चौधरीका तीनै दाजुभाईको सरकारी जग्गामा गिद्धेनजर, यस्तो सम्म गरेछन्
काठमाडौं, १९ माघ । नेपालको सबैभन्दा धनाढ्य व्यापारिक घरानियाँका रुपमा परिचित चौधरी समूहको एकपछि अर्को अनियमित कार्यहरु खुल्न थालेको छ । चौधरी परिवारमा डलर अर्बपति बिनोद चौधरीका अलावा वसन्त चौधरी र अरुण चौधरी छन् । उनीहरु तीनैजना जग्गा विवादमा पर्दै आएका थिए । शक्ति र पहुचका कारण सरकारका अधिकारीहरु मौन थिए । राजनीतिक पहुँच र अदालती व्यवस्थापनबाट बच्दै आएका थिए । तर, हद नाघेपछि कारबाही बढेको छ अहिले ।
वसन्त चौधरी नेतृत्वको नर्भिक अस्पतालले सरकारी जग्गामा अनधिकृत संरचना बनाएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह डोजर लिएर पुगेका थिए । बागमती प्रदेशका तत्कालीन पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको साथमा गएका बालेनले नर्भिकको अवैध संरचना २४ घण्टाभित्र खाली गराउन लिखित निर्देशन दिए । २४ घण्टा वितेपछि डोजर लिएर पुगेका बालेनलाई उक्त संरचना भत्काउन दिइएन ।
नर्भिक र महानगरको संयुक्त प्रविधिक टोली गठन गर्ने र उक्त टोलीले दिएको रिपोर्ट अनुसार भत्काउने सहमति भयो । उक्त सहमतिपछि बालेन डोजर लिएर ‘ब्याक’ भए । तर, नर्भिकले बालेनलाई छल्यो । सहमति अनुसार काम नगरी बसन्त चौधरीको टिम अदालत पुगेर अवैध संरचना नभत्काउन बालेनविरुद्ध आदेश लिएर आयो । बालेनलाई बसन्तको टिमले छल्नु र झुक्याउनुसम्म झुक्यायो । अदालतलाई समेत प्रभावित पार्ने गतिविधि चौधरीले गरे ।
नर्भिकले सरकारी जग्गा कौडीको भाउमा हत्याएको र त्यहाँ अवैध काम चलाइरहेको कुरा त्यसै क्षेत्रबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले उठाएका थिए । त्यसपछि उनको अभियानमा बालेन जोडिन पुगे । तर, नर्भिकले बालेनसँग पनि बेइमानी देखायो ।
अदालत तगारो बन्दा अहिलेसम्म नर्भिकको अवैध संरचनामा बालेनको डोजर चल्न सकेको छैन । कौडीको भाउमा सरकारी जग्गा हत्याएर वसन्त चौधरीहरू रजाइँ गरिरहेका छन् । बालेन र दिपेन्द्र अदालको आदेश कुरेर बसिरहेका छन् ।
शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र सँगैको सरकारी जग्गा हडपेको विषयमा अरूण चौधरी समातिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको दशौं रोपनी जग्गा किर्ते गरेर हडपेपछि बसन्तका भाइ अरूण समातिएका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की निर्देशक किरण बज्रचार्यको कडा निर्देशन र निगरानीमा अरूण समातिन बाध्य भए । यो घटनापछि विनोद चौधरी पनि समातिने सम्भावना छ । अरूणसहितलाई जिल्ला अदालतबाट म्याद थपेर किर्ते र ठगीमा सीआईबीले अनुसन्धान थालेको छ ।
बाँसबासीको जग्गा हडप्नेमा तत्कालीन चौधरी ग्रुपका विनोद बसन्त र अरूण तिनै जना संलग्न रहेको तथ्यहरु फेला परेका छन् । चौधरी दाजुभाइहरू सरकारी जग्गा विभिन्न तरिकाले हत्याउन सफल भएका छन् ।
चौधरी दाजुभाईले जहाँ जहाँ व्यवसाय चलाएका छन् त्यहाँ जग्गा हडपेको विषय आइरहेको छ । हाउजिंगमा पनि विवादहरु देखिएका छन् ।
चौधरी दाजुभाई नेपालबाट पूँजी पलायनमा पनि संलग्न भेटिएका छन् । उनीहरुले नेबिल बैंकलाई दुरुपयोग गरी पूँजी पलायन गर्दै आएका छन् । चौधरी दाजुभाईको विदेशमा रहेको सम्पत्ति पनि शंकास्पद रहेको छ । कुनैबेला तत्कालीन राजा वीरेन्द्रको परिवारको विदेशमा लुकाइएको सम्पत्तिको व्यवस्थापनको जिम्मा बिनोद चौधरीले पाएका थिए । त्यही सम्पत्ति नै अहिले चौधरीले हात पारेको तथ्यहरु उजागर हुँदै गएको छ ।