्थ प्रतिष्पर्धामा सामेल भए ।

धर्मनीरपेक्षको एजेन्डा बोकेकाले प्रचण्ड, बाबुराम भट्टराई, माधवकुमार नेपाल, केपी शर्मा ओली प्रधानमन्त्री बन्न सफल भए । यो एजेन्डालाई शिरोधार्य गरेपछि शेरबहादुर देउवाको फेरि भाग्योदय भयो र प्रधानमन्त्री बने । यही एजेन्डा बोकेर प्रधानमन्त्री बन्ने दौडमा काँग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, एमालेबाट सुभाष नेम्वाङ, विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, जर्नादन शर्मा मात्र नभई नयाँ उदाएको रास्वपाका रवि लामिछाने पनि देखिएका छन् । उनीहरुमा आफ्नो धर्म संस्कृतिको रक्षामा कुनै दिलचश्पी देखिदैन । सबैभन्दा क्रान्तिकारी बन्ने नाममा सनातन धर्म संस्कृतिको धज्जी उडाउन लागिपरेका छन् ।

यतिबेला ऋषि सुनको सादगीपन र अक्षरधाम मन्दिरको दर्शनको दृश्यले नेपाली समाजमा नयाँ चेतना जगाएको छ । यो चेतना जनजनमा स्वतः जागेको हो । आफ्नो धर्म संस्कृति कति प्रीय हुनुपर्छ र नेता भनेको आफ्नो धर्म संस्कृतिलाई माया गर्ने हुनुपर्छ भन्ने सन्देश नेपाली जनताको घर घरसम्म पुगेको छ । जस्ले आफ्नो धार्मिक पहिचानलाई लुकाएर हिंड्छ ऊ आफ्नै स्वार्थमा चल्छ भन्ने चेतना जागृत भएको छ । देशको धर्म हुँदैन भनेर भ्रम फैलाएर हिंड्नेहरुको अब चल्नेवाला छैन भन्ने पछिल्लो घटनाक्रमले देखिइसकेको छ । धर्म र समाज एउटै हो । समाजबाट नै देश बनेको हुन्छ । सँसारमा धर्म नभएको कुनै व्यक्ति र समाज हुँदैन । देशको धर्म नहुने सवालै छैन । यदि यो कसैले भन्छ भने ऊ अरुको धर्म संस्कृतिलाई हावी गराउन खोजिरहेको छ । अब नेपाली जनताले आफ्नो धर्मप्रति गर्व गर्ने नेता चिन्ने बेला आएको छ । जस्ले आफ्नो धर्मप्रति गर्व गर्छ उसले देशलाई पनि माया गर्छ । देशका लागि आफूलाई समर्पित गर्न सक्छ ।

मौका पर्दा धर्मनीरपेक्ष बनेकाहरु फेरि मन्दिरहरु पसेर जनता झुक्याउन खोज्दैछन् । त्यसबाट पनि सचेत हुन जरुरी छ । सनातन हिन्दु धर्म संस्कृतिको रक्षा भएमा नेपालको पनि रक्षा हुन्छ किनकि यो देश धर्मको जगमा उभिएर बनेको हो । यसकारण नेपालले खोजेको नेतृत्व भनेको हिन्दु हुनुमा गर्व गर्ने नै हो । जस्ले आफ्नो धार्मिक पहिचान लुकाउँदैन ऊ देशभित्र मात्र नभई बाहिर पनि सम्मानित हुन्छ । जसरी गणेशको मूर्ति सामुन्ने राखेर मात्र काम गर्ने हिन्दु ऋषि सुनक दुनियाँभर सम्मानित भएका छन् । उनले हिन्दु हुनुमा गर्व गरेर अन्य धर्मालम्बीको समेत मन जितेर प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री बन्न अरुको धर्म अँगाल्नुपर्दोरहेनछ । आफ्नो धार्मिक पहिचान लुकाउनुपर्ने रहेनछ ।

प्रतिक्रिया