३ आश्विन २०८१, बिहिबार | September 19, 2024

‘भारत टुक्राउन खोज्ने’ अमृतपाल सिंह नेपाल छिरेको आशंका, पाकिस्तान भाग्न सक्ने भन्दै भारतको चासो


0
Shares

काठमाडौं, १३ चैत्र । भारतको पञ्जाब प्रान्तलाई अलग देश बनाउन एउटा संगठन नै बनाएर सक्रिय अमृतपाल सिंह यतिबेला सर्वाधिक खोजीको सूचीमा छन् । उनी नेपाल छिरेको आशंका गरिएको छ । भारत सरकारले उनी नेपाल पसिसकेको आशंकामा खोजी तिव्र पार्न नेपाल सरकारलाई पत्र नै लेखेको छ ।

भारतको सुरक्षा निकायको आग्रह पछि गृह मन्त्रालयले नेपाल भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । भारतको सुरक्षा निकायले सिंहको विषयमा सूचना दिई नेपाल प्रवेश गरेको या गर्न सक्ने भनेपछि नेपालको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीका अलावा आन्तरिक सुरक्षामा खटिएको नेपाल प्रहरीलाई हाइ अलर्टमा राखिएको हो ।

गृह मन्त्रालयको स्रोतले जानकारी गराए अनुसार भारतीय सुरक्षा अधिकारीहरुको आग्रहमा हाई अलर्टको निर्देशन दिइएको हो । भारतसँगको सीमामा रहेका सुरक्षाकर्मीहरुलाई अमृतपाल सिंह प्रवेश गर्न सक्ने वा गरिसकेको सम्भावनालाई मध्यनजर राखी सुरक्षा कडा गर्न निर्देशन दिइएको छ ।

नेपाल प्रहरीको विशेष ब्युरो, सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोका अधिकारीहरु नेपाल भारत सीमा क्षेत्रमा परिचालन गरिएको गृह स्रोतले जानकारी दिएको छ ।

वारिस दे पन्जाब नामक पृथकतावादी संगठनका प्रमुख अमृतपाल सिंह उत्तराखण्ड पुगेको भन्दै भारतीय सुरक्षा स्रोतले नेपाल प्रहरीको विशेष ब्युरो र सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोलाई सूचना दिएको थियो । नेपालको इन्टेलिजेन्स निकाय राष्ट्रिय अनुसन्धान विभागले अमृतपाल सिंहको विषय उठेदेखि नै सीमा क्षेत्रमा निगरानी बढाएको बुझिएको छ ।

यसैगरी, नेपालस्थित भारतीय राजदूतावासले परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागलाई पत्र पठाएर सिंह नेपाल हुँदै तेस्रो मुलुक यात्रा गर्न सक्ने भन्दै अनुमति नदिन आग्रह गरेको छ । दूतावासले पत्रमार्फत् अमृतपाल नेपाल हुँदै तेस्रो मुलुक जान खोजे पक्राउ गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया