१२ श्रावण २०८१, शनिबार | July 27, 2024

उपत्यकामा साढे ८ हजार सुरक्षाकर्मी परिचालन


March 6, 2023
0
Shares

काठमाडौं । फागु पूर्णिमा सुरक्षार्थ उपत्यकामा साढे ८ हजार प्रहरी परिचालन हुने भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले होलीको दिन थप २ हजारसहित साढे ८ हजार प्रहरी परिचालन गर्न लागेको जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० हिमालयकुमार श्रेष्ठले शान्तिपूर्ण रूपमा होली पर्व मनाउन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागेको जानकारी दिनुभयो । उहाँले होलीमा दैनिकभन्दा बढी संवेदनशील र अति संवेदनशील क्षेत्रमा गरी ६२ स्थानमा थप सुरक्षा चेक प्वाइन्ट राखिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘होलीमा पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन पूर्ण सुरक्षाको व्यवस्था गरेका छौं ।’ उहाँका अनुसार मादक पदार्थ, लागु औषध सेवन, ओभर स्पिड, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधन, दुईजना भन्दा बढी सवार भएको मोटर साइकललाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न सबै मातहतका निकायलाई निर्देशन दिइएको छ ।

प्रहरीले त्यसबाहेक क्युआरटी र विशेष चेकिङलाई निरन्तरता दिने जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडांै, ललितपुर र भक्तपुरले छुट्टाछुट्टै सुरक्षा योजना तयार गरी काठमाडांै उपत्यका प्रहरी कार्यालयमा पठाएका छन् भने उपत्यका प्रहरी कार्यालयले सो योजना प्रहरी प्रधान कार्यालयमा पेस गरेको छ ।

पाँच दिनअघि प्रहरी प्रधान कार्यालयले सार्वजनिक सुरक्षा जारी गरी शान्तिपूर्ण रूपमा होली खेल्न अपिल गरेको थियो । होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न र अपरिचित मानिसहरूको समूहमा होली नखेल्न आग्रह गरेको थियो ।

नेपाल प्रहरीले सर्वसाधारणका नाममा अनुरोध जारी गर्दै सभ्य एवं सुरक्षित, शिष्ट, स्वस्थ्यकर र मर्यादित तवरले मनाउन आग्रह गरेको छ । अपिलमा कसैको इच्छाविपरीत रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाआंै, नछ्यापौं । छाला तथा आँखामा असर गर्ने केमिकल रगंको प्रयोग नगरौं । श्रृंगार गरगहना लगाई होली खेल्ने ठाउँमा नजाआंै, रेलिङ नभएको छत र सडकमा होली नखेलौं, आत्मीय रूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न आग्रह गर्दै सार्वजनिक अपिल गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले भीडभाड हुने स्थानमा नजानसमेत आग्रह गरेको छ । प्रहरीले इच्छाविपरीत होली खेले जबरजस्ती गरे तत्काल सार्वजनिक अपराध, अभद्र व्यवहारलगायतमा मुद्दा दर्ता गराइने जनाएको छ ।

सोही अपिलको आधारमा प्रहरीले सामुदायिक प्रहरी साझेदार, विभिन्न प्रहरी कार्यालयले पोस्टर, पम्प्लेट, हातेपर्चा वितरण गरेको प्रहरी प्रवक्ता डीआइजी पोषराज पोखरेलले जानकारी दिनुभयो । इच्छाविपरीत रङ नदल्न, मापसे गरी सवारी नचलाउन आग्रह गर्दै प्रवक्ता पोखरेलले भन्नुभयो–सबैले हर्षउल्लासको वातावरणमा होली खेल्ने अधिकारलाई कसैले पनि खल्बलाउन हुँदैन ।’

प्रहरी प्रधान कार्यालयले सबै जिल्ला कार्यालयलाई पत्राचार गरी होलीमा चुस्त सुरक्षा व्यवस्था कायम गर्न निर्देशन दिएको छ । यस वर्षको होली काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आज सोमबार र तराई मधेशका जिल्लामा भोलि मंगलबार मनाइँदै छ । समाचारपत्र

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया