२३ भाद्र २०८१, आइतबार | September 8, 2024

चिनियाँ अधिकारीहरु धमाधम नेपाल आउँदै बीआरआई लागू भइसक्यो भन्दै


0
Shares

काठमाडौं, २९ असार । नेपालले चीनको बेल्ट एण्ड रोड इनिशिएटिभ (बीआरआई) कार्यान्वयन नभइसकेको बताएपनि चिनियाँ पक्षले भने यसको कार्यान्वयन भइसकेको बताउँदै आएको छ । उसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देखाउँदै बीआरआई कार्यान्वयन भइसकेको बताउने गरेको छ ।

चीनका अधिकारीहरु नेपाल आएर बीआरआई कार्यान्वयन भइसकेको सन्देश दिइरहेका छन् । नेपाल भ्रमणमा रहेको चिनियाँ अधिकारीको टोलीले बीआरआईका माध्यमबाट नेपाल चीन सम्बन्ध नयाँ चरणमा प्रवेश गरिरहेको बतायो ।

चिनियाँ अन्तर्राष्ट्रिय विभागका काउन्सलर तु सओलिनले बीआरआईले नेपाल र चीनको सम्बन्धलाई नयाँ चरणमा प्रवेश गरेको बताएका हुन् । बिहिवार भक्तपुरमा आयोजित कार्यक्रममा उनले बीआरआईको प्रभावकारितामा पनि जोड दिए । उनले नेपालको राजनीतिक दलहरुसँग चीनले सहयोग र सहकार्यलाई अझ बढाउन चाहेको बताए ।

परराष्ट्रमन्त्री एनपी साउदले संसदमा बिहिवार नै बीआरआई कार्यान्वयनमा नआइसकेको स्पष्ट पारेका थिए । तर, चिनियाँ अधिकारीहरु नेपाल भ्रमणमा रहेर बीआरआई कार्यान्वयनमा आइसकेको बोल्न पछि परेनन् ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले बीआरआई कार्यान्वयनमा आइसकेको बताउने गरेका छन् । नेपालबाट चीन भ्रमणमा जाने अधिकारीहरुलाई पनि उसले बीआरआईकै विषयमा दबाब दिने गरेको छ ।

चीनले बीआरआई १० वर्ष पूरा भएको अवसरमा नेपालमा पनि कार्यक्रम आयोजना गरेको छ । यसका लागि चीनबाट अन्तर्राष्ट्रिय विभागका काउन्सलरसहितको टोली नेपाल भ्रमणमा छ ।

नेपालले बीआरआई अनुदान भए मात्र स्वीकार्ने प्रष्ट पारेको छ । तर, चीनले अनुदान दिन अस्वीकार गरेको छ ।

प्रतिक्रिया