३ आश्विन २०८१, बिहिबार | September 19, 2024

१५ मुर्रा राँगाबाट वार्षिक डेढ लाख वीर्य उत्पादनको लक्ष्य


0
Shares

काठमाडौं, २४ जेठ । १५ राँगाबाट वार्षिक डेढ लाख डोज वीर्य उत्पादन सम्भव छ । त्यसबाट कम्तिमा वार्षिक डेढ लाख भैंसीको गर्भधारणको लक्ष्य । नेपालले भारत सरकारबाट सहयोगस्वरुप प्राप्त हुने १५ वटा मुर्रा जातका राँगाबाट वार्षिक कम्तिमा एक लाख भैंसीमा कृत्रिम गर्भाधान गराइने लक्ष्य राखेको छ ।

मुर्रा राँगाबाट भैंसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत् भैंसीको दूध उत्पादनमा वृद्धि हुने आशा राखिएको छ ।

कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले १५ वटा मुर्रा जातका राँगाहरुबाट ३ वर्ष पश्चात वार्षिक कम्तिमा डेढ लाख डोज वीर्य उत्पादन हुने बताए । उत्पादिन मुर्रा जातका राँगाको वीर्यबाट कम्तीमा एक लाख भैंसीमा कृत्तिम गर्भाधान गराई नश्ल सुधारमार्फत् जन्मने भैंसीबाट दूध उत्पादनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको जनाए ।
भारतले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका दौरान मुर्रा जातको राँगा निशुल्क उपलब्ध गराउने घोषणा गरेको थियो ।

नेपालको कृषि मन्त्रालयले निःशुल्क उपलब्ध हुने मुराई राँगाको प्राविधिक पक्ष निरीक्षणका लागि विज्ञ एवं प्राविधिकहरु छिट्टै भारतस्थित सम्बन्धित सरकारी फार्ममा जाने तयारी भइसकेको जानकारी दियो । प्राविधिक पक्ष टुंगिएपश्चात भारतले भन्सार नाकासम्म मुर्रा जातका राँगा ल्याइदिने कृषि मन्त्रालयका प्रवक्ता सन्जेलले बताए ।

मुर्रा जातका राँगाहरुलाई नेपालको पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालयहरुमा व्यवस्थापन गरी उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी कृषकलाई कृत्रिम गर्भाधानका लागि उपलब्ध गराइने जनाइएको छ ।

नेपालले २०७५ मा ३० वटा मुर्रा जातका राँगा उपलब्ध गराउन भारतसँग अनुरोध गरेको थियो । २०७८ मा औपचारिक रुपमा मुर्रा राँगा माग गरिएको थियो । २० जेठ २०८० भारतले मुर्रा राँगा निशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रतिक्रिया