३१ भाद्र २०८१, सोमबार | September 17, 2024

यसरी टरेको थियो विमान ठोक्किने खतरा, एयर इन्डियाका पाइलटमाथि प्रतिबन्ध


0
Shares

काठमाडौं, १२ चैत्र । शुक्रबार नेपालमा दुई ठूला विमान ठोक्किने खतरा धन्न टरेको थियो । पाइलटको असावधानीले एयर इन्डिया र नेपाल एयरलाइन्सको विमान झण्डै ठोक्किएको थियो त्यो दिन । यो घटनाको छानविन गर्न नागरिक उड्डयन प्राधिकरणले दुई सदस्यीय आन्तरिक छानविन समिति नै गठन गरेको छ ।

१० चैत्रको विहान भएको उडानसम्बन्धी एउटा घटनामा नियम विपरित कार्य गरेकोमा छानविनमा परेका एयर इन्डियाका पाइलटलाई तत्काल उडान प्रतिबन्ध लगाएको छ । दिल्लीबाट काठमाडौं आउँदै गरेको एयर इन्डियाका पाइलटले विमानलाई १९ हजार फिटमा उडिरहँदाको अवस्थामा एयर ट्राफिक कन्ट्रोलको अनुमति विना एक्कासी १५ हजार फिटमा झार्दा नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किएको विषयमा प्रतिबन्ध लगाएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले यो घटनाको छानविन भइरहेकाले १० चैत्रको विहान ७ः २० मा दिल्लीबाट काठमाडौं उडान भरेको एयर इन्डियाका पाइलटलाई छानविन रिपोर्ट नआएसम्मका लागि उडान भर्न नदिन पत्राचार गरिएको जानकारी दिए ।

घटनाको बेला एयर ट्रोफिक कन्ट्रोलमा रहेका तीनजना कर्मचारी पनि हाललाई निलम्बनमा परेका छन् । यसबारे आन्तरिक छानविन गरेपछि निष्कर्षमा पुगिने भुलले बताए ।
कुनैपनि जहाजको भर्टिकल दूरी एक हजार फिट हुनुपर्ने नियम भएपनि एयर इन्डिया र नेपाल एयरलाइन्सको विमान त्यो भन्दा कम दूरीमा पुगेर दुर्घटनाको खतरा बनेको थियो ।

प्राधिकरणका सूचना अधिकारी भुलले नेपाल एयरलाइन्सको विमानले ट्राफिक कन्ट्रोलसँग अनुमती मागेर १५ हजार फिटमा झरेको र एयर इन्डियाको विमानले अनुमती नलिई १५ हजार फिटमै झरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

घटनाका बेलामा एयर इन्डिया र नेपाल एयरलाइन्सको दुवै विमान होल्डिङमा थिए । नेपाल एयरलाइन्सको विमान १५ हजार फिटमाथि फन्को लगाइरहेको बेला १९ हजार फिटमा फन्को लगाइरहेको एयर इन्डियाको विमान एक्कासी १५ हजार ३ सय फिटमा झरेको थियो । त्यसपछि ठोक्किने खतरा भन्दै ट्राफिक अलर्ट ले सावधानी गराएको थियो ।

 

प्रतिक्रिया