२३ भाद्र २०८१, आइतबार | September 8, 2024

यसकारण भएछ दोलखामा मालपोतका कर्मचारीसँग सेवाग्राहीको ठोकाठोक


August 10, 2023
1.7k
Shares

काठमाडौं, २५ साउन । मालपोत भनेपछि पैसा कमाउने अखडा जस्तै भइसकेको छ । मालदार मालपोत अड्डा पुग्न मोटो रकम बुझाउने अनि पुगेपछि मज्जाले कमाऊ धन्दामा लाग्ने त थेगो नै जस्तो छ । यस्तै गतिविधि मालपोत कार्यालय दोलखामा देखिएको छ । सबै कागजपत्र पूरा भइसक्दा पनि काम अल्झाएर कर्मचारीले घूस लिने हेतुले अल्झाएपछि यसै महिना ठूलै लफडा भयो दोलखामा ।

दोलखाका रमेशकुमार थापाले जग्गा विक्री गर्न नपाएको दुःख भोगे । उनीसहित छोरीहरु र पत्नीको संयुक्त दर्ता श्रेस्ता कायम भएकोमा छोरी स्ृमृति थापाले अधिकृत वारेसनामा बनाएर गएकी थिइन् अष्ट्रेलिया ।

बकसपत्रबाट विक्री गर्नका लागि स्मृति नेपाल आउँदा २०७९ पौषको २४ गते अदालतबाट पारित अधिकृत वारेसना बनाइएको थियो । त्यही वारेसनामा लिएर रमेश मालपोतमा गए । तर, मालपोतले कहिले यो भएन त कहिले यो भएन भनी टारिदियो । उनी फेरि दोलखा जिल्ला अदालत गएर वारेसनामा जारी भएको व्यवहोरा खुलाई पत्र लिएर पुगे । साउन ४ गते प्रमाणित पत्र लिएर पुग्दा पनि कर्मचारी जग्गा पास गर्न तयार भएनन् । छोरीलाई विदेशबाट झिकाउनुपर्ने नै जस्तो गरी कुरा गर्न थाले ।

रमेशले कानून व्यवसायीसँग बुझे, जिल्ला अदालत दोलखाका न्यायाधीशसम्म पुगेर भन्दा पनि काम हुनुपर्ने भएन । त्यसपछि उनको कर्मचारीमाथि झगडा भयो । यो घटनाले दोलखामा ठूलै हल्लीखल्ली भयो ।

प्रमाणित र आवश्यक कागजपत्र समेत लिएर पुग्दा काम नभएपछि मालपोत कार्यालयमा हंगामा मच्चाएपछि रमेशलाई प्रहरीले नियन्त्रणमा लियो । तर, कर्मचारीको पनि ठूलै गल्ती भएकाले मिलापत्र गराइयो । उनी काठमाडौं आएर मालपोत विभागका प्रमुखलाई समेत भेटे । सबै प्रमाण पुग्ने देखियो । तर, अझै काम हुँदैन । दोलखाका मालपोत प्रमुख विदेश भ्रमणमा रहेकाले हाललाई कुर्न भनिएको छ ।

रमेश भने आफूसँग घूस माग्ने आँट गर्ने भन्दै पाखुरा सुर्किन छाडेका छैनन् । देशमा सबै डकुमेन्ट पुर्याउँदा पनि फाइल नबढाउने र बढाउनका लागि पैसा नभई नहुने प्रवृत्ति अझै हावी छ । जताततै थिती बिगारिएको छ । अनि सेवाग्राही मारमा परेका छन् ।

प्रतिक्रिया