३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्ड सरकार ढाल्ने लगातारको प्रयास यसकारण विफल


0
Shares

काठमाडौं, ६ साउन । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्ने प्रयासहरु लगातार भएपनि सफल हुन सकेको छैन । सत्ता गठबन्धन फुटाएर सरकार परिवर्तनको प्रयास चलिरहेपनि सफल हुन नसकेको हो । यसमा विपक्षी दलका नेता मात्र नभई सत्ता गठबन्धनकै नेता लागेका छन् । तर, प्रचण्डले रणनीतिक चार्तुयताले लगातार विफल बनाइदिए ।

विपक्षी नेकपा एमालेले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरी प्रचण्ड सरकार ढाल्ने प्रयास गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलासा भएको थियो । तर, देउवा त्यसका लागि तयार भएनन् । उनले किन साहस गरेनन् ? चासो बनेको छ । देउवा छैठौं पटक प्रधानमन्त्री बन्न आतुर छन् । उनी अझै डेढ वर्ष कुरेर पालो पर्खने मुडमा त छैनन् । तर, सरकार ढल्ने सामथ्र्य बनाउन सकेनन् ।

शनिवार राजधानीमा बोल्दै पूर्वप्रधानमन्त्री एवं सत्तारुढ घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका छन् । उनले ओलीतर्फ संकेत गर्दै सरकार ढाल्न खोजेको आरोप लगाए । त्यसो त नेपाल स्वयं पनि प्रधानमन्त्री बन्न आतुर छन् । उनी अबको डेढ वर्षपछि कम्तिमा एक वर्ष प्रधानमन्त्री बन्ने चर्चा छ । यो आलोपालो प्रधानमन्त्रीको भद्र सहमति पालना भएमा मात्र सम्भव हुन्छ । तर, त्यो सजिलो छैन ।

प्रचण्ड सरकारले भ्रष्टाचार र ठूला आर्थिक अपराधका फाइल खोल्न थालेपछि विपक्षी एमाले रक्षात्मक बनेको छ । उसका नेताहरु धमाधम कारबाहीमा परिरहेका छन् । नेपाली काँग्रेसभित्रको एउटा समूह पनि सरकारको विकल्प खोज्नुपर्ने पक्षमा छ ।

प्रचण्डको विवादास्पद अभिव्यक्तिलाई लिएर एमालेले जून महिनामा राजीनामा मागेको थियो । एमालेले काँग्रेसलाई सरकारको नेतृत्वका लागि प्रस्ताव पनि गरेको थियो । तर, काँग्रेस प्रचण्डकै पक्षमा उभियो । त्यसले सरकार ढाल्ने प्रयास विफल भयो ।

गत वर्षको मंसिरमा भएको चुनावमा तेस्रो ठूलो दल बनेको थियो नेकपा माओवादी केन्द्र । उसका नेता प्रचण्ड पौषमा प्रधानमन्त्री बनेका थिए । उनी सात महिना प्रधानमन्त्री बनिसकेका छन् । त्यसबीच सरकार ढाल्ने प्रयासहरु निरन्तर चलिरहेका छन् । तर, रणनीतिक चार्तुयताले प्रचण्ड सरकार बचाउन सफल भइरहेका छन् ।

प्रतिक्रिया