६ आश्विन २०८३, मंगलबार | September 22, 2026

पोखरामा शुक्रबार प्राज्ञिक विद्यार्थी परिषद्को दबाब यात्रा


February 8, 2024
2k
Shares

पोखरा, २५ माघ। प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले २६ माघ शुक्रबार पोखरामा दबाब यात्रा गर्ने भएको छ ।

शिक्षाको समग्र सुधारका लागि भन्दै परिषद्ले माघ महिनाभर देशभर ‘राष्ट्रव्यापी शैक्षिक अभियान २०८०’ देशभर सञ्चालन गरिरहेकोमा पोखरामा उक्त यात्रा गर्न लागेको हो ।

परिषद्ले अभियान पूर्व पौष पहिलो हप्तामा राष्ट्रव्यापी सर्वेक्षण सम्पन्न गरेको थियो । सर्वेक्षणमा शिक्षण क्षेत्रसँग सम्बन्धित १० हजार जना शिक्षक, विद्यार्थी सहित सरोकारवालाले सहभागीता जनाएको परिषद्ले जनाएको छ ।

शुक्रबार परिषद्ले सबै प्रदेश केन्द्र र केही प्रमुख शहरमा एकसाथ विद्यार्थी दबाब यात्रा कार्यक्रम गर्दैछ । अभियानका लागि लोगो, पोष्टर, स्टिकर, आदि साहित्य तयारीसँगै त्यसको वितरण देशव्यापी गरिएको समेत परिषद्ले जनाएको छ ।

सोही कार्यक्रम अन्तरगत पोखरामा समेत बृहत दबाबमुलक कार्यक्रम गरिने परिषद्ले नेपाल पत्रकार महासंघ कास्कीमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो ।

शैक्षिक अभियान संयोजन समिति गण्डकीका संयोजक दीप्सन गुरुङले शैक्षिक सुधारका लागि कार्यशाला अभियान सञ्चालन गरेको परिषद्ले आएका सुझावहरूलाई संकलन गरी माघ २८ गते सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला शिक्षा समन्वय एकाइ प्रमुखमार्फत् एक साथ शिक्षामन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम समेत तय गरेको बताए ।

परिषद् गण्डकी अध्यक्ष दीपक रेग्मीले गण्डकी प्रदेश सहित देशभरका कलेज र विश्वविद्यालयस्तरमा अन्तरक्रिया, चर्चा एवं बहसहरू सञ्चालन भइरहेको बताए। यी कार्यक्रम मार्फत् शिक्षाको सुधारका लागि विभिन्न सुझाव संकलन भइरहेको उनले खुलाए ।

शिक्षामा वैदेशिक लगानीको अन्त्य गर्दै कुल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने, माध्यमिक तह सम्मको शिक्षा निस्शुल्क हुने व्यवस्था अनिवार्य कार्यान्वयन गर्नुपर्ने, प्राध्यापक नियुक्तिमा अनिवार्य योग्यता परिक्षा उत्तिर्ण गर्नुपर्ने, अनुमतिबिना र नियम विपरित क्याम्पसको खारेजी, प्रभावकारी शैक्षिक पात्रोको निर्माण गर्नुपर्ने, कुलपति प्रधानमन्त्री रहने व्यवस्था खारेज गर्नुपर्ने लगायतका मागहरु परिषद्ले उठाउदै आएको छ ।

प्रतिक्रिया