१२ श्रावण २०८१, शनिबार | July 27, 2024

‘‘भ्रष्ट राजनीति’ संरक्षणमा ओलीको आड, यी हुन् ओलीसँग जोडिएका मुख्य काण्डहरू


0
Shares

काठमाडौं, २४ वैशाख। नेपालमा भए गरेका सबै तहका भ्रष्टाचार काण्डमा राजनीतिक संरक्षण हुने गरेको छ । सत्ताबाहिर रहँदा भ्रष्टाचारका बारेमा नेताहरूले दिएका अभिव्यक्ति जति कर्णप्रिय हुन्छन् सत्तामा पुगेसँगै उनीहरूनै बढी भ्रष्टाचारमा मुछिने गरेको तथ्यले भ्रष्टाचारमा राजनीतिक संरक्षण रहेको पुष्टि गरेको हो ।

राजनीतिक संरक्षणकै आडमा भएका भ्रष्टाचारमा अधिकांश दलका नेताहरू नमुछिएका हैनन् । तर, यो मामलामा सबैभन्दा बढी नेकपा एमाले अगाडि रहेको घटना क्रमले देखाउँछ । भ्रष्टाचारका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिने गरेका अभिव्यक्ति र आफ्ना नेता कार्यकर्ता मुछिएपछि आउने उहाँको टिप्पणीले ‘भ्रष्ट राजनीति’ संरक्षणमा ओली अगाडि रहेको भान हुन्छ ।

भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा १५ देखि ४५ लाखसम्म ठगी गर्ने गिरोहमा संलग्न भएको आरोपमा एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी छ ।

अदालतको आदेशअनुसार रायमाझीयलाई प्रहरीले पक्राउपुर्जी जारी गरेसँगै अध्यक्ष ओलीले उनको बचाउमा प्रधानमनत्री पुष्पकमल दाहाल ९प्रचण्ड० सँग निरन्तर संवाद गरिरहनुभएको छ ।

बिहीबार प्रधानमन्त्री दाहालसँग भेटेर रायमाझीलाई पक्राउ गरिहाल्नुपर्ने अवस्था नभएको बताउनुभएका ओलीले शनिबार पनि दाहालसँगको भेटेर सोही विषय राखेको प्रधानमन्त्रीले सञ्चारकर्मीसँग बताउनुभएको छ । ‘अस्ति पनि उहाँको कन्सर्न यही विषयमा थियो र आज पनि यही विषयमा कन्सर्न राख्नुभयो । मैले जनरल कुरा राखेँ’, ओलीसँगको भेटपछि पत्रकारहरूसँग छोटो प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले भन्नुभयो– ‘नक्कली भुटानी शरणार्थीको घटनामा अनुसन्धान रोकिँदैन, प्रक्रिया र प्रचलित ऐनअनुसार दृढताका साथ अगाडि जान्छ । दोषी कोही नछुटुन् र निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट बोल्ड रूपमा अगाडि जान्छ ।’

यस काण्डमा प्रहरीले रायमाझीका छोरा सन्दीप, पूर्व गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, पूर्वगृहसचिव तथा हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, मुख्य अभियुक्तहरू सागर राई, टंक गुरुङ, केशव दुलाल, सानु भण्डारीेलगायत आठ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त प्रकरणमा मुछिएका एमाले सचिव रायमाझी र पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापा प्रहरीको फरार सूचीमा छन् । मंगलबार नै पक्राउपुर्जी जारी गर्दै प्रहरीले खोजी गरेको भनिएका रायमाझीलाई पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले संरक्षण गरेको कुरा सार्वजनिक रूपमै आइसकेको छ ।

रायमाझीलाई बिहीबार बुटवलबाट पक्राउ गरिएको हल्ला आए पनि एकैछिनमा सेलाएको थियो । नेता रायमाझी र बादल पुत्र प्रतीकलाई जोगाउन अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डमाथि दबाब बढाउनुभएको श्रोतको दाबी छ । एमाले उपाध्यक्ष बादलनिकट केही व्यक्तिका बारेमा पनि ओलीले प्रचण्डसँग चासोका साथ छलफल गर्नुभएको बताइएको छ ।

