६ माघ २०८१, आइतबार | January 19, 2025

काँग्रेसभित्र हिन्दुराष्ट्र देखि वैदिक सनातन राष्ट्रको पक्षमा आवाज बुलन्द


0
Shares

काठमाडौं, ८ साउन । नेपालमा सविधान जारी गर्दा नेपाली काँग्रस नै सरकारको नेतृत्वमा थियो । सविधानमा हिन्दुराष्ट्र हटाएर धर्मनिरपेक्षता राखियो । २०७२ सालको यो कदमविरुद्ध अहिले काँग्रेसभित्रै आवाज बुलन्द हुन थालेको छ ।

यतिबेला संसदमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको बैठकमा धर्मनिरपेक्षता खारेजीको माग उठेको छ । ६ दिनदेखि चलिरहेको केन्द्रीय समिति बैठकमा केही सदस्यहरुले धर्मनिरपेक्षता खारेजीको माग गरेका हुन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले धर्मनिरपेक्ष खारेजीको माग गरेका छन् । उनले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग समेत बैठकमा राखेका छन् । भण्डारीले भने, ‘नेपालको पहिचान भनेकै हिन्दुराष्ट्र हो र धर्मनीरपेक्ष संविधानबाट हटाउन काँग्रेसले नै नेतृत्वदायी भूमिका निभाउनुपर्छ ।’ उनले संघीयताको पनि विकल्प खोज्नुपर्नेमा जोड दिए ।

आफूले संविधान जारी हुँदा पनि धर्मनिरपेक्षता लाद्न खोजिएकोमा विरोध गरेको स्मरण गराए । उनले देशको अस्तित्वका लागि पनि हिन्दुराष्ट्र अनिवार्य भएको बताए ।
केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले पनि हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग राखे । अर्का केन्द्रीय सदस्य भीम पराजुलीले ९४ प्रतिशत ओमकार परिवार रहेको देशमा धर्मनीरपेक्ष स्वीकार्न नसकिने बताए । उनले धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मको पक्षमा काँग्रेस उभिनुपर्ने तर्क राखे ।

काँग्रेस, एमाले, माओवादीलगायत मुख्य दलहरु धर्मनीरपेक्षको पक्षमा उभिएका थिए । पछिल्लो समय ती दलहरुभित्र यसको विरोध बढ्दै गएको छ । माओवादीभित्र समेत हिन्दु राष्ट्रको मुद्या उठ्नुलाई अर्थपूर्ण मानिएको छ ।

नेपालमा २०७८ मा भएको जनगणनाको रिपोर्टमा ८१ प्रतिशत हिन्दु धर्मालम्बी रहेको तथ्यांक छ । पछिल्लो समय हिन्दु राष्ट्रको पक्षमा आवाज बढ्दै गएको छ ।

प्रतिक्रिया