१० माघ २०८१, बिहिबार | January 23, 2025

प्रचण्ड र बाबुराम भट्टराईलाइ ‘युद्ध अपराध’ को बात लाग्न सक्ने


0
Shares

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई विगतमा मच्चाएको हिंसाले सताइरहेको छ । हिंसा अन्त भएको १७ वर्ष बितिसकेको छ तर त्यसको परिणामहरु दुवैका लागि घातक बन्न सक्ने देखिन्छ ।

प्रचण्ड र बाबुरामविरुद्ध युद्ध अपराध गरेको भन्दै रिट निवेदन दर्ता भएको छ । आज आइतवार उनीहरुविरुद्ध माओवादीका पूर्व बाल लडाकु लेनिन बिष्टले दायर गरेको रिट दर्ता भएको हो ।

प्रचण्ड र बाबुरामविरुद्ध दर्ता भएको रिटमा बिष्टले बालसेनाका रुपमा प्रयोग गरी युद्ध अपराध गरेको आराप लगाएका छन् ।

प्रचण्ड नेतृत्वको माओवादीले सशस्त्र गतिविधिका बेलामा ठूलो संख्यामा बाल सैनिक प्रयोग गरेको रिटमा भनिएको छ ।

सर्वोच्च अदालतले यसअघि दरपीठ गरेको रिट २६ जेठमा फेरि अर्को आदेश जारी गरी दर्ता गर्न भनेको हो । बिष्टले बालसैनिक भएकै आधारमा लडाकु शिविरबाट अयोग्य घोषित गरी निकालिएको रिटमा उल्लेख गरेका छन् ।

लेनिन बिष्ट बर्हिगमित जनमुक्ति सेना, नेपालका अध्यक्ष हुन् । बिष्टले सशस्त्र द्वन्द्वकालमा माओवादीले २०५९ मा आफूलाई सैन्य भर्ती गर्दा १३ वर्ष मात्र भएको उल्लेख गरेका छन् । संयुक्तराष्ट्रसंघीय नेपालस्थित मिसनको भेरिफिकेशनले २९७३ जनालाई बाल सैन्यको रुपमा सूचीकृत गरेको थियो ।

नेपालमा २०६३ सालमा माओवादी सशस्त्र गतिविधि अन्त भएको थियो । शान्ति प्रक्रियाका दौरान माओवादी लडाकुको समायोजन हुँदा अनमिनले बालसैनिकलाई अयोग्य घोषित गरेको थियो । जसका कारण बालसैनिकको प्रयोगको विषय उठ्दै आएको छ ।

प्रतिक्रिया