ओली सरकारकै पालामा सबैभन्दा बढी भ्रष्टाचारका काण्डहरू बाहिरिए पनि ती काण्डमा मुछिएका अधिकांश एमाले नेताहरूलाई कारबाही भएको छैन । भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा फरार भनिएका नेता रायमाझी ओलीकै वरिपरि रहेको दाबी गरिएको छ ।

यद्यपि, रायमाझीलाई तत्काल पक्राउ गर्ने वा नगर्ने भन्ने विषयमा प्रहरीमै अन्योलता देखिएको एक प्रहरी अधिकृतले बताए । ‘रायमाझी कहाँ छन् भन्ने प्रहरीका हाकिमहरूलाई पनि थाहा हुनुपर्छ । तर, शीर्ष नेताको संरक्षण भएकाले उनीहरूले पनि थाहा नपाएजस्तो गर्न बाध्य छन् ।’

यसअघि ओलीले प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा ‘पटक पटक सांसद मन्त्री र उपप्रधानमन्त्रीसमेत भइसकेका नेता रायमाझी बाटोमै समात्नुपर्ने मान्छे होइनन्’ भनेर चोख्याउने प्रयास गर्नुभएको थियो । ओलीको उक्त अभिव्यक्तिपछि प्रधानमन्त्रीकै निर्देशनमा प्रहरी ‘ब्याक’भएको श्रोतको दाबी छ ।

यसअघिका अनेकन काण्डमा मुछिएकालाई ओलीको आडमा कारबाही हुन नसकेको आरोप लाग्ने गरेको छ । ओली सरकारको पालामा सर्वाधिक चर्चामा आएको भ्रष्टाचार काण्ड स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता हो । कोभिड–१९ महामारीको समयमा स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै सार्वजनिक लेखा समितिमा लामो समय छलफल भएको थियो ।

समितिले अनियमितता ठहर गर्दै यस प्रकरणमा थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस भएको थियो । ‘ओम्नी काण्ड’ नामले परिचित सो प्रकरणमा अहिलेसम्म कसैमाथि कारबाही भएको छैन ।

सो प्रकरणमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलदेखि तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालसम्म मुछिएका थिए । त्यस्तै ‘यती’प्रकरण ९सार्वजनिक जग्गा यती समूहलाई जिम्मा दिएको० मा ओलीले लगातार प्रतिरक्षा गर्नुभएको थियो ।

त्यस्तै, ललितानिवास प्रकरणमा मुछिएका आरोपितहरूमा एमालेका विष्णु पौडेल चर्चित नाम हो । तर, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध यो प्रकरणमा मुद्दा चले पनि विष्णु पौडेलले उन्मुक्ति पाउनुमा ओलीकै सक्रियतालाई लिइएको छ ।

एमाले सचिव पद्मा अर्यालले कृषिमन्त्रालय सम्हाल्दा उठेको मल खरिद काण्ड पनि नीतिगत निर्णयकर्तामाथि कारबाही नभई थामथुम पारिएको थियो । एक अर्ब ५३ लाख रुपियाँभन्दा बढी भ्रष्टाचार भएको भनिएको सो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्रप्रसाद भण्डारीसहित १२ जनाविरुद्ध मुद्दा दायर गरे पनि नीतिगत निर्णयकर्ता ९मन्त्री अर्याल० ले छुट पाउनुभएको थियो ।

भ्रष्टाचारको अभियोग लागेका नेपाली कांग्रेसका तत्कालीन नेता चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का, जेपी गुप्ता, गोविन्दराज जोशी कारबाहीको भागेदार भइसके । त्यस्तै, राप्रपाका रवीन्द्रनाथ शर्मा, पद्मसुन्दर लावतीलगायत माथि पनि मुद्दा चलिसकेको इतिहास छ ।

