६ आश्विन २०८१, आइतबार | September 23, 2024

फाष्ट ट्रयाकमा काम भन्दा हल्ला


February 29, 2024
498
Shares

काठमाडौं, १७ फागुन । देशमा काम कम हल्ला बढी हुँदा जताततै समस्या मात्र आउने गरेको छ । यस्तै भइरहेको छ फाष्ट ट्रयाकमा । फाष्ट ट्रयाक निर्माणको गति यति सुस्त छ कि अझै १० वर्ष पूरा हुन मुश्किल छ । अहिले नै निर्माण सकिएर सवारी गुडिसक्छ जस्तो गरिन्छ तर कामले गति लिदैन । दोष अर्कालाई थोपर्ने स्वभाव फाष्ट ट्रयाकको जिम्मा लिएका सेनाका इञ्जिनियरहरुमा पनि देखिएको छ । उनीहरु विभिन्न निकायलाई दोष दिएर आफू चोख्खिन खोज्दैछन् । जस्ले निर्माणको जिम्मा लियो उसैले परिणामको पनि जिम्मा लिनुपर्छ । तर, विभिन्न बहाना कस्दै अलमलाउँदै गरिएको छ ।

त्यसो त फाष्ट ट्रयाकमा भ्रष्टाचारको गन्ध निरन्तर आइरहेको छ । ठेक्का जुन कम्पनीलाई जसरी दिलाइएको छ त्यसमा कमिशनको खेल प्रष्ट बुझ्न सकिन्छ । त्यसमाथि निर्माणको ठेक्का चिनियाँ कम्पनीहरुले पाएका छन् जसको पुरानो रेकर्ड राम्रो छैन । फाष्ट ट्रयाक निर्माणको ठेक्का पाएका कम्पनीहरुले विदेशमा समेत बदनामी कमाएका छन् । नेपालमा पनि कतिपय निर्माण समयमै गर्न नसकेर आलोचित छन् । जसमध्ये बुटवल नारायणगढ सडकखण्ड पनि एक हो ।

निर्माण अवधि लम्ब्याउने र लागत समेत बढाएर लाभ लिने योजनामा कम्पनीहरु जुटेका छन् । उनीहरु विभिन्न बहाना गराएर निर्माणको मार्गहरुमा अदालती प्रक्रिया ढिलाईमा भित्री भूमिका खेलिरहेका छन् । सेनाले २०८३ भित्र निर्माण पूरा गर्ने दाबी गरेपनि २०९० भित्र पूरा हुन पनि कठिन छ । ३० प्रतिशत काम सकिएको भनिएको छ । त्यसमा केही पुलका पिलर र केही सुरुङमार्गको मुखलाई अफवाह फैलाउन देखाइएको छ ।

रोचक त यो छ कि अहिलेसम्म सेनाले सबै प्याकेजको ठेक्का नै निकालिसकेको छैन । ठेक्का प्रक्रिया पूरा हुन नै समय लाग्ने अवस्थामा २०८३ भित्र काम पूरा गर्ने दाबी गर्नु हाँस्यास्पद देखिन्छ । फाष्ट ट्रयाक र निजगढ विमानस्थलबारे अफवाह फैलाएर भूमाफियाले त्यस क्षेत्रको जग्गाको मूल्य बढाउन खोजिरहेका छन् । मुख्य शहरमा जग्गा कारोबार ठप्पप्रायः भएकाले सिमरा, हेटौंडालगायतका क्षेत्रमा व्यापक जग्गा कारोबार गराउन यस्ता अफवाह फैलाइएको छ ।-File Photo

 

 

प्रतिक्रिया