१२ पुस २०८१, शुक्रबार | December 27, 2024

विश्व बैंकको कालोसूचीमा परेको ट्रयाकटेबल इन्जिनियरिङलाई माथिल्लो अरुणमा परामर्शदाता छनोट गर्न चलखेल


0
Shares

काठमाडौं, ७ असार । विश्व बैंकको कालो सूचीमा परेको कम्पनी ट्रयाकटेबल इन्जिनियरिङलाई माथिल्लो अरुण जलविद्युत आयोजनाको परामर्शदाता छनोट गर्ने प्रयास चलेको छ । यसका लागि मोटो कमिशनको लोभ देखाउँदै एउटा समूह सक्रिय भएको छ ।

एक हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनामा परामर्शदाता छनोटमा चारवटा कम्पनीले ठेक्कामा प्रतिष्पर्धा गरेकोमा कालोसूचीमा परेको ट्रयाकटेबल इन्जिनियरिङ पनि रहेको खुलेको हो । बेल्जियम मुकाम रहेको ट्रयाकटेबल इन्जिनियरिङ विश्व बैंकको कालो सूचीमा छ । उसले विश्व बैंकको लगानी भएको कुनैपनि आयोजनामा काम गर्न पाउँदैन ।

विश्वस्त स्रोतका अनुसार ट्रयाकटेबल इन्जिनियरिङले शक्तिकेन्द्रमा आफ्ना मान्छे पठाएर परामर्शदाता छनोट हुन कमिशनको चलखेल चलाएको छ । जब कि उक्त कम्पनी कतिपय देशमा सदाका लागि प्रतिबन्धमा परेको छ । यही कम्पनी परामर्शदाता छनोट भएमा आयोजना ढिलो मात्र नभई संकटमै पर्न सक्छ ।

ट्रयाकटेबल इन्जिनियरिङ भ्रष्टाचारजन्य गतिविधिमा पनि संलग्न कम्पनी हो । उसले कमिशनको खेलमा परामर्शदाता छनोट हुने र भ्रष्टाचारजन्य गतिविधि गर्ने गरेको खुलेको छ । इन्टर अमेरिकन डेभलपमेन्ट बैंक (आइडीबी) ले ट्रयाकटेबल इन्जिनियरिङलाई सन् २०२१ मा अनियमितता र भ्रष्टाचारको अभियोगमा ४६ महिनासम्म कुनैपनि ठेक्कासम्बन्धी गतिविधिमा संलग्न हुनबाट रोक लगाएको छ । हैटीको ट्रान्समिसन लाइन पुर्ननिर्माणको १३ लाख ५० हजार यूरोको ठेक्कामा भ्रष्टाचारको संलग्नता ठहरिएको थियो । त्यसपछि ट्रयाकटेबल इन्जिनियरिङ एस.ए. २३ डिसेम्बर २०२१ देखि २८ सेप्टेम्बर २०२५ सम्म कुनैपनि ठेक्कासम्बन्धी गतिविधिमा संलग्न हुन नपाउने गरी कालो सूचीमा परेको छ ।

भारतमा ट्रयाकटेबल इन्जिनियरिङ सदाका लागि प्रतिबन्धित भइसकेको छ । उसले कार्य प्रगतिको गलत विवरण पेश गरेको पाइएपछि सीबीआइले नै छानविन गरेर सदाका लागि प्रतिबन्ध लगाउन त्यहाँको ग्रामिण जलविद्युत कर्पोरेशन आरइसीलाई निर्देशन दिएको थियो । त्यसपछि सदाका लागि प्रतिबन्धित उक्त कम्पनी अदालत पुगेपनि उसको विपक्षमा फैसला आयो । सन् २०२२ यता उक्त कम्पनी भारत छिर्न नपाउने गरी निष्काशित भएको छ । यसरी उक्त कम्पनी विश्वका धेरै देश र संस्थाहरुबाट प्रतिबन्धित भइसकेको छ ।

एशियाशी विकास बैंक एडीबीले पनि ट्रयाकटेबल इन्जिनियरिङलाई सन् २०२२ यता प्रतिबन्ध लगाएको छ । एशिएन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंकले पनि ट्रयाकटेबल इन्जिनियरिङलाई सन् २०२७ को सेप्टेम्बर २८ सम्म प्रतिबन्ध लगाएको छ । अब उसले उक्त बैंकसम्बन्धी कुनैपनि परियोजनामा सहभागिता जनाउन पाउँदैन । सँसारका मुख्य बैंकहरुले प्रतिबन्ध लगाएपनि कम्पनी कमिशनको चलखेल गर्दै विकासशील देशहरुमा घुस्ने गरेको छ । उसको आँखा नेपालमा समेत परेको छ ।

सँसारका धेरै देशहरुमा प्रतिबन्ध लागेको परामर्शदाता कम्पनीलाई नेपालमा भने छनोट गर्न खोजिनुलाई गम्भीरताका साथ लिइएको छ । यसका पछाडि ठूलै स्वार्थी समूहको भूमिका रहेको बुझिएको छ । ५ अर्ब नेपाली रुपैयाँभन्दा बढीको परामर्शदाता छनोटको ठेक्कामा कमिशनको लोभले देशको गौरवशाली आयोजना नै संकटमा पर्न सक्ने देखिएको छ । यसरी नै परामर्शदाता कमिशनको खेलमा छनोट गर्दा माथिल्लो तामाकोशीमा ढिलाई भएको थियो । नेपाली सेनाले निर्माणको जिम्मा लिएको फाष्ट ट्रयाकको हालत पनि त्यस्तै छ ।

ट्रयाकटेबल इन्जिनियरिङले भारत, हैटीलगायत विभिन्न देशमा काम गर्न नसकेको र बिगारेको तथ्यहरु उजागर छन् । हैटीमा उसले यसरी नै कमिशनको खेल खेलेको तथ्य उजागर भएपछि अमेरिकी इन्टर डेभलभमेन्ट बैंकले कालोसूचीमा राखिदिएको छ ।

माथिल्लो अरुण आयोजना निर्माणका लागि परामर्शदाता छनोटका लागि १ डिसेम्बर २०२२ मा ग्लोबल टेन्डर आव्हान भएको थियो । २२ मार्च २०२३ मा टेन्डर दर्ताको समय सकिएको छ । प्रारम्भिक छनोटको प्रक्रिया बढ्दा ट्रयाकटेबल इन्जिनियरिङले कालो सूचीमा परेको तथ्यहरु लुकाउन खोजिएको छ । तर, उसका कतिपय कामहरु विवादमा पर्दा प्रतिबन्धित हुनुले सरकारी अधिकारीहरुमाथि माथिल्लो अरुणको परामर्शदाता छनोटमा चुनौती थपिएको छ ।

प्रतिक्रिया