२३ भाद्र २०८१, आइतबार | September 8, 2024

‘भारतले प्रधानमन्त्री बनाइदिएको’ भन्दै एमालेद्वारा प्रचण्डको राजीनामा


0
Shares

काठमाडौं, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी नेकपा एमालेले राजीनामा मागेको छ । बुधवार राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रचडले तत्काल राजीनामा दिनुपर्ने माग गरे । प्रचण्डलाई भारतको इशारामा प्रधानमन्त्री बनेको आरोप लगाउँदै तत्काल राजीनामा दिन भनेका हुन् ।

‘भारतको इशारामा, भारतको नेतृत्वमा र भारतको संयोजनमा भएको प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन,’ प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न दिदैनौं, देवेन्द्र दाहालले भने ।

आजै विहान बसेको नेकपा एमाले एमाले संसदीय दलको बैठकले प्रचण्डले प्रधानमन्त्री पदमा बस्ने आधार गुमाएको निष्कर्ष निकालेको छ ।

प्रचण्डले सोमवार लेखक किरणदीप सिन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल’ को विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंहले खेलेको भूमिकाको व्याख्या गरेका थिए । उनले प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउनका लागि कहिले दिल्ली जाने गरेको त कहिले नेपालका मुख्य दलका नेताहरुसँग छलफल गर्ने गरेको अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी यूनीयनको कार्यक्रममा आज बोल्दै आफूले उक्त अभिव्यक्ति दिएको स्वीकारेका छन् । तर, यो विषयलाई लिएर बबण्डर मच्चाउन खोजिएको बताए । उनले विपक्षीको चुनौती सामना गर्ने बताए ।

प्रितम सिंह नेपालमा पहिलोपटक ट्रक ल्याउने शिख समुदायका हुन् । उनको बारेमा पुस्तक प्रकाशित भएको छ ।

प्रतिक्रिया