५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

प्रचण्डले अशोक स्तम्भ बेचेर खालान् ?


0
Shares

काठमाडौं, २१ साउन । प्रचण्ड नेतृत्वको सरकारले गोलीकाण्ड, दोहोरो नागरिकता देखि कालो धन प्रकरणमा मुछिएका ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ । लुम्बिनी जस्तो विश्वकै ध्यान जाने संस्थामा ल्यारक्यालले नियुक्त पाउन ठूलै चलखेल गरेको खुलेको छ । पूर्वराज्यमन्त्री समेत रहेको लामालाई नियुक्त नगर्न प्रचण्डमाथि ठूलै दबाब परेपनि रोक्न सकेनन् ।

लामा गोलीकाण्ड, पासपोर्टकाण्ड देखि कालोधनमा मुछिएर अख्तियारले डामेका व्यक्ति हुन् जसको नागरिकता समेत विवादमा छ । मोटो रकम बुझाएर विगतमा एमाले र माओवादी केन्द्रबाट पटक पटक सांसद बनेका ल्यारक्यालमाथि सार्वजनिक पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको आरोप समेत लागेको थियो । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा २०७३ साल वैशाख ३० गते मुद्या दायर गरेको थियो । तर, २०७३ साल कात्तिक ३० मा सफाइ पाएका थिए ।

लामाको ३० करोडको सम्पत्तिमा २० करोडको मात्रै स्रोत खुलेको थियो । बाँकी सम्पत्ति अवैध देखिएको थियो । त्यतिबेला सांसद रहेका ल्यारक्याल निलम्बनमा परेका थिए । अख्तियारले २०७२ सालमा ल्यारक्यालमाथि अनुसन्धान गर्दा दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकमा रहेको ४१४ नम्बरको लकर पनि सिज गरिएको थियो । सोही वर्षको ३० फागुनमा अख्तियारको टोलीले लकर खोल्दा सुनचाँदी मात्र भेटेन चाइनिज पेस्तोलमा लाग्ने १४ थान गोली समेत भेटेको थियो ।

शक्तिको दुरुपयोग गर्दै अवैध गोली भेटिएपनि ल्यारक्याल उम्कन सफल भएका थिए । उनी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा धरौटीमा छुटेका थिए । ल्यारक्याल काँग्रेस, एमाले हुँदै माओवादी बने । झलनाथ खनाल प्रधानमन्त्री हुँदा अर्थराज्यमन्त्री बनाइयो । यो घटनाले खनाल पनि विवादमा परे । उनको सरकार ७ महिना मात्र टिक्यो ।

ल्यारक्यालको नागरिकता पनि विवादमा प¥यो । उनले फरक फरक नाममा २ वटा नागरिकता लिएको खुल्यो । नक्कली राहदानी बनाएको पनि खुल्यो । भारतीय पासपोर्ट र तिब्बती शरणार्थीको परिचय पत्र समेत लिएको खुल्यो । ११२१५८८ नम्बरको नेपाली र २१२९८१२ नम्बरको भारतीय पासमोर्ट ल्यारक्यालसँग रहेको छ । नेपाली राहदानीमा उनको नाम वाङचुक रिम्पोछे र भारतीय राहदानीमा खेम्पो छिमे छिरिङ रहेको खुल्यो । तिब्बती शरणार्थी परिचयपत्रमा उनको नाम छिमे छिरिङ छ ।

लुम्बिनी शक्तिराष्ट्रहरुको चासोमा परिरहँदा उनले त्यसबाट भरपूर फाइदा लिन खोजेका छन् । आफूलाई भीक्षु भन्ने तर व्यापारिक पृष्ठभूमिका ल्यारक्याललाई नियुक्त गर्दा सरकार नै विवादमा पर्ने भन्दै प्रचण्डलाई बालुवाटारमा पुगेर केही माओवादी नेताहरुले सुझाव दिएपनि कसैको केही लागेन । झलनाथ खनालले प्रधानमन्त्री हुँदा ल्यारक्याललाई अर्थ राज्यमन्त्री नै बनाएका थिए । त्यसपछि उनी राजनीतिक गतिविधिमा अगाडि बढ्न थाले ।

लुम्बिनी विकास कोषमा हरेक वर्ष एक अर्बभन्दा बढीको बजेट विनियोजन हुने गरेको छ । गतवर्ष १ अर्ब १० करोड विनियोजन गरिएको थियो । यसवर्ष ४५ करोड छुट्याइएको छ । तर, विदेशी सहयोगको बाढी आउने भएकाले कोषमा उपाध्यक्ष बन्न ल्यारक्यालले चासो देखाएर सफलता हासिल गरे ।

रोचक त यो छ कि प्रचण्डले कोषको उपाध्यक्ष नियुक्त गरेका ल्यारक्यालले विगतमा उनकै सत्तोसराप गर्दथे । यतिसम्मकी उनले जब जब राजा महाराजा नेताहरु लुम्बिनी विकास कोषमा संलग्न रहेमा पिपलको बोट र अशोक स्तम्भ नै बेचेर खाने डर भएको बताएका । प्रचण्डले अशोक स्तम्भ बेचेर खाने डर भएको टिप्पणी गरेका थिए । माधव नेपाल र झलनाथ खनालप्रति पनि विश्वस्त नभएको बताएका थिए । उनै ल्यारक्याल अहिले प्रचण्डका प्रीय बनेर लुम्बिनी विकास कोषको उपाध्यक्ष बन्नुलाई अर्थपूर्ण मानिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया