२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

युद्धशैलीमा प्रचण्डले पारे यी नेतालाई ट्रयापमा


August 11, 2023
0
Shares

काठमाडौं, २६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ३२ सिट ल्याएपनि सत्ताको नेतृत्वमा पुगे । सत्ता जोगाउन भने उनलाई मुश्किल पर्यो । त्यसैले नेताहरुलाई धमाधम ट्रयापमा पार्दै चलमल गर्न नसक्ने बनाइदिएका छन् ।

पछिल्लोपटक प्रचण्डले डा. शेखर कोइरालालाई अप्ठ्यारोमा पारेका छन् । उनीनिकट सांसद सुनिल शर्मा पक्राउ पर्नु शेखरका लागि चुनौती बनेको छ । शर्मालाई नक्कली सर्टिफिकेटमा अनुसन्धानको दायरामा ल्याइएको छ । उनले काँग्रेस सभापति शेरबहादुर देउवानिकट अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सुन तस्करीमा संलग्नताको आरोप लगाउन थालेपछि समातिए । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि पनि शर्मा आक्रामक बनेका थिए ।

प्रचण्डले देउवालाई पनि ट्रयापमा पारिसकेका छन् । प्रधानमन्त्री पाउने निश्चित भइसक्दा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले साहस गर्न सकेनन् । यसको कारण खोजी भइरहेको छ । देउवाले प्रधानमन्त्री बन्ने साहस गर्न नसकेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताइसकेका छन् ।

देउवालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पत्नी आरजु देउवा पक्राउ पर्ने डर छ । यो हुनु भनेको देउवाको राजनीति समाप्त हुनु जस्तै हो । यसकारण उनी प्रचण्डसँग सशंकित छन् । प्रचण्डलाइ प्रधानमन्त्री बनाउन साथ दिएपनि निरिह बनेका छन् उनी यतिबेला । यसको कारण हो प्रचण्ड सरकारले आरजुलाई कारबाही गर्न सक्ने सम्भावना ।

प्रचण्डले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि अप्ठ्यारोमा पारिदिए । बाराबाट उपेन्द्र चुनाव जितेपनि चलमल गर्न नसक्ने बनाइदिएका छन् । उनलाई गौर हत्याकाण्डमा पक्राउ गर्न सक्ने डर देखाइएको छ ।

१७ वर्षअघि भएको गौर हत्याकाण्डको फाइल खुल्ने भएपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तनावमा परेका छन् । २७ जनाको ज्यान गएको उक्त हत्याकाण्डमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवमाथि मुख्य योजनाको आरोप लाग्दै आएको छ ।

७ चैत्र २०६३ मा रौतहटको गौरमा तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताले तत्कालीन नेकपा माओवादीका कार्यकर्तालाई लखेटी लखेटी हत्या गरेका थिए । जसमा उपेन्द्र यादवलगायत नेताहरुमाथि किटानी जाहेरी परेको थियो ।

२८ चैत्र २०६३ मा यादवलगायतमाथि किटानी जाहेरी परेपनि अनुसन्धान अगाडि बढेन । यो घटना सधै राजनीतिक विषय बनाएर थामथुम पारियो । अहिले आएर गौर हत्याकाण्डको छानबिनको माग गदै आएकाहरुलाई सरकारले घटनाको अनुसन्धान गर्ने सहमति गरेको छ ।

मंगलबार गृह मन्त्रालय र गौर हत्याकाण्ड पीडित संघर्ष सहमतिबीच पाँच बुँदे सहमति भएको छ । जसमा जाहेरी दर्ता समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने उल्लेख छ । यो बुँदा उपेन्द्र यादव झस्किएका छन् । अनुसन्धान अगाडि बढेमा यादव पनि छानबिनमा पर्नेछन् । प्रचण्ड नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्रीलगायत उच्चपदस्थ संलग्न मामलाको फाइल खोलिरहेको छ । यसले राजनीतिक तरंग नै ल्याएको छ ।

पछिल्लो समय पूर्वप्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई र माधवकुमार नेपालको बोली बन्द जस्तै छ । उनीहरु कडा अभिव्यक्ति सायदै दिन्छन् । कुनैबेला प्रधानमन्त्रीकै दाबी गर्ने माधव नेपाल अहिले दाबी गर्न छाडेका छन् । बाबुराम त प्रचण्डलाई नै चुनौती दिने बोली बोल्थे । उनी पनि मौन छन् । यसको कारण हो उनीहरुमाथि सीआइबीले चाहेमा पक्राउ गर्न सक्ने अवस्था ।

ललिता निवास प्रकरणमा दुवै नेता मुछिएका छन् । अवस्था यस्तो छ कि उनीहरु कुनैपनि बेला जेल जानसक्छन् । द्दललिता निवास जग्गा प्रकरणमा संलग्न दुवै नेतामाथि छानबिन गर्ने ढोका सर्वोच्च अदालतले खोलिदिएपछि जेल जाने अवस्था सृजना भएको हो ।

सर्वोच्चले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएपछि भट्टराई र नेपालमाथि खतराको बादल मडारिएको हो । यो प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले नीति निमार्तामाथि पनि अनुसन्धान गर्न आदेश दिएको हो ।

माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री निवास विस्तार गर्न भन्दै नक्कली मोहीलाई सरकारी जग्गा सट्टा भर्ना दिने निर्णय गरेको थियो । भट्टराई नेतृत्वको मन्त्रिपरिषद बैठकले अस्तित्वमै नरहेको पशुपति टिकिन्छा गुठीका नाममा ललिता निवासको जग्गा दर्ता गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो ।

ललिता निवास प्रकरणमा चार सय भन्दा बढी अनुसन्धानमा परेका छन् । ती मध्ये मन्त्री, संवैधानिक निकायका पदाधिकारी, सचिव भइसकेकाहरु पनि छन् । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छेदार पनि तारोमा छन् । जग्गा फिर्ता गर्नेहरु जोगिएपनि फिर्ता नगर्नेहरु पक्राउ परेका छन् । यसले राजनीतिमा समेत ठूलै हलचल ल्याएको छ ।

प्रतिक्रिया