११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

आज मातातिर्थ औंशी, आमाप्रति आदर व्यक्त गर्दै मनाइँदै


0
Shares

काठमाडौं, ७ वैशाख । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै आज मातातीर्थ औँसी मनाइँदैछ । भगवान् विष्णुको सातौँ अवतारका रूपमा मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यो ठाउँमा आइपुग्नुभयो। उहाँलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे। फलस्वरूप श्रीराम र उनीहरू बीचमा घमासान युद्ध भयो। युद्धले गर्दा दुवै पक्ष आकुल–व्याकुल थिए । त्यही बेला माता सीताजीलाई प्यास लाग्यो। पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् श्रीराम गङ्गामाताको स्तुति गर्न थाल्नुभयो। ’माता गङ्गासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै तीनपटक मन्त्रोच्चारण गरी जमीनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो। त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो। ब्रह्माण्डको दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुंगाको मूर्ति कोरिन पुग्यो।

त्यतिबेला त्यहाँ घना जंगल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजीकै बसेर खाजा खाइरहेका थिए। एउटा गोठालो मुखमा रोटी नपरी कुण्ड भएतिर मात्र जाँदो रहेछ। उसले त्यहाँ आमाको दर्शन पाएछ, तर घर फर्कने वेलामा गोठालोले एक्लै फर्किन नमानेको र आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैं वैशाख औंसीको दिन यो तीर्थमा आउनू भन्ने वाचाका साथ छोरालाई सम्झाई–बुझाई फर्काइन्। आमाको पवित्रस्थल भएकाले यो ठाउँको नाम मातातीर्थ रहेको हो।

नेपालमा हिन्दू संस्कृति अनुसार यो दिवस वैशाख कृष्ण औंसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसीको रूपमा परिचित छ। उक्त दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आमा जीवित हुनेहरूले आमालाई मीठा–मीठा परिकार बनाएर आफ्नो गच्छे अनुसारका खाद्य पदार्थ खुवाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन्, लुगाफाटो तथा अन्य विविध उपहार दिएर कृतज्ञता जाहेर गर्छन्। आमा नहुनेहरू भने यस दिन काठमाडौँ उपत्यकाको पश्चिम दिशातर्फ थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थ जान्छन्। कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने विश्वास पनि रहेको छ। उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भै दिएको आशीर्वादको प्रभावले छोराछोरीहरू जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास छ। मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो।

मातातीर्थ काठमाडौँ जिल्लाको थानकोट महादेवस्थान गाविसमा अवस्थित छ । आमाको पवित्रस्थल भएकाले उक्त ठाउँको नाम मातातीर्थ रहेको हो । त्यहाँ गएर छोरा छोरीहरूले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आफ्ना आमालाई मुक्त गराउन सक्छन्। स्वस्थानी व्रतकथा अनुसार यो ठाउँमा सतीदेवीको अङ्ग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो। त्यसकारण पनि यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा उक्त कार्य गर्ने सन्तानले जीवनभर सुख–सन्तोष पाउने जनविश्वास छ । यसरी विधिवत् रूपमा छोराछोरीहरू आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आ–आफ्ना आमाको मोक्ष प्राप्त गराउन यो तीर्थमा मेला भर्न आउँछन्। यो तीर्थमा सतीदेवीको अङ्ग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको वर्णन श्री स्वस्थानी व्रतकथामा पाइन्छ। पुण्य प्राप्तिका लागि कोटी होम, यज्ञ, पूजापाठ एवं अनेक तीर्थव्रत गरेको भन्दा पनि यो तीर्थमा प्रवेश गर्दा बढी फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया