८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

सिन्धु विकास बैंकले पाँचखालको सार्वजनिक जग्गा भोगचलनमा अख्तियारलाई प्रभावमा पार्न खोजेपछि…


August 15, 2023
0
Shares

काभ्रे, ३० साउन । पाँचखालको ३१ रोपनी डेढ आना सार्वजनिक जग्गा योजनावद्ध तरिकाले बैंकमार्फत् हडप्न खोजिएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजूरी परेको छ । तर, अख्तियारले ११५ जना गाउँवासीले उजूरी गरेको विषयलाई तामेलीमा राखेको छ ।

अख्तियारले १२ असारमा उच्च अदालत पाटनलाई पत्र पठाई उजूरी तामेलीमा राख्ने गरी निर्णय भएको जवाफ पठाएको छ । जवाफमा पछि थप प्रमाण फेला परेमा अनुसन्धान गर्ने भनिएको छ ।

बैंकले सार्वजनिक जग्गा व्यक्तिको बनाउनेलाई ऋण दियो । जग्गा हडपेकाहरुले बैंकलाई यो मामलामा पारिदिने योजना बुनेका थिए ।

पाँचखालका स्थानीय सिन्धु विकास बैंक पुगेर सार्वजनिक जग्गा धीतोमा राखेर किन ऋण दिएको भनी प्रश्न गरे । पानीघाट र मृत्यु संस्कार गरिदै आएको जग्गा धीतोमा राखिएको थियो ।

दण्डप्रसाद अधिकारीको नाममा सार्वजनिक जग्गा व्यक्तिको नाममा लगियो । त्यसपछि विभिन्न आठ व्यक्तिका नाममा नामशारी भयो । शिलशिला ट्रेडर्सको नाममा ऋण लिइएको पाइएको छ ।

जग्गा प्रकरणपछि यस विषयमा धेरै विवाद उठ्यो । स्थानीयले सिन्धु विकास बैंकले जग्गा लिलामीमा राखेपछि विरोध जनाए । लिलामी कसैले नसकारेपछि बैंक आफैले सकार्यो । बैंकले अहिले पाटन जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

सार्वजनिक जग्गा हडपेकोमा अदालतमा समेत सेटिङ गरिएको विषयले तरंग नै ल्याएको छ । सिंगो गाउँवासीले नै सार्वजनिक जग्गाको विषय लिएर उत्रिएपनि चार रोपनी जग्गा बेचेर विगतमा घूस दिएर हात पारिएको स्थानीयको भनाई छ ।

अरनिको राजमार्ग सँगैको रणनीतिक महत्वको जग्गा व्यक्तिले पार्न सक्नुमा घूसको खेल नै रहेको खुलेको छ । उनीहरुले मालपोत देखि अदालतसम्म घूसको खेल गरेका थिए । त्यसपछि जग्गा विक्री गर्दै अहिलेको विवाद आइपुगेको छ ।

अख्तियारलाई समेत प्रभावमा पार्न सिन्धु विकास बैंकका अधिकारीहरु सक्रिय भएको खुलेको छ । उजूरी नै तामेलीमा पर्नुले आशंकाहरु जन्माएको छ ।

२०४८ सालमा दण्ड प्रसादले आफ्नो नाममा पारेर विक्री हुँदै गजेन्द्रप्रसाद जोशीको हातमा परेको हो । जोशीले नै शिलशिला ट्रेडर्स कम्पनी खोलेर योजनावद्ध तरिकाले ऋण लिई जग्गामा फसेको रकम निकाल्ने योजना बुनेको थिए । यसमा सिन्धु विकास बैंक सहयोगी बन्यो ।

बैकले पाटन जिल्ला अदालतबाट भोगचलनमा अवरोध नगर्न भनेको छ । अदालतको मानहानीको समेत पत्र ल्याउन सक्यो । तर, कतिपय प्रमाणहरु सार्वजनिक जग्गाकै पक्षमा रहेकाले बैंक अप्ठ्यारोमा परेको छ । अख्तियारले अनुसन्धान गरेपछि अहिले भने तामेलीमा राखिदिएको छ । ११५ जना गाउँलेले उजूरी हालेपनि अख्तियारले यो मुद्या तामेलीमा राखेपछि आशंका उब्जिएको हो ।

प्रतिक्रिया