१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपालले पायो थ्री नेसन्स कपको उपाधि


0
Shares

काठमाडौं, १७ चैत्र । घरेलु टोली नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको फाइनलमा लाओसलाई २–१ गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको हो ।

लोओसले बनाएको एक गोलको अग्रता उल्टाएर नेपाल च्याम्पियन बनेको हो ।

उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ भने लाओसले ३ हजार डलर प्राप्त गरेको छ।

नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक एक गोल गरे । लाओसका फोउचाङभोङ साङ्भिले एक गोल गरे ।

खेलको १७ औं मिनेटमा फोउचाङभोङले गोल गर्दै लाओसलाई सुरुआती अग्रता दिलाएका थिए । उनले बौनफाचन बौनकौनले प्रहार गरेको बल मणि कुमार लामालाई लाग्दै सिक्स यार्ड बक्समा झरेको थियो । जसलाई नजिकै रहेका फोउचाङभोङले वान टचमा पोस्टको जाली चुमाए ।

तर खेलको २४ औं मिनेटमा आयुषले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । एरिक विष्टले उपलब्ध गराएको पासमा आयुषले सुन्दर गोल गरे ।

त्यसपछि खेलको ८७ औं मिनेटमा मनिषले गोल गर्दै नेपाललाई २–१ को जित दिलाए । अन्जन विष्टले उपलब्ध गराएको पासमा मनिषले उत्कृष्ट गोल गरे ।

पहिलो हाफमा नेपाल र लाओसको बराबरी

त्यसबाहेक दुबै टोलीले गोलको थुप्रै अवसर गुमाएका थिए ।

खेलको चौथो मिनेटमा लाओसका वौनफाचन वौनकौङले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको बल पोस्ट माथिबाट बाहिरीएको थियो ।

खेलको १५ औं मिनेटमा लाओसका वौनफाचनको फ्रिकिक रोहित चन्दले हेडमार्फत क्लियर गरे ।

लगत्तै १८ औं मिनेटमा वौनफाचनकै प्रहार नेपालका गोलकिपर तथा कप्तान किरण चेम्जोङले डाइभ हान्दै जोगाए ।

खेलको २२ औं मिनेटमा नेपालका नवीन लामाको फ्रिकिकमा सनिश श्रेष्ठको हाफ भलि प्रहार सासाभाथले डाइभ हान्दै जोगाए ।

खेलको २६ औं मिनेटमा नेपालका नवीनको फ्रिकिकमा आयुषले गरेको प्रहार सासाभाथले जोगाए ।

खेलको ५६ औं मिनेटमा मनिष डाँगीको क्रसमा नेपालका आयुष र दिपक सिंह ठकुरीबीच तालमेल नमिल्दा लाओसका गोलकिपरले सहजै बल आफ्नो नियन्त्रणमा लिए ।

५८ औं मिनेटमा नेपालका नविन लामाको कर्नरमा अनन्त तामाङको हेडर लाओसका माइकल भाङलाई लाग्दै गोल हुनबाट जोगिएको थियो ।

खेलको ६१ औं मिनेटमा नेपालका आयुष घलान गोल गर्न चुके । नवीनको पासमा खाली पोस्टमा अनमार्क रहेका आयुषको हेडर पोस्टमाथिबाट बाहिरिएको थियो ।

खेलको ६८ औं मिनेटमा पेनाल्टी बक्सको ठिक बाहिरबाट नेपालका निशान खड्काको फ्रिकिक पोस्ट बारमा लाग्दै फर्किएको थियो ।

७४ औं मिनेटमा नेपालका नवीन लामाको पासमा अन्जन विष्टले प्रहार गरेका थिए । उक्त बल लाओसका गोलकिपरले सासाभाथले रोकेपछि आएको रिबाउन्डमा मनिष डाँगीले गोल गरेका थिए । तर उनी अफसाइड रहदा गोलले मान्यता पाएन ।

नेपालले घरेलु मैदानमा दोस्रो पटक थ्री नेसन्सको उपाधि जितेको हो ।

यस अघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) , राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र महासचिव किरण राई लगायतले पुरस्कृत गरे । खेलपाटी

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया