११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

डाटा हराएकोमा दोष पन्छाइँदै, सेवाग्राहीको समेत कमजोरी देखियो


0
Shares

काठमाडौँ, वैशाख १५ गते । लोकसेवा आयोगसहित करिब ६० वटा सरकारी निकायको डाटा हराउनुमा सेवा प्रदायक, हार्डवेयर तथा सर्भर प्रदायकका साथै सेवाग्राहीको समेत कमजोरी देखिएको छ । यी तीन निकायबीच डाटा संवेदनशीलताको विषयमा उचित समन्वय र छलफल नहुँदा यस्तो देखिको हो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रले सञ्चालन गर्ने गरी ओराकल कम्पनीले सरकारी सेवाग्राहीको डाटा राख्ने गरेको थियो । तर सर्भरमा समस्या आउँदा (लक हुँदा) डाटा नै हराएको समाचार आएपछि तीनवटै निकाय आफ्नो कमजोरी अरूमा पन्छाउन लागेका छन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपनिर्देशक सफल श्रेष्ठले लोकसेवालगायतका निकायहरूको डाटा हराउनुमा ओराकलको सर्भरमा समस्या देखिनु नै प्रमुख कारण रहेको बताउनुभयो । उहाँले आफूहरूले सेवाग्राहीको आग्रहमा डाटाको संवेदनशीलताअनुसार ब्याकअप गर्ने गरेको तर आयोगले डाटा संवेदनशीलताको विषय आफूहरूलाई बुझाउन नसक्दा यस्तो समस्या आएको उल्लेख गर्नुभयो ।

“हामी होस्टिङ प्रदायक संस्था मात्र हौँ । आयोगबाट यसअघि डाटा ब्याकअपका लागि माग भएन । अर्को कुरा हामीसँग ब्याकअप गर्न पूर्वाधार नै भएन । यसमा हाम्रो पनि कमजोरी भएको छ,” उहाँले भन्नुभयो । उहाँले थप्नुभयो, “सधैँ हामीलाई हेटौँडामा मिरर सर्भर छ, त्यहाँ किन ब्याकअप भएन रु भनेर प्रश्न गरिन्छ । तर त्यहाँ कोरियाली सरकारले भवन मात्र बनाइदिएको हो । उपकरण दिएको होइन । हामीले प्रत्येक वर्ष अलिअलि गरेर उपकरण थप्दैै साना सर्भर र वेबसाइटको ब्याकअप गर्न थालेका छौँ ।”

उपनिर्देशक श्रेष्ठले ओराकलको लक भएको सर्भरको हार्डडिस्कमा लोकसेवा आयोग, गोरखापत्र संस्थान, कृषि तथा वन विश्वविद्यालय, देशभरका विभिन्न पालिकाका वेबसाइट होस्टिङ रहेको जानकारी दिनुभयो । उहाँले लोकसेवालगायतका सरकारी वेबसाइट होस्टिङ भएको सर्भरमा रहेको भर्चुअल मेसिन फेला नपरेको र ओराकल कम्पनीले राखेको हार्डडिक्समा रहने रिडरमा लक अर्थात् क्र्यास भएकाले यस्तो अवस्था आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “डाटा रिकभरी एकछिनमा हुने कुरा होइन । यो हार्डडिक्स एक सय टेरावाइट क्षमता भएकाले स्क्यान गर्न समय लाग्छ । डाटा रिकभरीका लागि ओराकलको टिम लागिरहेको भन्ने हामीलाई जानकारी आएको छ ।”

लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले चाहिँ मन्त्रीपरिषद्को निर्णयअनुसार सबै सरकारी निकायले राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा राखेको बताउनुभयो । “हामीले पनि सरकारको नीति नियमअनुसार त्यहाँ सबै डाटा राखेका हौँ । सेवाग्राहीका डाटा सुक्षित गर्ने जिम्मेवारी केन्द्रको हो । हामीले ओराकललाई चिन्दैनौँ,” उहाँले भन्नुभयो, “त्यहाँ हाम्रो डाटाको सुरक्षा भएन । यस घटनापछि आयोगले आफैँ कसरी डाटा सुरक्षित राख्ने भन्नेतर्फ आफ्नै प्रणाली डेभलप गरेर लागेको छ ।”

डाटा सुरक्षित गर्न नसक्नु केन्द्रको मुख्य कमजोरी रहेको बताउँदै उहाँले जिम्मेवारीबाट पन्छिन बेलैमा आयोगले पनि आफैँ डाटा ब्याकअप गर्नुपथ्र्यो, गरेन भन्नेजस्ता कुरा गैरजिम्मेवार र सतही तर्क भएको बताउनुभयो ।

नेपालमा ओराकल कम्पनीको स्थानीय एजेन्ट (लोकल भेन्डर) वल्र्ड डिस्ट्रिब्युसन नेपालका प्रबन्ध निर्देशक अरुण श्रेष्ठले आफूहरूले हार्डवेयर (सर्भर) राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई दिएको र त्यसको सञ्चालनको जिम्मा आफूहरूको नभएको बताउनुभयो । उहाँले आफूहरूले दिएको सर्भरको हार्डडिक्समा रहेको लजिकल युनिट यूयूआईडी करप्ट हुँदा समस्या देखिएको जानकारी पाएपछि करिब दुईरतीन महिनायता डाटा रिकभरीमा आफूहरू लागिपरेको जानकारी दिनुभयो ।

उहाँले ओराकलको सर्भरमा आएको यस्तो समस्या निकै दुर्लभ रहेको र दशौँ लाख सर्भरमा एउटामा यस्तो समस्या आउने गरेको बताउनुभयो । “नेपालमा यस्तो समस्या देखिएको प्रति ओराकल नै अचम्मित छ । समस्या देखिएपछि ओराकलको अमेरिकास्थित दस जना विज्ञ फरेन्सिक टोली दिनरात लागिरहेका छन्,” उहाँले भन्नुभयो, “यो समस्या अहिले आजै समाधान हुन पनि सक्छ । धेरै समय पनि लाग्न सक्छ । त्यसैले डाटा रिकभरी हुनेरनहुने यसै भन्न सकिएन ।” ओराकलको सर्भर अब्बल रहेको दाबी गर्दै उहाँले नासालगायतका विश्वका प्रसिद्ध संस्थाले सर्भर राख्ने गरेको उल्लेख गर्नुभयो । गोरखापत्रबाट

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया