३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्डले खुलाए आलोपालो प्रधानमन्त्रीको समझदारी, पहिले कस्को पालो


December 19, 2022
0
Shares

काठमाडौं, ४ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहजिल्ला चितवन पुगेर गठबन्धनमा आलोपालो सरकारको नेतृत्वको समझदारीको खुलासा गरेसँगै राजनीतिकवृत्तमा तरङ्ग आएको छ । चुनाव अघि नै गठबन्धनबीच प्रधानमन्त्रीको आलोपालो अनौपचारिक समझदारी भएको उनको खुलासाले नयाँ सम्भावना ल्याएको छ ।

समझदारी अनुसार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग प्रचण्डको आलोपालो प्रधानमन्त्रीको समझदारी भएको सन्देश गएको छ । यसबाट प्रचण्डले प्रधानमन्त्रीको बलियो दाबी प्रस्तुत गरेका छन् । तर, को पहिले प्रधानमन्त्री बन्ने भन्ने समझदारीबारे प्रचण्डले खुलाएनन् ।

विगतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि प्रचण्डले त्यस्तै आलोपालो प्रधानमन्त्रीको समझदारी गरेको खुलाएका थिए । तर, ओलीले प्रचण्डलाई सरकारको नेतृत्व छाडेनन् । यसपटक पनि देउवाले प्रचण्डलाई सरकारको नेतृत्व छाड्ने सम्भावनाबारे चासो बढेको छ । देउवा आफै प्रधानमन्त्रीका दाबेदार हुन् ।

ओलीले आलोपालो प्रधानमन्त्रीमा धोका दिएको सन्देश प्रचण्डले दिए । जसका कारण नेकपा नै फुट्यो र ओली सरकार ढल्यो । प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाउन साथ दिए ।

यसपटक प्रचण्ड पहिले आफै प्रधानमन्त्री बन्न चाहन्छन् । त्यसपछि मात्र देउवालाई छाड्न खोजिरहेका छन् । यो विषय राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख जस्ता महत्वपूर्ण पदको बाँटफाँटसँग पनि जोडिएको छ । यसकारण अबको हप्ता राजनीतिमा ठूलै हलचल आउने गरी सत्ता संघर्ष चर्कने देखिदैछ ।

प्रतिक्रिया