९ श्रावण २०८१, बुधबार | July 24, 2024

दरबार हत्याकाण्डको रहस्य कहिले खुल्ला ?


0
Shares

काठमाडौं, १९ जेठ । राजा वीरेन्द्र शाहको वंशनास भएको आज २२ वर्ष पूरा भएको छ । राजपरिवारको जमघट हुने त्रिभुवन सदनभित्रको बिलियार्ड बैठकको चर्चित दरबार हत्याकाण्डको रहस्य हालसम्म गर्भमै छ । २०५८ साल जेठ १९ गते शुक्रबार राति भएको दरबार हत्याकाण्ड कसले, किन र कसरी ग¥यो भन्ने विषयको उत्तर हालसम्म पाइएको छैन ।

पारिवारिक जमघट भइरहेका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराजधिराज दीपेन्द्र, अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजन, वीरेन्द्रका भाइ अधिराजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यको गोली प्रहार गरी हत्या भएको थियो ।

सो घटना तत्कालीन युवराज दीपेन्द्रले घटाएको भनिएको छ । सपरिवारको हत्या गरी आफैंले गोली हानेर आत्महत्या गरेको सरकारी भनाइ थियो ।तत्कालीन प्रधानन्यायाधीसको संयोजकत्वमा गठित समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सभामुख तारानाथ रानाभाटले दरबार हत्याकाण्ड अधिराजकुमार दीपेन्द्रले गरेको बताउनुभएको थियो ।

तर, एक जनाले आफ्नो परिवारलाई मात्रै हत्या गरेका हुन, वा होइनन् भन्ने विषय अहिलेसम्म खोजीमै छ । हरेक सरकारले सत्ताको वागडोर सम्हाल्दा दरबार हत्याकाण्डको छानबिन गर्ने उद्घोष गर्ने गरेका छन् । दुईदशक बितिसक्दा पनि सो विषयमा छानबिन भएको छैन । हत्याकाण्डको छानबिन हुन नसकेपनि सो घटना भएको त्रिभुवन सदन सर्वसाधारणले अवलोकन गर्न पाएका छन् ।

२०६५ जेठ २९ गते पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी छाडेर नागार्जुन पुगेपछि राजपरिवारको कार्यालय र निजी घरको रूपमा रहेको नारायणहिटी सरकारले जिम्मा लिएको थियो । लगत्तै त्रिभुवन दरबार हत्याकाण्ड भएको स्थान त्रिभुवन सदन शुरूकै शैलीमा निर्माण गर्ने विषयमा छलफल भएको थियो ।

२०६५ फागुन १५ बाट सरकारले नारायणहिटी संग्रहालय सर्वसाधारणको लागि खुला गरेको थियो । ‘त्यसको करिब ७ वर्षपछि त्रिभुवन सदनको बिलियार्ड बैठकहललगायत अधिकांश संरचना निर्माण भएर सर्वसाधारणको लागि खुला गरिसकेको छ । तत्कालीन राजा ज्ञानेन्द्रले दरबार हत्याकाण्ड भएको १ वर्षपछि २०५९ साल असारमा हत्याकाकाण्ड भएको त्रिभुवन सदन भत्काउन लगाउनुभएको थियो ।

त्रिभुवन सदन भत्काएपछि त्यहाँको इँट्टालगायतका भवनमा प्रयोग हुने सामग्री फरास खानामा खाल्डो खनेर पुर्न लगाएका थिए । तत्कालीन युवराज स्वर्गीय दीपेन्द्रको खाट र मेट्रेसलगायत केही कपडा जलाइएको थियो । अन्य सामग्री नारायणहिटीको विभिन्न कक्षमा ज्ञानेन्द्रले नै राख्न आदेश दिनुभएको थियो ।

त्रिभुवन सदनको विलियार्ड हलमा हत्याकाण्ड हँुदा बिच्छ्याइएको गलंैचामा रगत लत्पतिएका कारण सो गलैंचा स्टोरमै राख्न लगाइएको थियो । त्रिभुवन सदनमा रहेका २ सेट हरियो र हिमाल आकारको ३ सेट सोफा, बार दराज सिराहा बैठककक्षमा राखिएको थियो ।

दरबार हत्याकाण्ड भएलगत्तै डाइनिङ टेबलमा यत्रतत्र खानेकुरा छरिएका थिए । हाल हत्याकाण्ड हँुदा त्रिभुवन सदनमा राखिएका सामग्री केही कक्षमा रहेका छन् । त्रिभुवन सदनको बिलियार्ड हलमा हुँदा वीरेन्द्र, ऐश्वर्य, निराजन, श्रुति, शान्ति, सारदा र जयन्तीलाई गोली लागेको थियो । दीपेन्द्रले गोली हानेको सो बिलियार्डहलको डाइनिङमा पूर्वयुवराज पारस रहेका थिए ।