ललिता निवास प्रकरणमै कांग्रेस नेता विजयकुमार गच्छदार अहिले पनि मुद्दा झेलिरहनुभएको छ । त्यस्तै, इट्टा भट्टामा मान्छे मारेको अभियोग लागेका कांग्रेस नेता अफताब आलम पनि कारबाही भोगिरहनुभएको छ । सोही प्रकारको मुद्दामा रेशम चौधरी जेल जीवन बिताइरहनुभएको छ । यस्ता धेरै व्यक्तिहरूले कानुनी कारबाहीको भागिदार भइरहँदा नेकपा माओवादीका केही नेताहरूसहित एमालेका दर्जन नेताहरूले छुट पाउनुलाई बल मिच्याइँका रूपमा लिन सकिने अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल बताउनुहुन्छ ।

उसो त माओवादी नेता कृष्णबहादुर महराले चीनसँग पचास करोड डिल गरेको अडियो सार्वजनिक भएको थियो । त्यस्तै, व्यापारीहरूको सेटिङमा करको दर घटाएर भ्रष्टाचारलाई प्रश्रय दिएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मालगायत नेताहरूलाई समेत छानबिन गरिएको छैन ।

एमालेका दर्जनबढी नेताहरू भ्रष्टाचारका विभिन्न काण्डमा मुछिए पनि न्यायिक निरूपणका सवालमा उनीहरूले कहिल्यै ‘अग्नि परीक्षा’मा उभिनु पर्दैन भन्ने भाष्य निर्माण गरिसकेको राजनीतिक विश्लेषक शंकर तिवारीले बताउनुभयो । प्रहरी हबल्दारको हत्या अभियोगमा फरार रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बन गर्नसमेत संसद्मा सहभागी दलहरूले चर्को दबाब दिनुपरेको थियो । संसद्मा भोट हाल्दै गरेका कोइरीलाई एमाले नेताहरूले प्रहरीको आँखा छलेर भगाएको विषयले संसद्मै पटक पटक आवाज उठेको थियो ।

ओलीसँग जोडिएका मुख्य काण्डहरू

ओम्नी काण्ड

कोरोना महामारी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रयोग हुने स्वास्थ्य सामग्री खरिदमा ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसनलसँगको सेटिङमा करोडौं अनियमितता गरेको ।

बालुवाटार जग्गा काण्ड

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गराएको अभियोग लागेका १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरे पनि बालुवाटार जग्गा काण्डमा मिलेमतो रहेको ठानिएका एमाले उपाध्यक्ष विष्णु पौडेललगायत केहीलाई प्रारम्भिक अनुसन्धानकै क्रममा अख्तियारले छुट दिएको ।

वाइडबडी काण्ड

नेपाल वायुसेवा निगमले दुई थान ‘वाइडबडी’ विमान खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपियाँ अनियमितता भएको ठहर गर्दै संसद्को सार्वजनिक लेखा समिति र उपसमितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बहालवाला मन्त्री योगेश भट्टराई, पूर्वमन्त्रीहरू, बहालवाला दुई सचिव, निगमका महाप्रबन्धकसहित करिब तीन दर्जन व्यक्तिलाई कारबाहीको सिफारिस गरे पनि ओली सरकारको उन्मुक्ति दिएको ।

मल खरिद काण्ड

एमाले सचिव पद्मा अर्यालले कृषि मन्त्रालय सम्हाल्दा मल खरिद काण्डमा एक अर्ब ५३ लाख रुपियाँभन्दा बढी भ्रष्टाचार भएको भनिएको थियो । सो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्रप्रसाद भण्डारीसहित १२ जनाविरुद्ध मुद्दा दायर गरे पनि नीतिगत निर्णयकर्ता मन्त्री अर्याललाई छुट भएको थियो ।

बुढीगण्डकी काण्ड

बुढीगण्डकी जनविद्युत् आयोजनामा ९ अर्ब रुपियाँ भ्रष्टाचार भएको भनी पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले सार्वजनिक रूपमै दाबी गरे पनि आफ्नै नेताहरू पर्ने डरले ओली सरकारले अनुसन्धानको उच्चारणसमेत गर्न नसकेको ।

भुटानी शरणार्थी काण्ड

भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा १५ देखि ४५ लाखसम्म ठगी गर्ने गिरोहसँग संलग्न भएको आरोपमा एमाले सचिव रायमाझीलाई पक्राउ पुर्जी जारी भएको । तर, ओलीको दबाबमा प्रचण्ड सरकारले पक्राउ गर्न नसकेको । समाचारपत्र

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया