ललिता निवास जग्गा प्रकरणमा २९० जनाविरुद्ध मुद्या दर्ता, शक्तिको आँडमा यीनले पाए उन्मुक्ति

काठमाडौं, १० भाद्र । ललिता निवास जग्गा प्रकरणमा २९० जनाविरुद्ध मुद्या दायर भएको छ । काठमाडौं जिल्ला अदालतमा मुद्या दर्ता भएकामा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छेदार, पूर्वमन्त्रीहरु चन्द्रदेव जोशी, छविराज पन्त, डम्बर श्रेष्ठ र सञ्जय साह समेत छन् ।
पूर्वसचिवहरु युवराज भुसाल, दिनेशहरि अधिकारी, नारायण मलेगो र रवीन्द्रमान जोशीमाथि पनि मुद्या दायर भएको छ । अख्तियारका पूर्व आयुक्त दीप बस्न्यात माथि पनि मुद्या दायर भएको छ ।
तर, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि मुद्या दर्ता भएन । उनीहरु प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदले यो जग्गा प्रकरणमा निर्णय लिएको थियो ।
जग्गा खरिद हात पार्ने व्यवसायी मीनबहादुर गुरुङमाथि पनि मुद्या दायर भएको छ । तर, नेकपा एमालेका नेता विष्णु पौडेलका छोरा र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले उन्मुक्ति पाएका छन् ।