१० माघ २०८१, बिहिबार | January 23, 2025

सत्ताबाहिर पुग्नसक्छन् कम्युनिष्टहरु, राष्ट्रपति देखि सभामुख पनि नपाउने अवस्था बन्दै


December 13, 2022
0
Shares

काठमाडौं, २७ मंसिर । जनआन्दोलनपछि पहिलोपटक कम्युनिस्टहरु सत्ताबाहिर रहने अवस्था विकास भएको छ । यसमा ठूलै शक्ति सक्रिय भइरहेको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरुलाई सत्ताबाहिर राख्ने रणनीतिलाई बढाउन थालेको बुझिएको छ । उनले गैरकम्युनिस्ट शक्तिलाई एक ठाउँमा ल्याएर सरकार बनाउने रणनीति अनुसार रेशम चौधरी र सीके राउत समेतलाई फकाउन खोजेका छन् ।

देउवाले रेशम चौधरी संरक्षक भएको नागरक उन्मुक्ति पार्टी र सीके राउत अध्यक्ष रहेको जनमत पार्टीलाई साथ लिन विभिन्न मुद्दा फिर्ता लिने गरी अध्यादेश ल्याएका छन् । देउवाका विश्वासपात्रहरु उपेन्द्र यादव, महन्थ ठाकुर मात्र नभई राजेन्द्र लिङ्देनलाई पनि मनाउन सक्रिय भएका छन् ।

विश्वस्त स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डले सुरुका दुई वर्ष प्रधानमन्त्री दाबी गरेपछि सत्ता गठबन्धन नै संकटमा परेको छ । देउवा कुनै हालतमा प्रधानमन्त्री छाड्ने पक्षमा देखिएका छैनन् । प्रचण्ड पनि प्रधानमन्त्री नछाड्ने पक्षमा छन् ।

देउवाले प्रधानमन्त्री मात्र नभई राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख जस्ता महत्वपूर्ण पद बाँडफाँडलाई लिएर पनि गठबन्धनको विकल्पतर्फ ध्यान दिन थालेको बुझिएको छ । प्रधानमन्त्री आफूले लिएमा राष्ट्रपति माओवादीलाई दिनुपर्ने हुनसक्छ । देउवा काँग्रेसकै भागमा राष्ट्रपति लिन चाहन्छन् । जुन अहिलेको गठबन्धनमा सम्भव देखिदैन । अर्कोतर्फ, सभामुख नेकपा एसको दाबी हुनसक्छ ।

चुनावी नतिजाले गठबन्धन नै बहुमतमा रहेन । यसले देउवालाई विकल्प खोज्ने बहाना भएको छ । उनी गठबन्धन बाहिर गएर राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति र जनमतसमेतलाई मिलाएर लाने गरी बढिसकेका छन् । यस्तो अवस्थामा गैर कम्युनिस्टको बहुमत हुनसक्छ ।

प्रतिनिधि सभामा गैरकम्युनिस्टमा काँग्रेसको ८९, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, जनमतको ६, लोसपाको ४, नागरिक उन्मुक्तिको ३ र स्वतन्त्र ५ गरी कुल १५३ सिट छ ।

कम्युनिस्टहरुमध्ये एमालेको ७८, माआवादी केन्द्रको ३२, नेकपा एसको १०, जनमोर्चा र नेमकिपाको ११ गरी कुल १२२ सिट रहेको छ । नेमकिपा जहिले सरकार बाहिर रहने गरेको छ । एमाले, माओवादी र नेकपा एस विगतमा नेकपा नै थिए । उनीहरु विभाजित भई तीन पार्टी बनेका हुन् । कम्युनिस्टहरु मात्र मिल्दा बहुमत पुग्दैन । उनीहरुलाई अर्को कुनै दलको साथ चाहिन्छ ।

प्रतिक्रिया