त्रिभुवन सदनसँगै राजा वीरेन्द्र र उहाँको परिवारको निजी निवास ‘श्रीसदन’ खुला भइसकेको छ । दरबार हत्याकाण्ड भएको १७ वर्षपछि त्रिभुवन सदन र श्रीपेचसमेत सर्वसाधारणको लागि खुला गरिएको थियो । त्यसको ३ वर्षपछि श्रीसदन खुला गरिएको थियो । २०७७ साल मंसिर ७ गते श्रीसदन खुला भएको नारायणहिटी संग्रहालय विकास समितिका प्रवक्ता पुरुषोत्तम थापाले बताउनुभयो । उहाँका अनुसार श्रीसदन खुलेको २ दिन मंसिर ९ गतबाट संग्रहालयभित्रको गणतन्त्र स्मारक खुला गरिएको हो ।

प्रकृतिप्रेमी राजा वीरेन्द्रले आफू बस्ने भवन श्रीसदनलाई कहिल्यै रङरोगन गर्नुभएन । सिमेन्ट प्लास्टर मात्र गरिएको सो दरबार कलात्मक छ । कलात्मक प्रवेशद्वारमा ठुलो घण्ट राखिएको छ । तत्कालीन राजा महेन्द्रले छोरा वीरेन्द्रको निजी प्रयोगका लागि निर्माण भएको श्रीसदन वीरेन्द्रलाई युवराजधिराज घोषणा गरिएको दिन सारिएको थियो ।

श्री सदनमा अझै पनि राजा वीरेन्द्रको निजी कोठाको काठको दराजमा आफ्नो सैनिक पोसाक र बुट थन्किएको छ । वाथरुममा उहाँले प्रयोग गर्ने सामग्री सजाइएको छ । स्वर्गीय रानी ऐश्वर्याको पूजाकोठामा देवताको मूर्ति सजाइएको छ, तेस्रो तलाको भ¥याङ उक्लिनासाथ प्यासेजमा पूर्व अधिराजकुमारी श्रुतिले तयार पारेको पेन्टिङ छ । निराजनको कोठामा पढाइको रुटिन राखिएको छ ।

स्वर्गीय राजा वीरेन्द्र, ऐश्वर्या, श्रुति र निराजनको सबैको वाथरुम, शृङ्गार कोठा सबैले छुट्टाछुट्टै प्रयोग गर्ने सबै सामग्री सजाएर राखिएको छ । गजलमा विशेष चाख राख्ने ऐश्वर्याको कोठामा अधिकांश हिन्दी र उर्दु भाषाका क्यासेट देखिन्छन् । उहाँको गहना राख्ने सेफ रहेको कोठामा खाली सेफ छ गहना छैनन् । व्यायाम कक्षमा निराजनको जिमको सामान मिलाइएर राखिएको छ । श्रृति र निराजनको सवारीसाधन सर्वसाधारणको लागि खुला भइसकेको छ ।

‘स्वर्गीय राजा वीरेन्द्रको घर मात्रै होइन ७ सय ५३ रोपनी क्षेत्रफल ओगटेको नारायणहिटी दरबार संग्रहालयपरिसरमा सबै बगैंचा, पोखरी, काठमिल र गोदाम, घोडातबेला, फरासखाना, झिलपोखरी, बगैंचालगायत सबै संरचना अवलोकनका लागि तयार गरिरहेका छौं’ –संग्रहालयका प्रमुख डा। सुरेश सुरस श्रेष्ठले बताउनुभयो । हाल संग्रहालयको ३१ वटा कक्ष खुलेको छ ।

श्रीपेच, बग्गी, सवारी साधन हेलिकोप्टरलगायत राजा वीरेन्द्र र उहाको परिवारले प्रयोग गरेको अधिकांश सामग्री खवलोकन गर्न खुला गरिसकेको संग्रहालय प्रशासनले जनाएको छ ।

विसं २०६५ फागुन १५ देखि नारायणहिटी दरबार संग्रहालयको रूपमा खुला भएपछि स्वर्गीय राजा वीरेन्द्र र उहाँको परिवारको सामग्री, नारायणहिटी हत्याकाण्डमा मुत्यु भएका युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुति र अधिराजकुमार निराजनले बच्चामा प्रयोग गरेका सवारी साधन, वीरेन्द्रको निजी निवास श्रीसदन, श्रीपेच, राजदण्डलगायत वीभिन्न सामग्री अवलोकनका लागि खुला गरिसकेको छ ।

यसैबीच संग्रहालय खुलेदेखि हालसम्म १५ वर्ष अवधिमा करिब ४५ लाख नेपाली, सार्क राष्ट्र र विदेशीले संग्रहालय अवलोकन गरिसकेको सूचना अधिकारी थापाले जानकारी दिनुभयो । उता, राजतन्त्रको विरासत फर्काउन पूर्वराजा ज्ञानेन्द्र शाह देश दौडाहामा लागिरहनुभएको छ । समाचारपत्रबाट

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया