२३ भाद्र २०८१, आइतबार | September 8, 2024

‘‘खड्काकी छोरी भएर कामीको छोरासँग जाने अनि ठूला कुरा गर्ने ?’’


0
Shares

काठमाडौं, ३ असार । अन्तरजातीय विवाह गरेका कैलालीका एक दम्पतीले माईती पक्षबाट निरन्तर दवाब आएको बताएका छन् ।

कैलालीका सुरेश विश्वकर्मा र सरस्वती खड्काबीच छ महिनाअघि भागी विवाह भएको थियो । विद्यालय पढ्दादेखि नै आफूहरुले एक–अर्कालाई मन पराउने गरेको र घरपरिवारको सल्लाहमा विवाह सम्भव नभएपछि भागी विवाह गरेको उनीहरुले सुनाए ।

राजधानीमा पत्रकार सम्मेलन गर्दै सरस्वती र सुरेशले भागी विवाहपछि आफूहरुमाथि निरन्तर माइती पक्षबाट शारीरिक र मानसिक यातना दिने काम भएको बताएका हुन् । बाबुले सुरेशलाई पशुपतिको जंगलमा लगेर कुटपिट गरेको सरस्वतीले बताईन् ।

स्नातक तहमा अध्ययन गरिरहेकी सरस्वतीले परीक्षा दिन जाँदा भागी विवाहपछि पहिलो पल्ट आरआर कलेजको गेटमा आफ्नो बाबुलाई भेटाएको स्मरण गरिन् । त्यसपछि बाबुले सञ्चो विसञ्चो सोधेको र गलत निर्णय लियौ भनेर सम्झाएको उनको भनाई छ । त्यसपछि बाबुले कोठामा लिएर गएको र सरसल्लाहको लागि सुरेशलाई पनि बोलाउन भनेको उनले बताईन् ।

त्यसपछि उनले सुरेशलाई पनि सरसल्लाहको लागि बोलाईन् । भक्तपुर बस्ने सुरेश पनि आएपछि बाबुले कुराकानीकै क्रममा हिँड्दैगर्दा पशुपतिको जंगलतिर लगेको उनले बताईन् । पशुपतिमाथिको जंगलमा लगेर सुरेशलाई भाई र बाबु भएर कुटपिट गरेको सरस्वतीको आरोप छ । केटा दलित भएकै कारण कुटपिट गरेको सरस्वतीले बताईन् ।

‘कुराकानीकै क्रममा बुवाले मिठो मिठो कुरा गर्दै हिड्दैहिँड्दै पशुपतिको माथिको जंगलतीर लानुभयो । जब जंगलकोबीचमा पुगेपछि मेरो भाई र बुवा भएर मेरो श्रीमानलाई हातपात गर्नुभयो । सबै कुरा मिलाउँछु र तिमीहरुले जे गरेपनि ठिकै छ, जे नहुनु थियो, गरिहाल्यौ भन्दै सम्झाएको मान्छेले एक्कासी जंगलकोबीचमा लगेर कुटपिट गर्न थालेपछि म चिच्चाएँ,’– उनले भनिन् ।

कुटपिटको घटनापछि आफूहरु असार २६ गते गौसला प्रहरी चौकीमा उजुरी लिएर गएको उनले बताईन् । उनले गौशाला प्रहरीमा गएर राजीखुशीले अन्तरजातीय विवाह भएको र विवाह गरेकै कारण श्रीमानमाथि बाबु र भाईबाट कुटपिट भएको सुनाएको बताईन् । उनले आफ्नो पीडा सुनाएपछि प्रहरीले उल्टो ‘खड्काकी छोरी भएर कामीको छोरासँग जाने अनि ठूला कुरा गर्ने ?’ भन्दै थर्काएको बताईन् ।
भागी विवाहपछि माईती पक्षले कालोपुलको मच्छेगाउँ प्रहरीमा हराएको उजुरी दिएकाले गौसला प्रहरीले अपमानजनक व्यवहारपछि त्यहाँ पठाएको उनले बताईन् । मच्छेगाउँ प्रहरीले सहयोग गर्नुको साटो झन् टर्चर दिएर बिनाकारण एक रात थुनामा राखेको उनले बताईन् । साथै, सुरेशको परिवारमा पनि माईती पक्षले निरन्तर टर्चर दिएको उनीहरुको अरोप छ ।

माईती पक्षले बारम्बार धम्की दिने र कोठामा गएरै तालाचावी फोड्नेसम्मको हर्कतपछि अहिले गाउँकै भाई पर्नेको कोठामा शरण लिएर बसेको सरस्वतीले बताईन् । सरस्वतीले आफू र आफ्नो श्रीमानलाई सुरक्षित बाँच्न पाउने वातावरण मिलाईदिन सरोकारवालासमक्ष आग्रह गरेकी छन् ।

गौसला प्रहरी, माली गाउँ र जगाती प्रहरी कार्यालयले आफूहरुलाई उजुरी लिएर जाँदापनि उल्टै हिनताबोध हुने कुरा गरेर पठाएको उनको आरोप छ । कानुनमा अन्तरजातीय विवाहमा विभेद नभएपनि आफूहरुले प्रहरी प्रशासनबाट समेत विभेद सहन परेको उनीहरुको गुनासो छ ।

‘समस्या पर्दा प्रहरीहरुले सहयोग गर्छन्, प्रहरीकोमा जानुपर्छ भन्ने हाम्रो मनमा धारणा हुन्छ । तिमीलाई अलिकति पनि लाज लाग्दैन ? तिमी मेरो प्रेमी हो, मैले विवाह गरेर आएँ भन्दैछौं तर तिम्रो एकछिनको रोमान्समात्रै हो । जिन्दगी चल्दैन भनेर मलाई भन्नुभयो,’– उनले भने ।

दलितका लागि दलित अभियानका प्रकाश विकले अन्तरजातीय विवाह पनि सामन्य प्रक्रिया हो भन्ने सन्देश दिन आवश्यक रहेको बताए । जातीय आधारमा हुने विभेदलाई सञ्चार माध्यमहरुले पनि प्राथमिकता दिनपर्ने उनको भनाई छ । जातीय विभेद उन्मुलनका लागि सुरेश र सरस्वती सकारात्मक पात्र भएको उनको दाबी छ ।

दलितका लागि दलित अभियानका राजु सुनुवारले समाजले कोल्टे फेरिसक्दा पनि जातीय समस्या जस्ताको तस्तै रहेको बताए । दुर्गम वस्तीमामात्रै भएर काठमाडौंमा समेत जातीय विभेदको हैरानी खेप्नुपरेको उनको भनाई छ । जातीय नरसंहार निम्त्याउने प्रयास कसैले पनि गर्न नहुने बताए । जातीय विभेदमा राज्य संयन्त्र काहीँ पनि नदेखिएको उनको आरोप छ ।

प्रतिक्रिया