३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सीके राउत प्रचण्डसँगको गठबन्धन छाड्दै


83
Shares

काठमाडौं, २ वैशाख । जनमत पार्टीका अध्यक्ष सीके राउतले नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग दूरी बढाउँदै लगेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई उपचुनावमा साथ दिएपछि प्रचण्डसँग रुष्ट राउतले गठबन्धन पनि छाड्दैछन् ।

बारा २ मा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् । सीके राउतले मंसिर ४ को चुनावमा माओवादीबाट यसै क्षेत्रमा उम्मेदवार बनी पराजित शिवचन्द्र कुशवाहलाई अगाडि सारेका छन् । यसले उपेन्द्र यादव र सीके राउतबीच संघर्ष बढेको छ ।

बारा २ बाट हालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव जसपाबाट विजयी भएका थिए । त्यतिबेला ३ सय मतले कुशवाहा पराजित भएका थिए ।

रामसहायको ठाउँमा उपेन्द्र यादव उम्मेदवार बनेपछि सीके राउत समूहले फिरंगी उम्मेदवार भनेको छ । उपेन्द्र यादवले सीके राउतलाई बिखण्डनकारी भनिरहेका छन् ।

बारा २ को चुनावलाई उपेन्द्र यादव र सीके राउतको शक्तिसंघर्षका रुपमा हेरिएको छ । यी दुवैमा मधेशको नेता को भन्ने संघर्ष छ ।

राउतको दलले खानेपानी मन्त्रालय पाएकोमा अस्वीकार गरेर सरकारबाट अलग भइसकेको छ । यसलाई उनको गठबन्धन छाड्ने तयारीका रुपमा हेरिएको छ ।

सत्ता गठबन्धन छाडेर सीके राउत केपी शर्मा ओलीको गठबन्धनमा जोडिने सम्भावना बढेको छ । विगतमा पनि ओलीसँग रात नजिक थिए । उनी फेरि नजिकिदैछन् । प्रचण्डसँग राउतको दूरी निकै बढिसकेको छ ।

प्रतिक्रिया