२३ भाद्र २०८१, आइतबार | September 8, 2024

आकांक्षी धेरै भएपछि प्रधानमन्त्री प्रचण्डलाई मन्त्रालय बाँडफाँट चुनौती


0
Shares

काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिए लगत्तै चार दिन भित्रै नयाँ मन्त्रिमण्डल विस्तार गर्ने बताएका छन् । सोमवार संसदबाट विश्वासको मत पाएलगत्तै मन्त्रिमण्डल विस्तारको छलफल बढाएका हुन् । उनले यसका लागि आफ्नो पार्टी नेकपा माओवादी केन्द्र र सत्ता गठबन्धनका घटकहरुसँग छलफल चलाउन थालेका छन् ।

अहिले प्रचण्ड एक्लैले १६ मन्त्रालय सम्हालिरहेका छन् । अब ती मन्त्रालय समेत बाँडेर मन्त्रिमण्डल हेरफेर तथा विस्तार हुने खुलाइएको छ । प्रचण्ड आफैले सबैलाई मिलाएर लाने बताएका छन् । तर, त्यो उनलाई दाँतमा ढुंगा चपाएको जस्तो हुनेछ, सजिलो छैन ।

नेपाली काँग्रेसले गृह, अर्थ, परराष्ट्रसहित ८ मन्त्रालयको दाबी गरीरहँदा प्रचण्ड नेतृत्वको दल माओवादीले कम्तिमा ५ मन्त्रालय राख्ने तयारी गरेको बुझिएको छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ४, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले २–२ मन्त्रालय दाबी गरेका छन् ।

सीके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, प्रभु शाह नेतृत्वको आम जनता पार्टीले पनि १–१ मन्त्रालय दाबी गरेका छन् ।

मन्त्रालय कम र आकांक्षी धेरै भएकाले प्रचण्डलाई मिलाउन समस्या देखिएको छ । मन्त्रालय भागवण्डाले पनि गठबन्धनमा केही दरार पैदा हुने अवस्था छ ।

प्रतिक्रिया