१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बुढानीलकण्ठ धर्मशालाको उद्घाटन


0
Shares

काठमाडौं, २१ असार । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बुढानीलकण्ठ धर्मशाला (अतिथि गृह) को उद्घाटन गरेका छन् । उनले बुधवार बुढानीलकण्ठ नगरपालिका–३ मा निर्मित धर्मशालाको उद्घाटन गरेका हुन् ।

उद्घाटनका अवसरमा बुढानीलकण्ठ मन्दिरका मठाधिस स्वामी निगमानन्द, प्रतिनिधिसभा सदस्यहरु गगन कुमार थापा र प्रदिप पौडेल, भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव, गुठी संस्थानका प्रमुख डा. शिवराज पण्डित, बुढानीलकण्ठ मन्दिर समितिका प्रतिनिधि तथा नेपाल सरकारका र भारतीय राजदूतावासका पदाधिकारी उपस्थित थिए ।

भारत सरकारको ५ करोड नेपाली रुपैयाँ अनुदान सहयोगमा सो धर्मशालाको निर्माण भएको हो । नेपालको सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको भारतीय राजदूतावासले जनाएको छ ।

२०७२ सालको भूकम्पले क्षति पुर्याएका सम्पदाहरुको संरक्षण एवम् पुनर्निर्माणका लागि पुरातत्व विभागले तयार पारेको आधारभूत निर्देशिका बमोजिम बुढानीलकण्ठ मन्दिरको पुनर्निर्माण भएको हो । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) र शहरी विकास तथा भवन निर्माण विभागले यस परियोजनाको कार्यान्वयन गरेको हो ।

नवनिर्मित साँढे तीन तल्ले धर्मशालाले बुढानीलकण्ठ मन्दिरमा आउने हजारौं तीर्थयात्रीलाई सेवा दिने जनाइएको छ ।

देशको पवित्र साँस्कृतिक एवम् धार्मिक स्थलहरुमध्येकै एक मानिने बुढानीलकण्ठ मन्दिरको ठूलो महत्व रहेको छ ।

यस परियोजनाले नेपालसँग भारतको लामो समयदेखि रहिआएको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै नेपालमा भूकम्पपछिको पुनर्निर्माण कार्यमा नेपाल सरकारले गरेको प्रयासको कदर गर्ने विश्वास भारत सरकारले गरेको छ ।

उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति यादवले भूकम्पपछिको पुनर्निर्माणमा भारत सरकारले पुर्याएको सहयोगको सराहना गरे ।

भारत सरकारले नेपालको सातवटा जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको संरक्षण गर्ने प्रविबद्धता गरेको छ । यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५०,००० वटा निजी घर पुनर्निर्माण, आठ जिल्लामा ७१ वटा शैक्षिक संस्था र १० जिल्लामा १३२ वटा स्वास्थ्य सुविधा पुनर्निर्माणका लागि सहयोग प्रदान गरेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया